काठमाडौं । सरकारी अस्पतालमा सेवाग्राहीको भीड हुँदा प्रभावकारी व्यवस्थापन नभएको भन्दै पटक–पटक आलोचना हुन्छ । काठमाडौं उपत्यका लगायत देशका विभिन्न संघीय अस्पतालमा बिरामीको भीड हुँदा सेवा पाउन मुस्किल हुने गरेको आम नागरिकको गुनासो छ ।
सरकारी अस्पतालमा दिनभर लाइनमा बसेर साँझ पालो नपाएर घर फर्किनु पर्ने बाध्यता पनि छ । काठमाडौंका ठूला अस्पताल वीर, टिचिङ, थापाथली र शुक्रराज अस्पतालमा अप्रेसनको लागि महिनौ कुर्नुु पर्ने बाध्यता छ ।
आम नागरिकको यो गुनासोलाई सम्बोधन गर्न भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पताल सेवा सुधारको सुरुवात गरेका गरिने प्रतिबद्धता गरेका थिए ।
उनले स्वास्थ्यमन्त्रीको सपथ लिएकै दिन अस्पतालको भीड व्यपस्थापन गर्ने निर्णय गरेका थिए । अहिले उनी स्वास्थ्य मन्त्री बनेको एक महिना भएको छ । आफ्नो पहिलो निर्णयअनुसार मन्त्री पौडेलले सेवाग्राहीलाई सहजरूपमा सेवा प्रदान गर्न संघीय अस्पताल र प्रतिष्ठानका प्रमुखसँग छलफल पनि गरेका छन् । उनले आफूले गरेको पहिलो निर्णयको कार्यान्वयन र प्रभावकारिताको विषयमा पनि सोधखोज गरेका छन् ।
अस्पतालहरूले पनि एक महिनाको अवधिमा धेरै सुधार भएको धारणा राखेका छन् ।
कुन अस्पतालको कस्तो सुधार ?
शुक्रराज ट्रपिकल
काठमाडौंको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले भीडभाड कम गर्न ओपीडी सेवा दुई सिफ्टमा गर्न थालेको छ भने चार वटा टिकट काउन्टर टोकन प्रर्णाली, अनलाइन टिकेटिङको व्यवस्था गरेको जानकारी दिएको छ ।
अस्पतालले शैया अभावमा भर्ना नपाउने अवस्थाको अन्त्य भएको, स्वास्थ्य बीमा मार्फत प्राप्त हुने फार्मेसीमा ९० प्रतिशतभन्दा बढी औषधी उपलब्ध गराइएको र चौबीसै घण्टा सोधपुछका लागि साहयता कक्ष सञ्चालन गरेको बताएको छ ।
यस्तै, अस्पतालमा पीउने पानी, शौचालयको सफाइमा ध्यान दिनेदेखि नियमित कामका लागि अस्पताल प्रमुखलाई पर्खन नपर्ने व्यवस्था गरिएको जानकारी दिएको छ ।
परोपकारी प्रसूती तथा स्त्रीरोग अस्पताल
यो अस्पतालले भीड व्यवस्थापनका लागि अनलाइन टिकेटिङ प्रभावकारी बनाएको जानकारी दिएको छ । अस्पतालका निर्देशक श्री अधिकारीले जनरल ओपीडी सेवा ९ बजेदेखि ४ बजेसम्म र अपरेशन सेवा पनि १ घण्टा बढाइ ९ बजेदेखि ४ बजेसम्म राखेको जानकारी दिए ।
यस्तै, विस्तारित अस्पताल सेवा अन्तर्गत ओपीडी सेवा ४ बजेदेखि ६ बजेसम्म, गर्भमा भएको बच्चाको मुटु इकोकार्डियोग्राफी, नवजात शिशु तथा बालरोगको विस्तारित ओपीडी सेवा ४ बजेदेखि ६ बजेसम्म दिने गरेको छ ।
आमा सुरक्षा र नवजात शिशु निःशुल्क उपचार सेवा र औषधीको कमी हुन नदिन कर्मचारीलाई जिम्मा दिइएको, सोधपुछ÷सहायता कक्ष व्यवस्था, गुनासो सुन्ने कार्य प्रभावकारी बनाइ सरसफाईमा ध्यान दिरहेको अस्पतालले जनाएको छ ।
वीर अस्पताल
नेपालकै सबैभन्दा जेठो अस्पताल हो वीर अस्पताल । यो अस्पतालमा सेवा लिन निकै कठिन हुने गरेको बिरामीको पनि गुनासो हुन्छ । स्वास्थ्य मन्त्री पौडेलको निर्देशनपछि वीर अस्पतालले ओपीडी सेवा दुई सिफ्टमा सञ्चालन गरेको छ भने जनशक्ति थप्दै अझ सुधार गर्ने निर्णय गरेको छ ।
अस्पतालले साउन १३ गतेदेखि इएचसी सेवा लागु गरेको छ भने तीन स्थानमा फार्मेसी र खाजाको समयमा पनि टिकट काउन्टर खुला राखी सेवा दिएको अस्पतालले जानकारी दिएको छ ।
राष्ट्रिय ट्रमा सेन्टर
यो अस्पतालले पनि ओपीडी दुई सिफ्टमा सञ्चालन गरेको छ । बिहान साढे ८ बजेदेखि साढे ४ बजे र इएचसी, ओपीडी अपरान्ह साढे ४ बजेदेखि दिन सुरु गरेको छ । यस्तै, विस्तारित अस्पताल सेवा कार्यक्रम व्यवस्थित गरेको, आकस्मिक शल्यक्रिया २४ सै घन्टा सञ्चालन गरिएको र नियमित शल्यक्रियाका लागि भर्ना भएका बिरामीको ७ दिनभित्र र ओपीडी अन्तर्गतका बिरामीको १ महिना भित्रमा शल्यक्रियाको पालो आउने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।
अस्पतालको स्वास्थ्य बीमा औषधी पर्याप्त राख्ने र दुई फार्मेसी सञ्चालन, दइटा टिकट काउन्टर तथा अनलाइन टिकटको व्यवस्था गरेको अस्पतालले जानकारी दिएको छ ।
भक्तपुर क्यान्सर अस्पताल
यो अस्पतालले पनि ओपीडी दुई सिफ्टमा र विस्तारित स्वास्थ्य सेवा सुरू गरेको छ । अस्पतालका अनुसार इएचसी सेवा थप गरी सर्जरी र रेडियोलोजी लगायत अन्य विभागमा लागु गरेको छ ।
अस्पतालमा बिरामी भर्ना, खाली बेड वेवसाइटबाटै जानकारी दिने र ५ वटा शल्यक्रिया कक्षमा शल्यक्रिया हुने व्यवस्था गरेको छ । अस्पतालका अनुसार ९० प्रकारका केमोथेरापी औषधी र अन्य औषधी बीमा फार्मेसीमा उपलब्ध गराइने, टिकट काउन्टरमा टोकन र क्युआर भुक्तानी प्रणाली लागु गरिएको जानकारी दिएको छ ।
मोनमोहन कार्डियोथोरासिक भास्कुलर
यो अस्पतालले ओपीडी टिकट बिहान साढे ११ बजेसम्म उपलब्ध गराई दिउसो परामर्श दिने कार्य सुरु गरेको छ । शल्यक्रिया र उपचारको लागि एक महिनाभन्दा कम समय दिइने, अनलाइन टिकट मोबाइल एपबाटै लिन सकिने र ल्याब रिपोर्ट अनलाइनबाटै प्राप्त गर्ने योजना यस अस्पतालले राखेको छ ।
कान्ती बाल अस्पताल
बालबालिकालाई सेवा दिने यो अस्पतालले ओपीडी दुई सिफ्टमा सञ्चालन गर्ने तयारी गरेको छ । विस्तारित अस्पताल सेवा लागु गर्ने, चिकित्सक राउन्ड, बिरामी भर्ना, डिस्चार्ज समय व्यवस्थापन गर्ने, ३ बेड पीआईसीयू थप, ३ एनआइसीयू बेड र २० अब्जरवेसन बेड थप गर्ने तयारी अस्पतालले गरेको छ ।
यस्तै, स्वास्थ्य बीमा मार्फत् प्राप्त हुने ८० प्रतिशत औषधी उपलब्ध गराउने, टिकट काउन्टर संख्या थप, अनलाइन टिकट र विद्युतीय भुक्तानी प्रणाली सुचारु गरी भीड व्यवस्थापनका लागि टोकन प्रणाली थप व्यवस्थित गरिने अस्पतालले जानकारी दिएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
यो अस्पतालले भीड व्यवस्थापनका लागि जर्नल पेइङ्ग क्लिनिक प्रणालीको व्यवस्था गरेको छ । यस्तै, विस्तारित सेवा प्रवाहका लागि पीपीपी सेवा थप व्यवस्थित गर्ने, चिकित्सक राउन्ड, बिरामी भर्ना, डिस्चार्ज समय व्यवस्थापन, डिजिटल विलिङ भाद्र १ देखि लागु गर्ने, बिदाको दिनमा समेत ओपीडी एवं शल्यक्रिया सेवा सञ्चालन गर्ने योजना बनाएको छ ।
आयुर्वेद चिकित्सालय
आयुर्वेद चिकित्सालय अस्पतालले ओपीडी र काउन्टर सेवा बिहान साढे ८ देखि दिउँसो २ बजे र बेलुका साढे २ देखि ५ बजेसम्म सञ्चालन गर्ने, विस्तारित स्वास्थ्य सेवा कार्यक्रम लागु गर्ने तयारी गरेको छ । अस्पतालले चिकित्सक राउन्ड, बिरामी भर्ना, डिस्चार्ज सेवा सुधार, टोकन र विद्युतीय भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाउने योजना बनाएको छ ।