
काठमाडौं । शिक्षा मन्त्रालयले सार्वजनिक गरेको बंगलादेशले पठाएको पत्रप्रति विद्यार्थीहरूले असन्तुष्टि जनाएका छन् । बंगलादेशमा एमबीबीएस गरिसकेका विद्यार्थीले नेपालमै इन्टर्नसिप पाउनुपर्ने माग गर्दै शिक्षा मन्त्रालयलाई आग्रह गरिरहेका विद्यार्थीहरू अन्ततः मन्त्रालयले सार्वजनिक गरेको पत्रप्रति असन्तुष्ट बनेका हुन् ।
विद्यार्थीहरूले बंगलादेशमा तत्काल फर्किन सक्ने अवस्था नरहेकाले नेपालमै अभ्यास गर्न पाउनुपर्ने बताएपछि शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बंगलादेशमा रहेका विभिन्न शैक्षिक संस्थासँग जवाफ मागेको थियो । बंगलादेशस्थित दूतावासमार्फत् आएको पत्रमा विद्यार्थीलाई पढेकै शिक्षण संस्थामा मात्र अभ्यास गर्न जवाफ आएको पत्र शिक्षा मन्त्रालयले सार्वजनिक गरेपछि विद्यार्थी असन्तुष्ट बनेका हुन् ।
‘बंगलादेशको मेडिकल काउन्सिलमा रजिस्टर्ड हुन विदेशी विद्यार्थीहरूले त्यहींस्थित अध्ययन गरेकै मेडिकल कलेजमा इन्टर्नसिप पुरा गर्नुपर्ने भनिएको छ । उता रजिस्टर्ड गर्न नचाहेर आफ्नै देशको मेडिकल काउन्सिलमा रजिस्टर्ड भएर स्वदेशमै इन्टर्नसिप गर्न मिल्ने कि नमिल्ने ? याे प्रश्नको जवाफ देखिएन, यसबाट प्रष्ट हुन्छ कि हाम्राे देशकाे कुटनीतिक कति कमजोर छ,’ विद्यार्थी डा. नविन यादवले भने ।
उनले १० दिनभित्र प्रतिवेदन पेस गर्ने भनेर गठन गरिएको अध्ययन समितिको कार्यप्रति पनि आपत्ति जनाएको जानकारी दिए ।
उनले भने, ‘अध्ययन समितिले केही अध्ययन गरेजस्तो देखिएन । यसको हामी घोर निन्दा गर्दछौं । समस्या समाधान गर्ने भनेर विद्यार्थीहरूलाई छल्ने, निरुत्साहित गर्ने काम मात्र देखियो । शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय हुँदै बंगलादेशस्थित नेपाली राजदूतावासमार्फत बंगलादेशको सम्बन्धित निकायहरूमा मागेको धारणा एवं अध्ययन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरिनुपर्छ ।’
यादवले यस्तो अवस्थामा विद्यार्थी पढाइ छोडेर नबस्ने बताउँदै त्यहाँ कुनै घटना भइ विद्यार्थीलाई केही भयो भने आफूहरू चुप लागेर नबस्ने चेतावनीसमेत दिए । आफ्नै देशको सरकारले विभेद गरेको बताउँदै नेपाली विद्यार्थीहरू बाध्य भएर बंगलादेश फर्कनुपरेको बताएका छन् ।
