काठमाडौं । सिराहका जीवन सिंहले एमबीबीएस पढ्न चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षा दिए । उनी यो पटक राम्रो नम्बर ल्याएर पास हुने आशामा थिए । जब आयाेगले परीक्षाको नतिजा सार्वजनिक गर्यो, उनलाई नतिजामा चित्त बुझेन ।
नतिजामा उनको जम्मा ७८ नम्बर आएको थियो । जबकि उनले यो पटक सयभन्दा बढी नम्बर ल्याउने तयारीका साथ परीक्षा दिएका थिए । ७८ नम्बरमात्र आएपछि उनलाई अप्टिकल मार्क रिकग्निसन (ओएमआर) सीट’ र ‘एन्सर की’ हेर्न मन लाग्यो । किनकि गएको वर्ष एमबीबीएस परीक्षा दिँदा उनले ८२ नम्बर ल्याएका थिए ।
‘मलाई अझै राम्रो अंक ल्याएर एमबीबीएस पढ्न मन थियो, त्यसैले गएको वर्ष ८२ नम्बर ल्याउँदा पनि पढिनँ, अझै तयारी गरी यो वर्ष परीक्षा दिएँ तर नतिजा यस्तो आयो,’ उनले गुनासाे गर्दै भने, ‘मलाई जसरी भए पनि प्रश्न र मेरो उत्तरपुस्तिका हेर्न मन छ, त्यो हेर्न पाइनँ भने यो आन्दोलन जारी रहन्छ ।’

विद्यार्थी, जीवन सिंह
जीवन नतिजा हेर्नेबित्तिकै चिकित्सा शिक्षा आयोगमा गए । तर, आयाेगले उनलाई ओएमआर सीट’ र ‘एन्सर की’ हेर्न नपाइने बतायाे । ‘मैले आफूले परीक्षामा लेखेको कुरालाई फेरि एक पटक हेर्न पाउँ भन्न पनि आन्दोलन नै गर्नुपर्ने ? जीवनले प्रश्न गरे, ‘आयोगले विद्यार्थीको जीवनमाथि खेलवाड गर्दैछ, कि हामीले हेर्न पाउनुपर्यो नभए आन्दोलन रोक्दैनौँ ।’
बझाङका प्रदीप बिकको सपना सानैदेखि डाक्टर बन्ने थियो । कक्षा १० सम्म गाउँकै सरकारी विद्यालयमा पढेका उनी डाक्टर बन्ने सपना देखेर काठमाडौं पसे । उनलाई काठमाडौंमा सहज थिएन । तर, सपनाले उनलाई हार खान दिएन । एसईई पास गरेर आएका उनी लैनचौरमा रहेको निस्ट कलेजमा भर्ना भए । मिहिनेत गरेर प्लसटु पास गरे । त्यसपछि उनले एमबीबीएसको तयारी गरे ।

प्रदीप बिक ।
निम्स इन्स्टिच्युटमा तयारी कक्षा लिए । ‘अन्य इन्स्टिच्युटमा पढ्न धेरै महंगो थियो, घरको आर्थिक अवस्था पनि राम्रो छैन,’ उनले भने, ‘पिछडिएको क्षेत्र, त्यसैमाथि दलित, छात्रवृत्तिबाट भए पनि नाम निकाल्छु भन्ने योजना थियो । तर, नतिजामा मेरो नाम नै छैन, हुन सक्छ नम्बर कम या बढी जति आएको होला । तर, किन मेरो नाम नतिजामा छैन मलाई यसको जवाफ चाहिएको छ ।’
जुम्लाका दीपक बुढा पनि हातमा पर्चा पम्पलेट समाउँदै आइतबार माइती घरमा बसेका थिए । जुम्लाबाट ठूलो सपना बोकेर काठमाडौं आएका उनी पहिलो गासमै ढुंगा लागेको बताउँछन् । ‘बिरानो शहर पढ्नकै लागि आएँ, बा आमाले सकिनसकी पैसा पठानुभयो, होस्टेलमा बसेर मिहिनेत गरेँ, तर नतिजामा मेरो नाम नै आएन,’ उनले भने, ‘मेरो तीन वर्ष बढीको मिहिनेत नै खेर गयो, किन मेरो नाम आएन मलाई एक पटक जान्न मन छ । ’

दीपक बुढा ।
कतिपय विद्यार्थीको नाम र नम्बरसमेत गलत आएको, कतिपयको पहिले र अहिले फरक-फरक नम्बर आएको भन्दै उनले परीक्षामा आयोगले ठूलो गल्ती गरिरहेको बताए । आयोगको नियतमै आशंका रहेको बताउँदै उनले आफूले दिएको प्रश्नपत्र र एन्सर कि एक पटक हेर्न पाउनुपर्ने बताए ।
माइतीघरमा विद्यार्थी
जीवन, दीपक र नवराज लगायतका सयौं विद्यार्थी माइतीघरमा आन्दोलनमा छन् । कसैले परीक्षामा लेखे अनुसारको नतिजा नआएको भनेका छन् भने कतिपयले नाम नै नरहेको भन्दै आयोगको ध्यानाकर्षण गराएका छन् ।
माइतीघरमा जम्मा भएका विद्यार्थीले ओएमआर सीट र एन्सर की हेर्न पाउनुपर्ने माग राखेका छन् । नतिजामा आयोगले गम्भीर त्रुटी गरेको बताउँदै विद्यार्थीले आन्दोलन थालेका छन् । उनीहरूले आफूहरूले भनेको कुरामा आयोग गम्भीर नदेखिए अझै शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
विद्यार्थीको जीवनमाथि खेलवाड
चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायत चिकित्सा शिक्षाका केही विषयको एकीकृत प्रवेश परीक्षाको नतिजामा गम्भीर त्रुटी गरेको पाइएको छ । आयोगको यो गल्तीले सयौँ विद्यार्थीको जीवनमाथि नै खेलवाड गरेको अभिभावकहरूको भनाइ छ । अभिभावक महेन्द्र यादव विद्यार्थीले परिक्षा दिइसकेपछि प्रश्नपत्र घर लिएर आउन पाउनुपर्ने बताए ।
यसो हुँदा पारदर्शी हुने भन्दै उनले विद्यार्थीले जबर्जस्ती हेर्न पाउँभन्दा पनि किन नदेखाउनु गम्भीर कुरा रहेको बताए । उनले भने, ‘प्रश्नपत्र विद्यार्थीले घर ल्याउन पाउनुपर्छ र नतिजा सार्वजनिक हुँदा एन्सर की पनि हेर्न पाउनुपर्छ, यसो हुँदा विद्यार्थी पनि ढुक्क हुन्छन् र पारदर्शी पनि हुन्छ ।’ विद्यार्थीले आफैंलाई स्व मूल्यांकन गर्ने भएकाले आन्दोलन गर्नुपर्ने आवस्था नआउने उनको भनाइ छ ।
यस विषयमा विद्यार्थीले आवाज उठाउँदा आयोगले मेरिट सूची निकालेको छ । यो सूची आफूलाई मान्य नहुने आन्दोलनरत विद्यार्थीले बताएका छन् । यो सूची राख्दा सयौँ विद्यार्थीको नतिजा नै परिवर्तन भएको छ । आयोगले भदौ १३ गने निकालेको एमबीबीएस र शनिबार निकालेको जनस्वास्थ्यको नतिजामा त्रूटी देखिएको छ ।
एमबीबीएसका विद्यार्थीले समान अंक प्राप्त गर्दा क्यामेस्ट्रि, बायोलोजी, गणीत र फिजिक्समा प्राप्त अंकका आधारमा हुनुपर्नेमा रोलनम्बरका आधारमा सूची प्रकाशित गरेको छ । जनस्वास्थ्यका विषयमा देखिएको त्रुटी सच्याइए पनि एमबीबीएसको नतिजामा समस्या देखिएको छ । आयोगले भने यो समस्या समाधान कसरी गर्ने भन्ने छलफल भइरहेको जवाफ दिएको छ ।
आम्नाको सपना डाक्टर बन्ने नम्बर आयो ९ मात्र
बाराकी आम्ना खातुनकी दिदी बेला बेला बिरामी भइरहन्थिन् । गाउँमा भनेजस्तो उपचार सम्भव थिएन । सामान्य उपचारका लागि काठमाडौं आउनुपथ्र्यो । उनलाई यो अवस्था देख्दा आफू एकदिन डाक्टर बन्नुपर्छ भन्ने लाग्थ्यो । प्राय मुस्लिम समुदायमा छोरीलाई विद्यालय गएर पढ्ने स्वतन्त्रता त्यति हुँदैन । आजभोलि केही सोचमा परिवर्तन आए पनि भनेजति सहज हुँदैन ।

आम्ना खातुन ।
तर, उनलाई पढाइमा खासै समस्या भएन । उनलाई जसरी हुन्छ पढेर उपचार नपाएर छटपटाउनुपर्ने बाध्यता भएकाहरूको सेवा गर्न डाक्टर हुन मन लाग्यो । उनलाई डाक्टर बन्ने विज्ञान विषयमा राम्रो गर्नुपर्छ भन्ने थाहा थियो । त्यहीअनुसार उनी तयारी गर्थिन् । उनी एसईई पास गरेर त्यसैका लागि काठमाडौं आइन् । हिमालयन ह्वाइट हाउसमा उनले विज्ञान विषय पढिन् ।
कक्षा १२ पास गरे पनि उनले एमबीबीएसको तयारी गरिन् । दुई वर्ष पहिले पहिलो पटक उनले एमबीबीएसको परीक्षा दिइन् । तर, उनको नाम नै आएन । उनलाई पहिलो वर्ष अंक पनि कम आयो होला, अथवा केही भयो होला भन्ने लाग्यो । उनले राम्रोसँग तयारी पनि नपुगेको भन्दै त्यत्तिकै थामथुम पारिन् । फेरि उनले आफ्नो तयारी बढाइन् । यो वर्ष कडा मिहिनेत गरेर परिक्षा दिएकी उनको जम्मा ९ नम्बर मात्र आयो । जबकि उनले १ सयको हल गरेकी थिइन् । उनलाई कसरी ९ नम्बर मात्र आयो भन्ने कुरा जान्न आफूले दिएको प्रश्नपत्र र उत्तरपुस्तिका हेर्न पाउनुपर्ने बताएकी छन् ।
आर्थिक चलखेल भएको आशंका
हरेक वर्ष एमबीबीएस परीक्षाको नतिजामा ठूलो चलखेल हुने गरेको कुरा बेला बखत बाहिर आउँछ । नाम निकाल्न नतिजा हैन, पैसाको बार्गेनिङ चल्छ भन्ने हल्ला सुनिन्छ । उसो त बेलाबेला एमबीबीएस परीक्षाको प्रश्नपत्र नै बाहिरएका समाचार पनि आइरहेकै हुन्छन् ।
जनक शिक्षा सामाग्रीमा प्रश्न छापिँदै गर्दा प्रश्नपत्रमा मोलमोलाई भइसकेको हुन्छ । केही वर्षअघि यस्तै घटनामा शिक्षा मन्त्रालयका एकजना उपसचिव नलिम्बित नै भएका थिए ।
यसमा शिक्षा मन्त्रालयकै कर्मचारी संग्लग्न भएका घटना बाहिरिन्छन् । प्रश्नपत्र नै किनबेच भइरहने यो परीक्षामा नतिजामा कति चलखेल हुँदो हो यो सोझै अनुमान लगाउन सकिने विद्यार्थीको आरोप छ । चिकित्सा शिक्षा आयोगले गरिरहेको नतिजाको अपडेटबाट पनि विद्यार्थी यही निचोडमा पुगेका छन् । उनीहरू भन्छन्, ‘यहाँ जे भइरहेको छ त्यो निष्पक्ष छैन ।’
विद्यार्थी जीवन सिंह भन्छन्,‘ रिजल्ट निस्केदेखि अहिलेसम्म पटक-पटक नतिजा तलमाथि भएको छ, कसैको नाम र रोल नम्बर मिलेको छैन, कसैको नाम र थर फरक आएको छ, किन यस्तो भइरहेको छ थाहा छैन । ’