काठमाडौं । नेपाल धितोपत्र बोर्डले क्लियरिङ बैंक थप्न निर्देशन दिएको एक बर्ष बित्दा समेत नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ हाउस लिमिटेडले टेरेका छैनन् । बोर्डले २०७२ साल माघ १३ गते नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र लेखेर ढिलोमा बैशाख १ गते भित्र क्लियरिङ बैंकको सख्या कम्तिमा ३ वटा पुर्याउन निर्देशन दिएको थियो । बोर्डले निर्देशन दिएका एक बर्ष बितिसकेको छ तर पनि नयाँ क्लियरिङ बैंक थपिएको छैन् ।
‘पटक पटक पत्रचार गरेका छौं, तर सिडिएसले हामीलाई टेरेन, विनियमावली संसोधन गरेर दिएको पनि लामो समय भैसक्यो फेरी पनि काम भएको छैन, हामी आश्चर्यमा परेका छौं ।’, नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरिले विकासन्युजसँग भने । उता, नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले भने नयाँ क्लियरिङ बैंक थप्ने प्रक्रिया अन्तिम चरणमा पुगेको अनौपचारिक जानकारी पाएको बताए ।
‘विनियमावली संसोधन भैसकेको छ, अब त्यहि अनुसार प्राबिधिक काम सम्पन्न भैसकेको छ, केहि दिनमै सूचना निकाल्छौं भन्ने अनौपचारिक जानकारी पाएका छौं ।’, प्रवक्ता पराजुलीले भने । सिडिएसका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले भने क्लियरिङ बैंक थप्ने तयारी सकिएको र केहि दिन भित्रै सार्वजनिक सूचना निकाल्ने बताए ।
कहिले थपिन्छन क्लियरिङ बैंक भन्ने विकासन्युजको प्रश्नमा उनले भने, ‘सबै तयारी सकिएको छ, अब सूचना निकाल्छौं तर कति दिनमा भनेर चाँही नसोध्नु होला।’