दशैंमा यसरी गरौं खानपान

<p>काठमाडौं । दशैंलाई खानपानको चाड पनि भनिन्छ । यो बेला नहुनेहरूले पनि ऋण काढेर अघिपछिको भन्दा मीठोमसिनो खाने गर्छन् । दशैंको बेलामा प्राय: सबैको घरमा अघिपछि खानेभन्दा अलि फरक पकवान पाक्छ । अझ चिल्लो गुलियो भएको खानेकुरा धेरै पाक्ने गर्छ । यो बेला मासु, मिठाइँलगायत धेरै खाने गरिन्छ । त्यसैले विचार पुर्&#x200d;याएर मात्र चाडपर्व मनाउनुपर्छ [&hellip;]</p>

ग्राण्डी इन्टरनेश्नल अस्पतालका कन्सलटेन्ट फिजिसियन डा.प्रशान्त त्रिपाठी ।

काठमाडौं । दशैंलाई खानपानको चाड पनि भनिन्छ । यो बेला नहुनेहरूले पनि ऋण काढेर अघिपछिको भन्दा मीठोमसिनो खाने गर्छन् । दशैंको बेलामा प्राय: सबैको घरमा अघिपछि खानेभन्दा अलि फरक पकवान पाक्छ । अझ चिल्लो गुलियो भएको खानेकुरा धेरै पाक्ने गर्छ ।

यो बेला मासु, मिठाइँलगायत धेरै खाने गरिन्छ । त्यसैले विचार पुर्‍याएर मात्र चाडपर्व मनाउनुपर्छ ।  पहिलो कुरा चाडबाडको समयमा मासु कम चिल्लो गरेर पकाउनुपर्छ । दोस्रो गुलियो चिनीबाट बनेको कुरा खाँदा ध्यान दिनुपर्छ । गुलियो खानेकुरालाई अहिले विभिन्न अध्ययनले अत्यधिक हानिकार भनेको छ । चिनीको कम प्रयोग गर्ने बानी बसालौं । यही बेला रमाइलो गर्न अत्यधिक मात्रामा धुम्रपान, मद्यपान गर्ने चलन पनि बढ्दै गएको छ ।

आजभोलि नेपालमा रिफाइन्ड खानेकुरा खाने चलन बढ्दो छ । पहिले घट्ट मिलमा पिनेको पिठो खाइन्थ्यो भने अहिले मैदाको चलन आएको छ । पहिलो शख्खर, गुड खाने चलन थियो भने अहिले चिनीको चलन । रिफाइन्ड खानेकुरा  हानिकारक छ । अर्को कुरा- मासु खाने चलन पहिलेको भन्दा अहिले बढेको छ ।

पहिले मासु खान दशैं कुर्नुपर्थ्यो, अहिले त्यस्तो छैन । कतियले दिउँसोको खाजामा पनि मासु खाने गर्छन् । मासुमा बढी मात्रामा तेल, मरमसला हाल्ने, मासु खाँदा पनि अत्यधिक मात्रामा खाने चलन अहिले बढेको छ ।

मासु ठीक्क मात्रामा कसरी खाने?

मासु खाँदा आफ्नो शरीरलाई अप्ठ्यारो नपर्ने गरी ठीक्क मात्रामा मिलाएर खानुपर्छ ।  सामान्य मान्छेले ०.५२१ मिलीग्राम परकेजी बोडीको हिसाबले प्रोटिन खाँदा राम्रो भनिन्छ । तर, यो हामीले भनेर हुँदैन । व्यक्ति आफैले आफ्नो शरीरलाई हेरी त्यसमा चिल्लो कम गरेर, स्वास्थ्यवर्धक तरिकाले पकाएर खान सकिन्छ । मासु भनेको मानव शरीरको लागि एउटा प्रोटिनको राम्रो स्रोत हो । त्यसबाहेक अन्य भिटामिन पनि पाइन्छ । मासु खाँदा विचार पुर्‍याउनुपर्ने कुरा भनेको बोसो धेरै भएको खान हुँदैन ।

अर्को सकेसम्म छाला नखाएकै बेस । किनकि छालामुनि बोसोको लेयर हुन्छ । अर्को आजभोलि पशुपालन गर्दा पनि पशुहरूलाई चाँडो बढाउन एन्टिबायोटिकदेखि लिएर हर्मोनको औषधि प्रयोग गर्ने गरेको सुनिन्छ । यसले स्वास्थ्यमा झन् समस्या बढाउँछ ।

यो बेला घरमै खसी काट्दा एकैचोटि धेरै मासु हुन्छ । जसलाई धेरै दिनसम्म खाने गरिन्छ ।  मासु कति दिनसम्म राख्न सकिन्छ त?  मासु डीपफ्रीजमा राखेको कुरा खासै फरक पर्दैन । विदेशबाट पनि डीपफ्रीज भएर मासु आइरहेको हुन्छ । मासु कति दिनसम्म खान मिल्छ भन्ने कुरा वातावरणले पनि फरक पार्छ ।

अलिकति गर्मी ठाउँ छ भने बाहिर राख्दा मासु चाँडै बिग्रिन्छ । जाडो ठाउँमा अलि लामो समयसम्म पनि खान मिल्ला । सबैकुरा हेरेर भन्न सकिन्छ । अर्को कुरा सुकुटी बनाएर पनि मासु राख्न सकिन्छ ।

राताे मासुको जोखिम

रातो मासु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । सेतो मासुमा बोसो, प्रोटिन र कम क्यालोरी हुन्छ । साथै ओमेगा–३ र ओमेगा–६ फ्याटी एसिड पनि पाइन्छ । रातो मासुमा बोसो, आइरन र प्रोटिनको मात्रा बढी हुन्छ । यी तत्वले मान्छेको तौल बढाउन मुख्य भूमिका खेल्छ । सेतो मासुका स्रोत कुखुरा, हाँस, टर्की र माछा हुन् ।

हानिकारक पेयपदार्थ

दशैंकाे बेला नेपालीहरूले धेरै अल्कोहल खाने गरेको पनि पाइन्छ । तर यसो गर्नु स्वास्थ्यका हिसाबले खतरा हो । धेरैमात्रामा खाँदा पेट गडबड हुने, अपच हुने, वाकवाक लाग्ने समस्या देखा पर्न सक्छ । कसैलाई कोलेस्ट्रोल, सुगर,  प्रेसर हुन सक्छ । दीर्घरोगीहरूले झन् बढी सतर्कता अपनाउनुपर्छ । अल्कोहल नखानेहरूले पनि कोकाकाेला, माउन्टेन ड्यू लगायतका काेल्डड्रिङ्स खाने गरेको पाइन्छ । यसले पनि शरीरलाई राम्रो गर्दैन ।

मासुको सट्टा फलफुल र सलाद

धेरै मासुको सट्टा हरियो साग, फलफुल र सलादको प्रयोग गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । रसिलो खानेकुरा खान मन लाग्दा फलफुलको जुस बनाएर खान सकिन्छ । सहजै पाइने दूध, दही र मोही खान सकिन्छ । अर्को कुरा मिठाइँ पनि धेरै मात्रामा खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । अधिकांश मिठाइँमा धेरै चिनी हुन्छ, जसले रगतमा चिनीको स्तर बढाउँछ । यसले मधुमेह (डायबीटीज), मोटोपन र मुटुरोगको खतरा हुन्छ । धेरै मिठाइँहरूमा कृत्रिम रंग र स्वाद दिने पदार्थहरू हुन्छन्, जसले शरीरमा एलर्जी, पाचन समस्या र दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउँछ ।

शारीरिक कसरत जरुरी

मान्छेले जति मात्रामा खानेकुरा लिन्छ त्यहीअनुसार शरीरले पचाउनु पनि पर्छ । खानेकुरालाई पचाउन व्यायामले महत्त्वपूर्ण भूमिका खेल्छ । व्यायाम गर्दा शरीरको रक्त सञ्चार बढ्छ, जसले पाचन प्रणालीमा पर्याप्त अक्सिजन र पोषण पुर्‍याउँछ । यसले पाचन प्रक्रियालाई द्रुत र प्रभावकारी बनाउँछ । व्यायामले शरीरमा इन्सुलिनको प्रभावकारिता बढाउँछ, जसले रगतमा चिनीको स्तर सन्तुलित राख्छ । यसले बोसोको पाचन र चिनीको प्रशोधनमा मद्दत गर्छ भने खानेकुराबाट प्राप्त क्यालोरीलाई ऊर्जा उत्पादनमा परिवर्तन गर्न मद्दत गर्छ । जसले मोटोपन नियन्त्रणमा राख्न मद्दत पुर्‍याउँछ ।

दशैंको समयमा प्राय: सबैजना गाउँ फर्कने गर्छन् । गाउँमा गएर बारीमा पसेर अलिकति काम गर्दा पनि व्यायाम गरेजत्तिकै फाइदा हुन्छ ।

गाउँ जाँदा केमा ध्यान दिने?

कुनै पनि औषधी चिकित्सकको सल्लाह बिना खान हुँदैन । कसैलाई लामो समयसम्म हुने दीर्घरोग (प्रेसर, सुँगर, थाइराइड) छ भने गाउँ फर्किँदा आफ्नो औषधि लिएर जानुपर्छ । त्योबाहेक पेनकिलर, सिटामोलदेखि लिएर ग्यास्ट्रिकको औषधि, जीवनजलजस्ता औषधिहरू पनि बोकिराख्नुपर्छ । औषधि खाएर पनि निकाे भएन भने नजिकैको स्वास्थ्य केन्द्रमा जानुपर्छ ।

ग्राण्डी इन्टरनेश्नल अस्पतालका कन्सलटेन्ट फिजिसियन डा.प्रशान्त त्रिपाठीसँग गरिएको कुराकानीमा आधारित

Share News