त्रिवेणी । रुकुम पश्चिमको एक आधारभूत विद्यालयको भौतिक संरचना निर्माण तथा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न २५ लाख संकलन गरिएको छ ।
जिल्लाको आठबिसकोट नगरपालिका-१० डाडाँखालीमा रहेको सरस्वती आधारभूत विद्यालयको भौतिक संरचना निर्माण तथा गुणस्तरिय शिक्षा प्रदान गर्न सहयोग संकलन अभियान थालिएको हो ।
विद्यालयको भौतिक संरचना निर्माण तथा गुणस्तरीय शिक्षा प्रदानका लागि भनेर थालिएको सहयोग संकलन अभियानमा हालसम्म २५ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको सहयोग अभियान संकलनकर्ता टीकाराम पुनले जानकारी दिए ।
उनका अनुसार देश तथा विदेशमा रहेका २ सय ४३ नेपालीबाट उक्त रकम संकलन भएको हो । विद्यालयको भौतिक संरचना तथा विद्यार्थीको पठनपाठनमा समस्या देखिएपछि विद्यालयलाई गुणस्तरिय शिक्षा प्रदान गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग संकलन अभियान थालिएको पुनले जानकारी दिए ।
संकलन गर्ने कार्य अझै जारी रहेको र संकलन भएको रकम केही दिनमा विद्यालयलाई हस्तान्तरण गर्ने उनले जानकारी दिए । आठबिसकोट–१० फलाटे निवासी पुन अहिले रोजगारिको सिलसिलामा अमेरिका बस्दै आएका छन् ।
गत कात्तिक १७ गते गएको भूकम्पले विद्यालय भवन क्षति पुर्याएको र पठनपाठनमा समस्या भइहेका बेला विद्यालयको भौतिक संरचना निर्माण तथा शिक्षा सुधारका निम्ति सहयोग संकलन गर्नु निकै उदाहरणीय काम भएको सरस्वती माविका प्रधानाध्यापक कमानसिंह कुसारीले जानकारी दिए ।
सरकारी निकायले समेत विद्यालयको भौतिक संरचना निर्माणमा नजर नपुगेका बेला रकम संकलन गरी विद्यालयका निम्ति सहयोग संकलन गरेकामा विद्यालय परिवार खुसी भएको समेत प्रअ कुसारीले उल्लेख गरे ।
संकलन भएको रकमबाट विद्यालयको बालमैत्री वातावरण निर्माण, शुद्ध पिउने पानीको व्यवस्थापन, खेलकुद मैदानको निर्माण, इन्टरनेट तथा कम्प्युटर कक्षाको स्थापना, गुणस्तरीय खाजा घरको निर्माण र बालमैत्री पठनपाठन प्रणालीको विकास गरिने विद्यालयले जननाएको छ ।
हाल सरस्वती आधारभूत विद्यालयमा बालशिक्षा देखि कक्षा ५ सम्म पठनपाठन सञ्चालन भइरहेको प्रअ कुसारीले जानकारी दिए ।