
सांकेतिक तस्बिर ।
काठमाडौं । हृदयघात (हर्टअट्याक) कसलाई कतिखेर आउँछ थाहा नै हुँदैन । आजभोलि विश्वमै हृदयघात भएर ज्यान गुमाउनेको संख्या बढ्दो छ । नेपालमा पनि धेरैजसोको मृत्यु हृदयघातबाटै भएको सुनिन्छ । हृदयघात कुन बेला हुन्छ, कसरी हुन्छ भनेर विभिन्न अध्ययन-अनुसन्धानले आ-आफ्नै तर्क पेस गरेका छन् । तर एउटा अनुसन्धानले अन्य दिनभन्दा सोमबारको दिनमा हृदयघात हुने गरेको देखाएको छ । चिकित्सक र केही रिपोर्टहरूले सोमबार हृदयघात बढी हुने बताएका छन्। आउनुहोस्, हर्टअट्याकको समय के हो ? यो विषयमा संक्षिप्त वर्णन गरौं ।
धेरैजसो हृदयघात दिनको कुन समयमा हुन्छ ?
आधुनिक समयमा हृदयघातको जोखिम निकै बढेको छ । अहिले वृद्धवृद्धा मात्र नभई युवाहरू पनि हृदयघातको शिकार बन्दै गएका छन् । ठूला सेलिब्रेटीहरू पनि सानै उमेरमा हृदयघातको सिकार हुने गरेका छन् । हर्टअट्याकको कुनै निश्चित समय नभए पनि के तपाईंलाई थाहा छ?- अधिकांश हृदयघात एक निश्चित दिनमा हुने गर्दछ । हो, ब्रिटिस हार्ट फाउन्डेसनको रिपोर्टले अधिकांश हृदयघात सोमबार हुने गरेको दाबी गरेको छ । अन्य दिनको तुलनामा यो दिनमा हृदयघातको दर १३ प्रतिशत बढी हुन्छ ।
धेरैजसो व्यक्ति सोमबारलाई ‘ब्लु सोमबार’ पनि भन्ने गर्छन् । यसैगरी, सोमबार बिहान ६ देखि १० बजेसम्ममा सबैभन्दा बढी हृदयघात हुने गर्छ । तर यसबारे कुनै ठोस वा सही अनुसन्धान भने भएको छैन ।
केही मुख्य कारणहरू यस्ता
काममा फर्कने तनाव
साप्ताहिक रूपमा आराम गरेपछि काममा फर्किंदा धेरैलाई मानसिक तनाव हुन्छ । सोमबार कामको चापले अचानक तनाव र ब्लड प्रेशर बढाउँछ, जसले हृदयघातको जोखिम बढाउँछ ।
सुत्ने तालिका बदलिनु
धेरैले राति ढिलोसम्म जागै बसी बिहान ढिलो उठ्ने गर्छन् । यसले शरीरको प्राकृतिक घडीमा परिवर्तन ल्याउँछ । जसले उनीहरूको निन्द्रा पूरा नहुन सक्छ । अनिद्राको कारण हृदयमा तनाव पर्न जान्छ, जसले हृदयाघातको जोखिम बढाउँछ ।
शारीरिक गतिविधि अचानक बढाउनु
कतिपयले सोमबारदेखि व्यायाम सुरु गर्ने सोच बनाउँछन् । तर अचानक कडा व्यायाम गर्दा हृदयमा तनाव पर्न जान्छ, विशेषगरी यदि शरीर तयार नभएको खण्डमा हृदयघात हुनसक्ने सम्भावना हुन्छ । कार्डियोथोरासिक सर्जन डा. श्रीराम भन्छन्, ‘सोमबार बिहान उठ्दा रगतमा कोर्टिसोल हर्मोनको स्तर निकै उच्च रहन्छ । यसले सर्काडियन लय, सुत्ने र उठ्ने चक्रको परिणाम हुन सक्छ । कोर्टिसोल हर्मोनमा अचानक उतारचढावका कारण, निद्रा र ब्यूँझने चक्र प्रभावित हुन्छ । यस्तो अवस्थामा हृदयाघातको सम्भावना बढ्छ ।’ एजेन्सीको सहयाेगमा