काठमाडौं । सरकारले फागुन १९ र २० गते आयोजना गर्न लागेको नेपाल लगानी सम्मेलनमा साढे ३५ प्रतिशत चिनियाँ सहभागीता रहने भएको छ । सम्मेलनमा सहभागीता जनाउने प्रतिवद्धता गर्नेहरुमध्ये सबै भन्दा धेरै चिनियाँ लगानी कर्ता देखिएका हुन् । हालसम्म २३७ जना विदेशी लगानी कर्ताले सहभागीताका लागि नाम दर्ता गराएका छन् । तीमध्ये चिनियाँहरुको सख्या सबै भन्दा धेरै अर्थात ८९ जना रहेको छ । जुन संख्या कुल वैदेशिक सहभागीताको ३५ दशमलब ७७ प्रतिशत हुन आउँछ ।

चिनियाँ लगानी कर्ताको यति ठुलो सहभागीता रहने सम्मेलनमा उच्चस्तरिय चिनियाँ सरकारी टोली भने सहभागी नहुने भएको छ । जबकी भारतका तर्फबाट अर्थमन्त्री अरुण जेट्लीलाई प्रमुख वक्ताका रुपमा निम्त्याइएको छ । सम्मेलनमा भारतबाट जम्मा २१ जना लगानी कर्ताले मात्रै सहभागीता जनाउँदै छन् । केहि दिन अघि सम्पन्न दोश्रो पुर्वाधार सम्मेलनमा पनि भारतीय रेल मन्त्री प्रमुख वक्ताका रुपमा निम्त्याइएका थिए ।
यति धेरै चिनियाँ लगानी कर्ता आउने सम्मेलनमा उच्चस्तरिय सरकारी प्रतिनीधी को आउँदै छ भन्ने विकासन्युजको प्रश्नमा उद्योग मन्त्री नविन्द्र राज जोशाीले भने–चिनियाँ टोलीलाई निम्ता दिएका थियौं तर ढिलो निम्ता पाएको भन्दै उनीहरुले नआउने जानकारी गराए ।’
सम्मेलनमा चीन र भारत बाहेक श्रीलंकाका २०, जापानका १५, मलेसियाका १३, क्यानाडाका १२, हङकङका १०, बेलायत, दक्षिण कोरिया र भियतनामका ८/८ लगानी कर्ताले सहभागीता जनाउँदैछन् । त्यसबाहेक रसियाका ७, अमेरिकाका ६, सिंगापुर र टर्कीका ३/३ लगानी कर्ता आउँदैछन् ।
सम्मेलनमा माइक्रोसफ्टका प्रतिनिधीले १० मिनेटको प्रस्तुति राख्नेछन् । सम्मेलनमा स्वदेशी तथा विदेशी गरि ६ सय भन्दा बढि लगानी कर्ताले सहभागीता जनाउनेछन् ।