काठमाडौं, १८ माघ। वैदेशिक रोजगारीमा जानेहरुका लागि सरकारले श्रम इजाजत जारी गर्न अब लाइनमा बस्नु नपर्ने भएको छ। श्रम विभागले अब व्यक्तिगत तर्फ अनलाइनवाटै श्रप स्विकृत गर्ने भएको हो।
वैदेशिक रोजगार विभागले पहिलो चरणमा व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियालाई वुधवारदेखि अनलाइन सिस्टममा लैजान लागेको विभागकी निर्देशक रमा भट्टराईले जानकारी दिइन्।
गत मंसिर १५ गतेवाट नै यो काम सुरु गर्ने भनिएपनि प्राविधिध समस्या आएपछि भोलिदेखि यो सेवा सुरु गर्न लागिएको उनले बताइन। अनलाइन सिस्टम सुरु भएपछि श्रम इजाजतको प्रक्रियाका लागि कामदारलाई एउटै कामका लागि बारम्बार काठमाडौंको तहाचल स्थित वैदेशिक रोजगार विभागको कार्यालयमा पुग्नुपर्दैन।

श्रमका लागि उपत्यका र उपत्यकाबाहिरका जुनसुकै ठाउँबाट पनि अनलाइन आवदेन गर्न सकिनेछ । सबै प्रक्रिया टुंगिएपछि श्रम स्वीकृतिको स्टीकरका लागि मात्रै कामदारहरुले पासपोर्ट लिएर विभागमा जाँदा हुनेछ । यसले कामदारलाई अहिले विभागमा हुने सास्ती घट्ने र दलालहरुको ठगी नियन्त्रण हुने सरकारको विश्वास छ ।
अनलाइनवाटै आवदेन दिन सकिने
विभागले यो सिस्टमलाई ‘फरेन इम्प्लोयमेन्ट इन्फरमेशन म्यानेजमेन्ट सिस्टम’ (एर्फइआईएमएस) नाम दिएको छ । यो सिस्टमबाट पहिलो चरणमा व्यक्तिगत रुपमा विदेश जान लागेका र श्रम इजाजत नवीकरणका लागि आएका युवाको कागजी दस्ताबेज अनलाइनमा बुझ्नेछ।
सुरुवातमा व्यक्तिगत पहलमा आएको भिसामा विदेश जान चाहेका युवाले एर्फइआईएमएस सिस्टममा आफ्नो सम्पूर्ण व्यक्तिगत विवरण भर्नुपर्नेछ ।
कसरी भर्ने/गर्ने अनलाईन भिषा प्रोसेसिङ ?
यो आइडी बनाएपछि आफु जान लागेको देशसहित त्यहाँको कम्पनीबाट आएको डिमान्ड लेटर, भिसा लगायत डकुमेन्ट, आफ्नो पासपोर्टको प्रतिलिपीसहित आवश्यक कागजात अनलाइनमा अपलोड गर्नुपर्छ । जसलाई विभागले अफिसियल अनलाइन डकुमेन्टका रुपमा स्वीकार गर्छ ।
यसैका आधारमा विभागले यो व्यक्ति कुन देशमा, कुन कम्पनीमा, के कामका लागि जान श्रम इजाजत मागेको हो भन्ने अनलाइन विवरण प्राप्त गर्छ । त्यसअनुसार अब विभागले सो व्यक्तिको श्रम इजाजतको प्रक्रिया अघि बढाउँछ । अनलाइन आवेदन गरेपछि तपाईंको प्रक्रिया प्रमाणित (एप्रुभ) भएको जानकारी विभागले कामदारकै इमेलमा पठाउने उनले बताइन।
त्यसपछि बैंकमा तोकिएको शुल्क जम्मा गर्न सकिनेछ । यो सिस्टम सुरु भएपछि अहिलेजस्तो ताहाचलमै रहेका सीमित बैंकका काउन्टरमा हैन, देशका ठूला बाणिज्य बैंकमा जुनसुकै शाखाबाट सरकारको खातामा रकम जम्मा गराउन सकिनेछ ।
मेडिकलका लागि पुग्दा पनि यसैगरी विद्युतीय हाजिरी हुनेछ । मेडिकलले पनि सम्बन्धित व्यक्तिको मेडिकल रिपोर्ट सरकारको सिस्टममा पठाउँछ। वैदेशिक रोजगारीमा जाने व्यक्तिले गरेका बीमाका सबै रेकर्ड पनि यो सिस्टममा स्वतः जान्छ । यसका लागि विभागले बीमा कम्पनीहरुसँगको सहकार्यमा विशेष व्यवस्था गरेको छ ।
आफ्ना सबै प्रक्रिया टुंगिएको जानकारी इमेलमा पाएपछि सेवाग्राही विभागको कार्यालयमा पासपोर्ट लिएर जानुपर्नेछ । त्यसमा श्रम अधिकारीले श्रम स्वीकृति दिएर स्टीकर टाँसिदिनेछन् ।
विभागकाअनुसार यसलाई जटिल रुपमा लिनुपर्ने कुनै कुरा हुने छैन, किनभने यो जिमेल र फेसबुक चलाएजस्तै हो। यही सिस्टमको प्रयोगबाट भविष्यमा विदेशमा वा एयरपोर्टमा नै श्रम इजाजत नवीकरणको व्यवस्था गर्न पनि सहज हुनेछ । सरकारले विदशेमै श्रम इजाजत दिने नीति लिएकाले यो सिस्टम अब सरकारको सहयोगी बन्नेछ ।