चितवनका ५ सय बढीमा डेंगी संक्रमण

<p>चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ५ सय ८८ जनामा डेंगी संक्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये २ हजार ३ सय ९४ जनाको परीक्षण गर्दा ५ सय ८८ जनामा डेंगी संक्रमण देखिएको हो । संक्रमितमध्ये ४ सय १७ चितवनका छन्भने १ सय ७१ जना जिल्लाबाहिरका रहेका जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल [&hellip;]</p>

चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ५ सय ८८ जनामा डेंगी संक्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये २ हजार ३ सय ९४ जनाको परीक्षण गर्दा ५ सय ८८ जनामा डेंगी संक्रमण देखिएको हो ।

संक्रमितमध्ये ४ सय १७ चितवनका छन्भने १ सय ७१ जना जिल्लाबाहिरका रहेका जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए । उनका अनुसार लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने गर्दछ । उनले भने, ‘सूर्य उदाएको दुई घण्टा अघि र अस्ताउने समयमा दुई घण्टा अघि लामखुट्टेले टोक्ने गर्छ । त्यो समयमा लामखुट्टेको सम्पर्कमा जो बढी गयो त्यसैलाई संक्रमणको जोखिम रहन्छ ।’

साउन यता जिल्लाका सात पालिकामध्ये इच्छाकामना गाउँपालिकामा २ सय ३६ जनामा डेंगी संक्रमण देखिएको छ । यस्तै, भरतपुर महानगरपालिकामा १ सय ७, खैरहनीमा ११, रत्ननगरमा ४९, माडीमा तीन, राप्तीमा तीन र कालिका नगरपालिकामा ८ जनामा संक्रमण देखिएको केसीले जानकारी दिए । उनका अनुसार जिल्लामा भेटिएका संक्रमितमध्ये २ सय २५ महिला र १ सय ९२ जना पुरुष छन् ।

वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेषगरी भदौ, असोजमा डेंगी रोग देखिने गरेको केसीले बताए । उनले भने, ‘अहिले साउनको सुरुआतदेखि सङ्क्रमण देखिन थालेको छ ।’

यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । बर्सातको महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप हुने गरेको उनले बताए । यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्यांकी, आदिमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्ने निरीक्षक केसीले जानकारी दिए ।

डेंगी रोगको ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्ने उनले बताए । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउनेलगायत लक्षण देखापर्छ ।

यस्तै, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुनेजस्ता लक्षण देखापर्ने केसीले बताए । डेंगी ज्वरो विषाणुका कारण हुने भएकाले यसको निश्चित उपचार भने नहुने उनको भनाइ छ । डेंगीबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

Share News