टिप्पणी । बेला बखत विश्व राजनीतिमा छोटे र बडे भाइको प्रसंगले बजार तताउँछ, तरंग ल्याउँछ, तहल्का मच्चाउँछ । विशेषगरी भौगलिक बनावट र ठूलो अर्थतन्त्र भएका देशले साना राष्ट्रलाई हेर्ने संकुचित दृष्टिकोणबाट उद्देलित हुँदै उनीहरू सानालाई ‘छोटे भाइ’को उपमा दिन्छन् । यही फेहरिस्तको पुनरावृत्ति भारतको राजधानी नयाँ दिल्लीमा पनि भयो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कुटनीतिक कमजोरी र भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेको अपरिपक्वताले अन्तर्राष्ट्रिय कुटनीतिमा गम्भीर सवाल उठाएको छ । गत साता अन्तर्राष्ट्रिय सहकारी महासंघको आयोजनामा भारतको नयाँ दिल्लीमा उद्घाटन भएको अन्तर्राष्ट्रिय सहकारी सम्मेलन २०२४ मा प्रधानमन्त्री मोदी र भुटानका प्रधानमन्त्री तोग्बेले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने नाममा अन्तर्राष्ट्रिय जगतमा आलोचना हुने टिप्पणीको अंकमाल गरे ।
छिमेकी देशको प्रधानमन्त्रीको रूपमा अन्तर्राष्ट्रिय सहकारी सम्मेलनमा अतिथि बनेर पुगेका भुटानका प्रधानमन्त्री तोग्बेले भारतीय प्रधानमन्त्री मोदीको तारिफसँगै नाक चुच्चो बनाएर फर्किए । त्यसको बदला प्रधानमन्त्री मोदीले पनि उनको वक्तव्यमा ‘ होस्टेमा हैसे’ लगाउँदै कुटनीतिक कमजोरी प्रदर्शन गरे ।
सम्मेलनको उद्घाटन कार्यक्रममा अतिथिको रूपमा भारत पुगेका भुटानका प्रधानमन्त्री तोग्बेले भारतीय प्रधानमन्त्री मोदीलाई कार्यक्रमको दौरानमा पटक–पटक ‘बडे भाइ’ ले सम्बोधन गरे । उनले आफू भुटानको प्रधानमन्त्री भएको भुल्दै, भारत भ्रमण आफ्नो ठूलो उपलब्धि भएको भन्दै भ्रमणको अवसर दिने सहकारीमन्त्री अमित शाहलाई दुई हात जोडेरै सम्बोधन गरे ।
अन्तर्राष्ट्रिय सहकारी सम्मेलनमा १० मिनेट आफ्नो मन्तव्य राखेका प्रधानमन्त्री तोग्बेले भारतीय प्रधानमन्त्री मोदीलाई सात पटक बडे भाइ भनेर सम्बोधन गरे । उनको सो शब्दमा हलमा उपस्थित साढे चार हजार सहभागी गज्जबले हाँसे । नरेन्द्र मोदी मुस्कुराए । ताली बजाए । तर, भुटानबाट सम्मेलनमा सहभागी भएकाहरू भने आफ्ना प्रधानमन्त्रीको लज्जास्पद अभिव्यक्तिले निराश बने । उनीहरूले न ताली बजाए न त हाँसोमा मुस्कान फिजाए ।
प्रमुख वक्ताको रूपमा सहभागी प्रधानमन्त्री मोदीले पनि तोग्बेको सम्बोधनमा साथ दिँदै मुस्कानका साथ मन्तव्यको सुरुमै उनलाई ‘मेरा छोटे भाइ’ भनेर भाषणको सुरुवात गरे । दुई देशका प्रधानमन्त्रीबीचको ‘छोटे–बडे भाइ’को सम्बन्ध अन्तर्राष्ट्रिय जगतमा भने लज्जितको विषय बनेको छ ।
दुई राष्ट्रबीचको सम्बन्ध समानताको आधारमा हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय कूटनीतिक मान्यता छ । कुनै पनि देशका प्रधानमन्त्री सानो र ठूलो भन्ने हुँदैन । अन्तर्राष्ट्रिय रूपमा सबै देशका प्रधानमन्त्रीको हैसियत समान हुन्छ । दुई देशको सम्बन्धलाई सम्मान, स्वायत्तता र पारस्परिक हितको दृष्टिले हेर्नुपर्छ । तर, प्रधानमन्त्री मोदी र तोग्बेले भने कुटनीतिक मर्यादालाई भुले । प्रधानमन्त्रीस्तरबाट आउने यस्ता अभिव्यक्तिले कूटनीतिक असमानता झल्काउँछ ।
यस्तो टिप्पणीले कूटनीतिक वार्ता वा सहयोगमा पनि अवरोध सिर्जना गर्न सक्छ । आर्थिक, भौगलिक वा पूर्वाधार विकासको हिसाबले कुनै देशको हैसियत ठूलो र कुनैको सानो हुनु स्वाभाविक हो । तर, अन्तर्राष्टिय मञ्चमा प्रधानमन्त्रीको हैसियतले धारणा राख्दा हरेक शब्दमा ध्यान दिनुपर्छ । एक अर्कालाई सम्मान र बराबरीको हैसियतको सन्देश सम्प्रेषण गर्न सक्नुपर्छ । तर, प्रधानमन्त्री मोदी र तोग्बेले ‘छोटे-बढे’को उपमा दिँदै कुटनीतिको खिल्ली उडाए । यसले भुटानका जनतामा वितृष्णा पैदा गर्छ भने आत्मसम्मानमा आँच पुर्याउँछ । हरेक देशका नागरिकको पनि समान हैसियत हुन्छ चाहे त्यो विकसित देश होस् वा विकासोन्मुख ।
बेला बखत भारतले नेपाललाई पनि छोटे भाइले सम्बोधन गर्ने प्रयत्न्न गर्छ । तर, नेपालले भने त्यसलाई अनुसरण गरेको छैन । नेपालले आफूलाई एउटा स्वायत्त र स्वतन्त्र राष्ट्रको रूपमा आफूलाई चिनाइरहेको छ । भारत र नेपालबीच रोटी–बेटीको सम्बन्ध भए पनि नेपाले छोटे भाइको उपमा भने स्वीकार गरेको छैन । छोटे र बडे भाइको सम्बन्धले भने नेपाल र भारतबीचको सम्बन्धलाई थप जटिल भने बनाउँदै गएको छ ।