काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३९ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित भएको छ । कम्पनीको बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई बिहीबार सम्पन्न बैंकको पन्ध्रौं वार्षिक साधारणसभाले पारित गरेको हो ।

यस अघि बैंकले जारी गरेको २५ प्रतिशत हकप्रद पछिको पुँजीको आधारमा ३९ प्रतिशत बोनस सेयर प्रदान गर्न लागेको बैंंकले जनाएको छ । साथै, सभाले संस्थापक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना संचालकहरुको निर्विरोध चयन गरेको छ । नव निर्वाचित संचालकहरु मनोजकुमार केडिया, नरेन्द्रकुमार अग्रवाल, वीरेन्द्रकुमार साह र दिनेश शंकर पालिखे रहेका छन् ।
त्यसैगरी उक्त साधारणसभाले सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना संचालकहरुको समेत निर्विरोध चयन गरेको छ । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट निर्वाचित संचालकहरुमा महेशप्रसाद पोखरेल, हेमन्त ज्ञवाली र राजेशकुमार केडिया रहेका छन् ।
चालु आर्थिक वर्ष २०७३/७४ को पौष मसान्तसम्ममा बैंकले ७२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल रहेको बैंकले जनाएको छ । सोही अवधिमा बैंकले कुल निक्षेप ७४ अर्ब ९३ करोड रुपैयाँ संकलन गरी ६२ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकले हाल नेपालभर ६३ शाखा, ८२ एटिएम र विभिन्न ६९ स्थानमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।