काठमाडौं । केही दिन यता सेयर बजारमा उतारचढाव आएको छ । बुधबार ६३ अंकले बढेको नेप्से परिसूचक बिहीबार ७ दशमलब ३८ अंकले घटेको छ । कारोबार खुलेको एक करिब घण्टामै घटेर १३७७ अंकमा पुगेको नेप्से परिसूचक बन्द हुँदा १३८२ अंकमा पुगेर अडिएको छ ।
१४० कम्पनीको कारोबार भएको बिहीबारको बजारमा ५४ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन जम्मा जम्मी १२ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको हो ।
बिहीबार विकास बैंक समूहको परिसूचक बाहेक अन्य समूहको परिसूचक ओरालो लागेका छन् । विकास बैंकको परिसूचक सामान्य १.०२ अंकले बढेको छ । बजारमा होटल, बीमा र हाइड्रो समूहको परिसूचक क्रमशः ३२, २६ र २३ अंकले ओरालो लागेका छन् । त्यस्तै बाँकी समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् ।
सो दिन नेरुडे लघुवित्त विकास बैंक र राप्तीभरी विकास बैंकको सेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, जानकी फाइनान्सको ८ प्रतिशतले वृद्धि भएको छ । बजारमा सबैभन्दा बढी सहयोगी विकास बैंकका लगानीकर्ताले करिब ९ प्रतिशत गुमाएका छन् ।