काठमाडौं । यूनाइटेड अरब एमिरेट्स स्थित अल अन्सारी एक्चेञ्च (क्याश एक्स्प्रेश) तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही २०१७ को फेब्रअरी महिनादेखि आपसी रूपमा नै रकम आदान-प्रदानको सेवा प्रदान गर्ने सम्झौता गरेका छन् । उक्त सम्झौताबाट अल अन्सारीको नेपालमा सञ्जाल बिस्तार भएको छ । आगामी दिनदेखि नेपालमा रहेका सिटी एक्सप्रेसका कुनै पनि काउन्टरबाट रकम प्राप्त गर्न सकिने छ । साथै सिटी एक्सप्रेसको सेवामा पनि नयाँ आयाम थपिएको छ ।

सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भने, “यूएईको सबैभन्दा बढि संजाल भएको रेमिटान्स सेवा प्रदायक अल अन्सारीसँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ । हामीले यूएई लगायतबाट भित्रिने कोरोबारका लागि हाम्रा ५००० भन्दा बढी भुक्तानी केन्द्रहरूबाट अब सहज रूपले सेवा दिने कुरामा विश्वस्त छौँ ।”
त्यस्तै, अल अन्सारीका महाप्रबन्धक रसिद अल अन्सारीका अनुसार अल अन्सारीले नेपालमा आफ्नो सेवालाई सहज तथा छरितो बनाउने कसरत गरिरहेको छ । जसबाट यूएईमा रहेका लाखौ नेपालीले बिना झन्झट आफूलाई पायक पर्ने समयमा नै नेपालमा रेमिटान्स प्राप्त गर्न सक्नेछन् ।
अल अन्सारी एक्स्चेञ्ज (क्साश एक्स्प्रेस):
अल अन्सारी यूएई मनी ट्रान्सफरको व्यवसायको लागी पूर्ण अनुमतिपत्र प्राप्त गरी कारोबार सञ्चालन गरिरहेको छ । अल अन्सार विगत ६० वर्षदेखि सञ्चालनमा छ र सदैव नवीन र उच्चकोटिको सेवा प्रदान गर्न तत्पर छ ।
सिटी एक्स्प्रेश मनि ट्रान्सफर:
नेपालको एक अग्रणी सेवा प्रदायक कम्पनि सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालका हरेक कुनामा सेवा पुर्याई जापान, साउदी अरेबिया, कतारका साथै विभिन्न देशहरूबाट रकम नेपालमा भित्राउने सेवा उपलब्ध गराउँछ ।