
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा बहुप्रतिक्षित पन्च ईभी सार्वजनिकसँगै मूल्य पनि तोकेको छ ।
नाडा अटो शो २०२४ को उद्घाटनसँगै सिप्रदी ट्रेडिङ प्रालिले पन्च ईभी सार्वजनिक र मूल्य तोकेको हो । पन्च ईभीको न्यूनतम मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, हाई भेरियन्टको मूल्य भने ३८ लाख ९९ हजार र मिडियम रेन्जको ३६ लाख ९९ हजार रूपैयाँ तोकिएकाे छ ।
पन्च ईभीको प्रि-बुकिङ भने केही सयम अगाडिबाट नै खुला भइसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एक विशेष इलेक्ट्रिक एसयूभीमा हुनुपर्ने हरेक गुण पन्च ईभीमा रहेको छ ।
भारतीय बजारमा राम्रो बजार पाइरहेको पन्च ईभी नेपाल भित्रिएको हो । पन्च ईभी भारतमा मासिकरूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ ।
पन्च ईभीमा १६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका विशेषताहरू रहेको कम्पनीका महाप्रबन्धक शवन्तजंग सिजापतिले बताएका छन् । उनका अनुसार यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ ।

त्यस्तै, टाटा पन्च ईभीमा दुई वटा ब्याट्री विकल्प छन् । गाडीमा मिड रेन्जमा २५ किलोवाट आवर र लङ रेन्जमा ३५ किलोवाट आवरको ब्याट्री प्याक छ । अहिले ३५ किलोवाट ब्याट्री क्षमताको गाडी नेपाल आएको उनले बताए ।
यस गाडीको मोटर पावर ९० किलोवाटको रहेको छ भने डाएमेन्सन ३.८ मिटर लम्बाइ रहेको छ । त्यस्तै, फुल चार्ज रेन्ज ४२१ किलोमिटर, चार्जिङ टाइम ५६ मिनेटमा फुल र टर्क पावर १९० एनएम रहेको उनले बताएका छन् ।
हाल ५ कलरमा यो गाडी सार्वजनिक गर्ने भएको छ । पन्च ईभीले नेपाली बजारमा पनि छोटो अवधिमै उल्लेखनीय हिस्सा ओगट्ने अपेक्षा गरिएको सिजापतिले बताएका छन् । पन्च ईभीले नेपालमा टाटालाई नम्बर वान बनाइराख्न मद्दत गर्ने उनको भनाइ छ ।