काठमाडौं । ”मुलुकमै धेरै रुचाईएका दुई सफल युवा उद्यमीहरु चौधरी ग्रुपको सिजि कर्पका प्रबन्ध निर्देशक निर्वाण चौधरी र निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले माघ २१ गते ४ सय भन्दा बढी उद्यम शिलतामा प्रवेश गर्न चाहने युवालाई सम्बोधन गर्दै नेपालमा नयाँ युवा उद्यमीहरुका व्यवसायिक योजनामा आफूहरुले व्यक्तिगत र संस्थागत रुपमा लगानी गर्ने घोषणा गरे ।’’

हिमालयन क्लाईमेट इनिसिएटिभले काठ्माण्डौंमा आयोजना गरेको फाइनान्स योर ड्रिम कार्यक्रममा बोल्दै बगरिया र चौधरीले उक्त घोषणा गरेका थिए । गत शनिबार, आइतबार र सोमबार धेरै सञ्चार माध्ययममा प्रकाशित प्रसारित समाचार हो यो ।
मंगलबार गोरखापत्रमा अर्को सूचना प्रकाशित भयो । आन्तरिक राजश्व विभाग, करदाता सेवा कार्यलय पुतलीसडकले ११८ वटा कम्पनीहरुलाई बाँकी कर बक्यौता भुक्तानी गर्न सार्वजनिक सूचना प्रकाशित गर्यो । जहाँ तिनै आनन्द वगरियाको नाम पनि छापिएको छ ।
बगरियाको नाममा रहेको कम्पनी निम्बर मार्केटिङ (स्थायी लेखा नम्बर ३०००४८९५७) ले मुल्य अभिवृद्धि कर (भ्याट) र आयकर तिर्न बाँकी रहेको कर कार्यलयले जनाएको छ । ‘कर बक्यौता रकम दाखिला गर्न विभिन्न मितिमा कार्यालयमा प्राप्त ठेगानामा पत्राचार गरिएको, पत्र बुझेका, फोन सम्पर्क गरिएकोमा हालसम्म पनि कर बक्यौता रकम दाखिला नगरेको तथा कार्यलयमा सम्मर्क राख्न नआएकोले यो सूचना प्रकाशित गरिएको छ’ कर कार्यालयले भनेको छ–‘यो सूचना प्रकाशित भएको पन्ध्र दिनभित्र कार्यालयमा बक्यौता रकमको लागि राख्नुहुनु …।’

उक्त सूचनामा शकुन्तला हिराचन, जयन्ती शाह, रेनु सराफ, गणेश भक्त शाख, ओम प्रकाश नौलखा, रविन्द्रमान मल्ल, बतास ब्रदर्श मोटर्स, अमात्य इन्टरप्राइजेज लगायत चर्चित व्यवसायी तथा कम्पनीहरुलाई कर बक्यौता भुक्तानी गर्न आग्रह गरिएको छ ।
कर कार्यालयको यो सूचनासँगै युवा उद्यमीलाई सहयोग गर्ने आस्वासन दिने बगरिया माथि नैतिक प्रश्न उठेको छ । ‘व्यवसाय गरेर सरकारलाई कर नतिर्नेहरुले युवा उद्यमीलाई कस्तो सहयोग हुन्छ ?’