
डा. चन्द्रमणि अधिकारी
लगानी गर्ने बेलामा दीर्घकालीन सोच नराखी महावौद्धका खुद्रा व्यापरीले जस्तो रातारात कमाउने गरी लगानी गर्ने अनि अहिले रुवाबासी गरेर सरकार गुहार्ने ? लिने ब्याज चैं हरेक दिन बढाउँदै जाने, दिने ब्याजमा कोर्टेलिङ गर्ने ? बचत खातामा ब्याज रत्तिभर नबढाउने । यो धृष्टता किन ? राष्ट्र बैंक के हेर्दैछ ?
खास गरी क वर्गका वाणिज्य बैंकहरुको नियतमा प्रश्न उब्जेको छ । दीर्घकालिन तथा दीगो व्यवसायमुखी र आर्थिक समृद्धिका योजनामा लगानी गर्नुपर्नेमा अल्पकालिन सट्टेबाजी लगानी भैरहेको छ । बैंकहरुले साहुकार प्रवृत्तिमा रमाएर लगानी गर्दैछन । बैंकहरुले त्यसरी लगानी गर्न मिल्दैन् । बिग्रीएको जति विषयमा अन्य वित्तिय संस्था तथा सहकारीलाई दोष थोपर्ने तर लगानी, निक्षेप रं पूँजि परिचालनबीच सन्तुलन नराख्ने वाणिज्य बैंकहरुको प्रवृत्तिमा सुधार हुनुपर्छ ।
बैंकहरुले नाफा कमाउनु पर्छ भन्ने कुरामा कसैको दुई मत छैन तर नाफा मात्रै खोज्ने कुरा चाँही स्विकार गर्न सकिन्न । नाफाले नै वित्तिय संस्थाहरुलाई उत्प्रेरणा र अग्रताको बाटोमा लैजान्छ । तर त्यस्तो मुनाफा उचित हुनु पर्छ । न्यायसंगत हुनुपर्छ । व्यवसायिक योजना तथा दीर्घकालिन र दीगो व्यवसायिक सोच सहित लगानी गरेर नाफा कमाउनु बैंकहरुको कर्तव्य हो । बैंक र अन्य व्यवसायमा धेरै अन्तर छ । रेष्टुरेन्ट चलाउनु वा खुद्रा व्यपार गर्नु र बैँक चलाउनु फरक विषय हो । तर बैंकरहरुले यस्तै कुरा बुझेनन् र राष्ट्र बैंकले उचित नियमन गर्न नसक्दा लगानी योग्य पूँजीको चराम अभावको अवस्थामा मुलुक पुगेको हो ।
बैंकिङ व्यवसायसका छुट्टै आधार हुन्छन् । यो खुद्रा व्यापार वा स्टक मार्केट जस्तो होइन् । बैंकिङ क्षेत्र र उत्पादनशिल क्षेत्र एक अर्काका परिपूरक हुन् । बैंकिङ क्षेत्रको विस्तारले उत्पादन मुलक क्षेत्रको विकास हुनु पर्ने हो । तर हामी कहाँ बैंकहरुले एकै बर्षमा धेरै नाफा दिने गरि अनुत्पादक क्षेत्रमा लगानी गरेका छन् ।
साना बचत कर्तालाई ब्याज दिन नमान्ने ठुलालाई मात्रै धेरै ब्याज दिने कुरा पनि गलत भयो । यस्तो प्रवृत्तिबाट बैंकहरु सुध्रिनु पर्छ । अब बैंकहरुले लगानीसँगै निक्षेप संकलन, पूँजी वृद्धि र रिजर्भ फण्डको उपयोगको योजना पनि सँगै बनाउनु पर्छ ।
भारतमा बढिमा २ प्रतिशतको स्प्रेड दर छ । हामी कहाँ ५ प्रतिशत दिइएको छ तर बैंकहरुले छिद्रहरुको प्रयोगद्धारा त्यो सिमा पनि नाघेका छन् । बैंकिङ क्षेत्र ठिक ढंगले नचलेको अवस्थामा नियामक सक्रिय हुनुपर्ने हो । लगानी कर्ता र बचत कर्ता दुबै माथी न्याय हुनुपर्छ । हिजो ६/७ प्रतिशतमा फकाई फकाई लगानी गर्ने अनि अहिले १२/१३ प्रतिशत ब्याज लिने कुरा ठिक भएन । केन्द्रिय बैंकले सहि ढंगले कदम चाल्नु पर्छ । अर्थमन्त्रालय पनि सक्रिय हुनुपर्छ ।(डा. अधिकारीसँग गरिएको कुराकानीमा आधारित)