लाग्दैन दशैं, ल्याउँदैनन् स्कीम

<p>काठमाडौं । दशैं नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । मानिसमा दशैंको माहोल जमिसकेको छ । विदेशबाट स्वदेश र सहरबाट गाउँ फर्किनेहरूको भीड लाग्न थालिसकेको छ । चाडपर्वलाई थप रौनक दिनका लागि विभिन्न कम्पनीहरूले दशैंका लागि छुट तथा क्यासब्याकका स्कीमहरू सार्वजनिक गरिरहेका छन् । बैंक तथा वित्तीय संस्थाले ब्याज छुट तथा सस्तो ब्याजमा कर्जा दिने स्कीम [&hellip;]</p>

काठमाडौं । दशैं नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । मानिसमा दशैंको माहोल जमिसकेको छ । विदेशबाट स्वदेश र सहरबाट गाउँ फर्किनेहरूको भीड लाग्न थालिसकेको छ । चाडपर्वलाई थप रौनक दिनका लागि विभिन्न कम्पनीहरूले दशैंका लागि छुट तथा क्यासब्याकका स्कीमहरू सार्वजनिक गरिरहेका छन् ।

बैंक तथा वित्तीय संस्थाले ब्याज छुट तथा सस्तो ब्याजमा कर्जा दिने स्कीम ल्याइरहेका छन् । अटो मोबाइल्स कम्पनीले सवारी साधनहरू भारी छुट र क्यासब्याकको योजना सार्वजनिक गरिरहेका छन् । व्यापारीहरूले विभिन्न सामानको खरिदबिक्रीमा ‘बाई वान गेट वान फ्री’ लगायतका स्कीम ल्याएका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले पनि इन्टरनेटको सब्स्क्रीसनमा भारी छुट तथा अन्य सामानहरू पाउन सकिने योजनाहरू सार्वजनिक गरेका छन् । शिक्षा क्षेत्रले त दशैं भर्नाको समयमा सतप्रतिशतसम्म पनि छुट दिने गरेको छ । पर्यटन व्यवसायीहरू त यो विशेष समय हो । विभिन्न किसिमका टुर प्याकेजहरू ल्याएर सेवाग्राहीलाई आकर्षित गर्ने समय हो यो ।

विभिन्न कम्पनीले व्यापार व्यवसाय बढाउनका लागि दशैंमा यस्ता किसिमका योजना सार्वजनिक गर्छन् । यी स्कीमहरू व्यापार बढाउनका लागि मात्रै होइन, प्रडक्ट र कम्पनीको ब्राण्डिङको लागि मात्रै होइन नेपालीहरूको महान पर्व विजया दशमीको सबैमा ‘भाइब्स क्रियट’ गर्ने, व्यवसायी र सेवाग्राहीबीचको सम्बन्धलाई थप मजबुद र स्थायी बनाउनेरुपमा पनि बुझ्न सकिन्छ ।

विभिन्न कम्पनीहरुले यसरी स्कीम तथा योजनाहरू ल्याइरहँदा स्वाथ्य क्षेत्र भने यस्ता स्कीमबारे बेखबर छ । जहाँ स्वास्थ्यकर्मी र बिरामीबीचको सम्बन्ध थप मजबुद हुनुपर्ने हो । व्यवसायभन्दा पनि बिरामीलाई के कसरी खुसी पार्न सकिन्छ, कसरी उसको दुखेको घाउमा मल्हम लगाउन सकिन्छ र कसरी स्वास्थ्यकर्मी र बिरामीबीचको सम्बन्धलाई थप स्थायी र मजबुद बनाउने हो त्यसतर्फ बढी प्राथमिकता दिनुपर्नेमा स्वास्थ्य क्षेत्र यस्ता स्कीमको विषयमा अनविज्ञ छ ।

स्वास्थ्य सबैभन्दा संवेदनशील क्षेत्र हो । सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरेको छ । निःशुल्क स्वास्थ्य सेवा अन्तर्गत विभिन्न वडामा रहेका स्वास्थ्य सेवामार्फत् ९८ प्रकारका औषधी निःशुल्क दिइरहेको छ । स्वास्थ्य क्षेत्रलाई थप मजबुत बनाउन नेपालमा निजी अस्पतालहरू धमाधम खुलिरहेका छन् । अब स्वास्थ्य क्षेत्र सेवा मात्रै होइन व्यावसायिक प्रतिस्पर्धा गर्ने थलो पनि बनिसकेको छ ।

काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रियस्तरको सेवा दिने ठूल्ठूला अस्पताल छन् । उपत्यकामा सेवा दिइरहेका ठूला र महँगा अस्पतालले पनि यो वर्षको चाडबाडमा बिरामी लक्षित कुनै छुट स्कीमका योजना ल्याएका छैनन् । हरेक क्षेत्रले चाडपर्वको रौनक सिर्जना गरिरहँदा स्वाथ्य क्षेत्र भने मौन छ ।

काठमाडौंको चावहिलमा रहेको ओम अस्पताल नेपालको नाम चलेको ठूला अस्पतालमध्येको एक हो । यो अस्पतालले दैनिक सयौं नागरिकलाई सेवा दिँदै आएको छ । स्त्री तथा प्रसूति रोगको उपचारमा ख्याति कमाएको यो अस्पतालले नेपालमा पहिलो पटक टेस्ट ट्युब बच्चा सफल रूपमा जन्माएपछि झन चर्चित बनेको छ । तर, यो अस्पतालले दशैंको अवसरमा सेवाग्राहीका लागि भने कुनै छुटका स्कीम ल्याएको छैन ।

अस्पतालका सूचना अधिकारी विनोद अधिकारीले चाडपर्वकेन्द्रित कुनै योजना अस्पतालले नल्याएको जानकारी गराए । अन्य व्यवसायले जस्तो चाडपर्वकेन्द्रित छुट दिने काम अस्पतालको नभएको उनको बुझाइ छ ।

कोरोना र भूकम्प लगायत अन्य ठूला महामारीमा पनि छुट दिन सकिएको छैन, दिन सके त राम्रै हुन्थ्यो । तर, दिने योजना अस्पतालको छैन,’ उनी भन्छन्, ‘अन्य सेवा र स्वास्थ सेवा फरक हुन् ।’

सबैभन्दा महँगो अस्पतालमा पर्ने अर्को अस्पताल हो ग्रान्डी अस्पताल । काठमाडौंको धापासीमा रहेको यो अस्पतालले पनि चाडपर्वलक्षित कुनै स्कीम ल्याएको छैन । अन्य बेला छुटका स्कीमहरू ल्याइरहेको ग्राण्डी अस्पतालले पर्वलक्षित कुनै स्कीम नल्याएको जानकारी दिएको छ । दशैंमा अस्पताल आउनेहरूको संख्या पनि कम हुने भएकाले कुनै योजना नल्याएको ग्राण्डी अस्पतालका मार्केटिङ हेड भास्कर कुमार दासले बताए ।

उनले सेप्टम्बर २९ मा मनाइने मुटु दिवसको अवसरमा भने मुटुरोगको उपचारमा छुटको व्यवस्था दिने जानकारी दिए । यो अस्पतालले तीज, नारी दिवस, भ्यालेनटाइन्डे लगायत विभिन्न दिवसको अवसरमा उपचारमा छुट दिँदै आएको छ ।

‘हामी अस्पतालमा मात्र होइन, विभिन्न ठाउँमा गएर क्याम्पियन पनि चलाइरहेका हुन्छौं, हेल्थ प्याकेजहरू ल्याइरहेको छौं, ’ मार्केटिङ हेड दास भन्छन्, ‘यो बेला नागरिकहरू गाउँतिर जाने भएकाले बिरामी पनि कम हुने अन्दाज गर्दै केही योजना ल्याएका छैनौं ।’

ललितपुरको नक्खुमा अन्तर्राष्ट्रिय मापदण्डसहितको सेवा दिरहेको मेडिसिटी अस्पतालले चाडपर्वको अवसरमा कुनै छुटको योजना ल्याएको छैन । अस्पतालले सेप्टम्बर २९ तारिखमा मनाइने ‘हार्ट डे’को अवसरमा भने सेप्टेम्बर महिनाभर उपचारमा छुट दिरहेको जनाएको छ । मुटुरोगीलाई उपचारमा छुटको व्यवस्था दिइरहेको अस्पतालका मिडिया संयोजक सरीता श्रेष्ठले बताइन् ।

उनले बेलाबेला अस्पतालले उपचारमा छुट दिँदै आएपनि दशैंतिहार लक्षित कुनै स्कीमहरू नल्याएको बताइन् । अहिले अस्पतालले मुटुको समस्या भएकाहरूलाई भने जाँचदेखि उपचारमा छुट दिरहेको छ ।

काठमाडौंको धुम्बारहीमा रहेको ह्याम्स अस्पतालले पनि चाडपर्वलक्षित कुनै छुटका स्कीमहरू ल्याएको छैन । अस्पतालको मार्केटिङ फाँटका जीवन कर्मचार्यले अहिलेसम्म कुनै योजना ल्याउने तयारी असतालले नगरेको बताए ।

‘अहिलेसम्म हामीलाई जानकारी आएको छैन, भोलि पर्सी के हुन्छ थाहा छैन,’ उनी भन्छन्,‘ दिवसको अवसर पारेर बेला–बेला स्कीम त ल्याएकै हुन्छौं । तर, दशैंतिहारको लागि के छ अहिलेसम्म केही निर्णय भएको छैन । ’

‘छुट दिनु राम्रो हो’

कुनै पनि अस्पतालले दशैंलक्षित स्कीमहरू नल्याए पनि ल्याउन सके राम्रो हुने बताएका छन् । मेडिसिटी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राज राणा स्वास्थ्य क्षेत्रमा पनि छुटको अवसर हुनु राम्रो हुने बताउँदै यस्तो हुन नसकेको बताउँछन् ।

‘स्वास्थ्य सेवा सबैको पहुँचमा ल्याउनु राम्रो हो । तर, यसमा दिन सके राम्रै हो । कुनैले दिन्छन् कुनैले दिदैनन्,’ उनी भन्छन, ‘गर्न सक्यो भने त यस्तो सेवाले धेरैको जीवनलाई सहज हुन्थ्यो । तर, नेपालमा हेर्न हो भने अस्पताललाई अन्य व्यवसायसँग दाज्न मिल्ने अवस्था छैन । ’

‘एउटै डालोमा राख्न मिल्दैन’

निजी अस्पतालको छाता संस्था अफिनका अध्यक्ष डा. पदम खड्का अन्य व्यवसाय र स्वास्थ्य व्यवसायलाई एउटै डालोमा राखेर दाँज्न नमिल्ने बताउँछन् । उनी अन्य व्यवसायीले मूल्य बढाएर छुट दिने गरेको बताउँदै अस्पतालमा यस्तो गर्न नमिलेर छुटका स्कीमहरू ल्याउन नसकेको हुनसक्ने बताउँछन् ।

‘यसमा मेरो व्यक्तिगत धारणा फरक छ,’ उनले भने, ‘ म यसमा दुइटा कुरा देख्छु । अन्य व्यवसायीहरू अघिपछि १ सय रुपैयाँ पर्ने सामानलाई दशैंमा २ सय तीन सय भने अफर दिन्छन् । तर, अस्पतालमा यस्तो गर्न मिल्दैन । अर्को दशैंमा असाधारण खानपिनले बिरामी झन बढ्ने भएकाले बिरामी धेरै आउँछन्, यस्तोमा के छुट दिनु भन्ने अस्पतालको सोच पनि हुन सक्छ ।’

अध्यक्ष खड्का निजी अस्पताललाई दशैंमा सरकारीजस्तो नहुँदा पनि समस्या हने गरेको बताउँछन् । ‘यो बेला निजी अस्पताललाई कर्मचारी कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता हुन्छ,’ उनी भन्छन्, ‘सरकारी कर्मचारीले बिदा पनि पाउने, थप बोनस पनि पाउने व्यवस्था छ तर निजी अस्पतालमा बिरामीको चाप पनि बढ्ने र कर्मचारीले पनि बिदा नपाउने भएकाले यस्तो गरेको हुन सक्छ ।’

Share News