काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले विदेशिएका विद्यार्थीलाई स्वदेश फिर्ता ल्याउनेगरी भूमिका निर्वाह गर्न शैक्षिक परामर्श व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को २८औँ वार्षिकोत्सवका अवसरमा इक्यानलाई भूमिका परिवर्तन गर्न अनुरोध गर्दै मुलुकलाई शैक्षिक हबका रुपमा विकास गर्ने योजनामा सहयोग गर्न आग्रह गरे ।‘पछिल्लो समय नेपालमा केही हुँदैन भन्ने भाष्य स्थापना गर्न खोजिएको छ, अब यो निराशावादी भाष्यलाई चिर्दै सकारात्मक सोचका साथ स्वदेशमै अवसर छ भन्ने ढङ्गले सोच्नु आवश्यक छ,’ उनले भने ।
मन्त्री भण्डारीले उच्च शिक्षाका नाममा विदेशिएका जनशक्तिले स्वदेशकै माटोमा भविष्य खोज्ने समय आएको समेत बताए । नेपालबाट विभिन्न बाहनामा जनशक्ति र पुँजी पलायनको अवस्था रहेको उल्लेख गर्दै यसलाई रोक्नका लागि शैक्षिक परामर्श व्यवसायीहरूको पनि भूमिका रहने उनको भनाइ छ ।
‘सरकार युवा जनशिक्तलाई स्वदेशमै रोक्ने नीतिका साथ अगाडि बढेको छ, यसमा निजी क्षेत्र त्यसमा पनि विशेषगरी इक्यान जस्तो संस्थाको भूमिका महत्त्वपूर्ण हुन्छ, म यहाँहरूलाई त्यसका लागि सरकारको योजनामा साथ दिन आग्रह गर्दछु,’ उनले भने । ।
सरकारले ‘स्टार्टअप’ लगायत नीतिमार्फत युवालाई स्वदेशमै अवसर छ भन्ने सन्देश दिनेगरी काम गरिरहेको बताउँदै मन्त्री भण्डारीले लगानी सम्मेलनमार्फत विदेशबाट पुँजी र प्रविधि ल्याउनका लागि सरकारले पहल गरिरहेको बताए । सरकारले शैक्षिक परामर्श व्यवसायीहरुको भूमिका बुझेको र यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको समेत जनाए ।
पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शैक्षिक परामर्श मुलुकको सेवामुलक क्षेत्रमा प्रमुखमध्ये एक भएको बताए ।
‘लाखौँ विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश पठाउने र हजारौँलाई रोजगारी दिएको यो सेवामुलक क्षेत्रलाई राज्यले महत्त्वका साथ लिनुपर्छ, यस क्षेत्रका समस्या समाधानका लागि सरकारले साथ दिनुपर्छ, सरकारलाई पनि यस क्षेत्रको साथ र सहकार्य जरुरी छ,’ उनले भने । विदेशबाट विद्यार्थी ल्याउन र नेपाललाई शैक्षिक हब बनाउनका लागि इक्यानले देखाएको चासोमा सरकारले प्राथमिकताका साथ सहकार्य गर्ने उनले बताए ।