काठमाडौं । नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपालले केन्द्रिय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमाथि असन्तुष्टि व्यक्त गरेको छ । शुक्रबार मौद्रिक नीतिले पुरै अटोमोबाइल क्षेत्रलाई वेवास्था गरेको भन्दै नाडाले आपत्ति जनाएको हो ।
नाडाले केही दिनअघि मात्रै पनि अटोमोबाइल क्षेत्रमैत्री मौद्रिक नीतिको आवश्यकताका विषयमा सरोकरवालाई बताएको थियो । ‘अटोमोबाइल क्षेत्रले विद्युतीय सवारीसाधन मात्र नभई समस्त अटो व्यवसायलाई समेट्छ, जसमा पेट्रोलियम पदार्थबाट चल्ने गाडी, पार्ट्स, लुब्रिकेन्ट्स र टायर पनि पर्छन्’, नाडाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ, ‘यी सबै व्यवसायलाई हित हुने नीतिको आवश्यकता थियो, तर मौद्रक नीतिले नाडाको कुनै पनि सुझावहरूलाई सम्बोधन गर्न नसकेको मात्र होइन पुरै वेवास्ता गरिएको छ ।’
यस्तो किसिमको वेवास्ताले एकातर्फ नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीहरुले ऋण भुक्तानी गर्न नसक्ने अवस्था उत्पन्न हुने र सबै व्यवसायीहरू कालोसूचीमा पर्ने देखिएको नाडाको भनाइ छ ।
मौद्रिक नीतिको धारा ७९ को ‘ख’ मा निर्माण व्यवसायलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगर्ने भनिएको छ । यस्तो नीतिले व्यवसायीहरू अन्योलमा परेको नाडाले बताएको छ ।
यस्तो नीतिले हेवी इक्यूपमेण्ट, ट्रक, टिपर, पार्टस लुब्रिकेन्ट्स, टायर र ब्याट्रीहरू जुन उधारोमा बिक्री गर्नुपर्ने हुन्छ, त्यस्तोमा कुनै पनि फर्मलाई कालोसूचीमा नै राख्ने व्यवस्था गरिनुपर्ने नाडाको धारणा रहेको छ ।
कालोसूचीको व्यवस्था हटाउँदा व्यवसायीहरू ठूलो समस्यामा फस्ने भएकोले कुनै पनि सामान बिक्री गरे पश्चात् लिएको चेकको हकमा मात्र यस्तो व्यवस्था लागु गरिनुपर्ने भएकोले यसतर्फ नेपाल राष्ट्र बैंकले तत्कालै सुधार गर्नुपर्ने नाडाको भनाइ छ ।