काठमाडौं । काठमाडौंको धुलो नियन्त्रणका लागि चार वटा ब्रुमर मेसिन थपिने भएको छ । काठमाडौं महानगरपालिकाले आगामी तीन महिना भित्रै चार वटा ब्रुमर मेसिन थपेर काठमाडौैंका सडकमा रहेको धुलो उठाउन लागेको हो ।
‘धुलोले काठमाडौंका जनताको दैनिकी कष्टकर भैसक्यो, त्यसैले आगामी तीन महिना भित्रै चार वटा ब्रुमर मेसिन खरिद गर्ने प्रक्रिया अघि बढाएका छौं’, काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले भने । सडकमा रहेको धुलो उठाउने मेसिनलाई ब्रुमर भनिन्छ । हाल महानगरपालिका सँग २ वटा ब्रुमर मेसिन छन् । एउटा चीनले अनुदानमा दिएको ब्रुमर मेसिन हो भने अर्काे नेपालले भारतसँग खरिद गरेको हो ।
दुबै ब्रुमर मेसिनले धुलो उठाउने भन्दा पनि उडाउने काम मात्रै गरेकाले नयाँ मेसिन खरिद गर्न लागेको पनि उनले बताए । महानगरपालिकाले चार वटा ब्रुमर खरिदका लागि ग्लोबल टेण्डर आव्हान गर्न लागेको पनि तामाङले जानकारी दिए ।‘अहिलेका ब्रुमरले धुलो उठाउने भन्दा पनि उडाउने काम मात्रै गरे, अब नयाँ प्रबिधीयुक्त ब्रुमर ल्याउँछौं, यसै हप्ता ग्लोबल टेण्डर निकाल्दैछौं’, तामाङले व्यवस्थापिका संसदको विकास समितिमा भने ।
नयाँ ब्रुमर मेसिनले बालुवा र धुलो दुबै टिप्न सक्नेछन् । हाल सडक विस्तार तथा मेलम्ची खानेपानी आयोजना २ को पाइप बिछ्याउने कामका कारण उपत्यकामा धुलो बढिरहेको छ ।