शिक्षालाई सिपसँग जोड्ने किसिमले अबको पाठ्यक्रम परिमार्जन हुन्छ: शिक्षामन्त्री भट्टराई

<p>काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा मन्त्रालय सबै पाठ्यक्रमहरूलाई परिमार्जन गर्ने गरी अगाडि बढेको बताएकी छन् । ललितपुरमा आयोजित ‘नेशनल सेमिनार अन एजुकेशन एण्ड इम्प्लइमेन्ट लिंकेज’ मा बोल्दै मन्त्री भट्टराईले विश्व बजारमा प्रतिष्पर्धी जनशक्ति तयार गर्नका लागि सबै तहमा पाठ्यक्रम परिमार्जन गर्नुपर्ने बताएकी हुन् । उनले पाठ्यक्रम परिमार्जनका लागि मन्त्रालय लागि परेको [&hellip;]</p>

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा मन्त्रालय सबै पाठ्यक्रमहरूलाई परिमार्जन गर्ने गरी अगाडि बढेको बताएकी छन् ।

ललितपुरमा आयोजित ‘नेशनल सेमिनार अन एजुकेशन एण्ड इम्प्लइमेन्ट लिंकेज’ मा बोल्दै मन्त्री भट्टराईले विश्व बजारमा प्रतिष्पर्धी जनशक्ति तयार गर्नका लागि सबै तहमा पाठ्यक्रम परिमार्जन गर्नुपर्ने बताएकी हुन् । उनले पाठ्यक्रम परिमार्जनका लागि मन्त्रालय लागि परेको बताएकी हुन् ।

उनले राष्ट्रलाई योगदान दिनसक्ने जनशक्ति तयार गर्ने गरी पाठ्यक्रम बनाउनुपर्नेमा जोड दिएकी छन् । राष्ट्रलाई योगदान दिन सक्ने जनशक्तिले नै अन्तर्राष्ट्रिय बजारमा योगदान दिन सक्ने उनको भनाइ छ । उनले सीटीईभिटीलाई पुनर्संरचना गर्नका लागि काम अगाडि बढाइएको भन्दै यसको पाठ्यक्रम र पुनर्संरचनाका लागि आवश्यक काम गर्न दुई वटा समूह बनाएर जिम्मेवारी दिइएको बताइन् ।

‘सीटीइभीटीलाई हामीले पुनर्संरचना गर्नुपर्छ । २०४५ सालको आवश्यकता आज २०८१ सालसम्म आइपुग्दा त्यही संस्थागत मूल्य, त्यही नीति । जसलाई अहिले पनि हामीले ऐनलाई खास संशोधन गरेका छैनौं। नयाँ ढंगले निर्माण गरेका छैनौं । त्यही नीतिबाट मार्गदर्शिक छौं,’ उनी भन्छिन्, ‘म आएपछि सिटीईभिटीलाई पुनर्संरचना गर्ने सोचेँ । सिटीइभिटीलाई अहिलेको अवस्थामा यसको पाठ्यक्रम र पुनर्संरचनाका लागि दुई वटा टिम बनाएर हामीले जिम्मेवारी दिएका छौं ।’

उनले पाठ्यक्रममा उद्यमशिलतामा काम गरिरहेको पंक्तिलाई कसरी जोड्ने भन्ने कुरामा आफ्नो ध्यान केन्द्रित रहेको बताइन् । ‘हामीले नेपालीहरू अन्तर्राष्ट्रिय श्रम बजारमा जान सक्षम जनशक्ति तयार गर्छौ भन्यौं त्यहाँ नै हामी गलत भयौं,’ उनले भनिन्, ‘हामीले नेपालको लागि कस्तो जनशक्ति चाहिन्छ भनेर प्रक्षपण त बारम्बार गर्यौं तर हामीले के भन्यौं भने हाम्रो शिक्षण संस्थाले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्ने, अन्तर्राष्ट्रिय श्रम बजारमा गएर बिक्ने जनशक्ति तयार गर्नुपर्छ भन्ने कुरा कहिल्यै पनि भन्न छोडेनौं ।’

साँच्चिकै शिक्षालाई सबल बनाउने हो भने प्रतिष्पर्धी जनशक्ति तयार गर्न सक्नुपर्ने उनले बताइन् । ‘ग्लोबल टु लोकल र लोकल टु ग्लोबल’ कसरी लिंकेज स्थापित गर्ने ? त्यसका लागि हामीसँग भएको जनशक्ति जसले पहिले राष्ट्रमा योगदान दिनसक्दा उसले मात्रै अन्तर्राष्ट्रिय रूपमा पनि योगदान गर्नसक्ने उनको भनाइ छ । सोही किसिमको योगदान दिनसक्ने जनशक्ति कसरी तयार गर्ने भन्ने कुरामा अब बहस हुनुपर्ने उनले औंल्याइन ।

‘अब शिक्षा मन्त्रालयले हाम्रो पाठ्यक्रमलाई पूरै परिमार्जन गर्नुपर्छ चाहे त्यो जनरल एजुकेशनको होस् चाहे त्यो साइन्सको होस्, चाहे टेक्नीकल एजुकेशनको होस्,’ उनी भन्छिन्, ‘सबै पाठ्यक्रमहरूलाई परिमार्जन गर्नुपर्छ भन्ने हिसाबले नै हामी अगाडि बढेका छौं ।’

उनले शिक्षा मन्त्रालय, उद्योग मन्त्रालय र श्रम मन्त्रालयकाबीच समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएकी छन् । उनले शिक्षा भनेको ज्ञान मात्रै नभइ सिप, कला र उद्यमशिलता पनि हो भन्ने कुरा स्थापित गर्नुपर्ने बताएकी हुन् ।

Share News