काठमाण्डौ । काठमाडौंको नक्सालमा बन्न लागेको डबल ट्री हिल्टन होटलको निर्माण सरकारले तोकेका मापदण्ड पूरा नगरी भईरहेको खुलेको छ । काठमाडौं महानगरपालीसँग अनुमति लिएको तर वातावरणीय मुल्याङ्कन प्रतिवेदन नबुझाई पूर्वाधारको निर्माण गरेको भन्दै संसदीय समितिले सोमवार निरीक्षण गरेको छ।

जगदम्बा हस्पिटालिटीले करिब ६ महिना आगाडिबाट निर्माण सुरु गरेको होटलले सडक र पूर्वाधार निर्माणको मापदण्ड पूरा नगरेको पाइएको हो । होटल निर्माण र सो क्रममा पहुँच र पैसाको भरमा प्रलोभनमा परी वरिपरिका स्थानीयको घर जोखिममा पारेको भन्दै संसदको शुसासन समितिका सांसदहरुले आक्रोस पोखेका छन् ।
सोमवार स्थलगत भ्रमणमा गएका सांसदहरुले मापदण्ड नपुगेको भन्दै सबै प्रक्रिया पूरा गरेरमात्र काम अगाडि बढाउन निर्देशन दिएका छन् । सांसदहरुले इआइए नगरी पूर्वाधार निर्माण गरेको भन्दै नक्सा पास गर्ने काठमाडौं महानगरपालिकाका इन्जिनियर र सम्वन्धित अधिकारीलाई कानुनी कारवाहिको दायरामा ल्याउनु पर्ने औल्याएका छन् ।
होटेल निर्माणका क्रममा केहि दिन अगाडि सडक भासिएपछि सोमवार व्यवस्थापिका संसदको शुसासन समितिले स्थलगत निरीक्षण गरेको हो । समितिका सभापति मोहनसिंह राठौरले काठमाडौं महानगरपालिकाका इन्जिनियरसँगको मिलेमतोमा इआइए रिपोर्टविना भवन निर्माण हुन लागेको भन्दै बदमासी गर्नै सबै निकायलाई कार्वाहिको दायरामा ल्याउनुपर्ने बताए।
सांसदहरुले पाँचतारे होटेल निर्माणका लागि पर्याप्त जग्गा नभएको भन्दै होटेल निर्माण स्थगित गर्न पर्ने बताएका छन् । सांसद मिलन राजवंशीले सुरक्षाको प्रश्न उठाउँदै नेपाल प्रहरीको हेडक्वाटर रहेको स्थानमा सेक्युरिटीका हिसावले पनि ठूलो संरचनाको होटेल बनाउनु सुरक्षा खतरा निम्त्याउनु रहेको बताइन् ।

सांसद ध्यानगोविन्द रञ्जितले ऐन सानाले मात्र पालना गर्नुपर्ने र ठूलाले नक्सा पास र वातावरणीय मुल्याङ्कन विना नै काम अगाडि बढाउन पाउने यो कस्तो देश हो भनी प्रश्न गरेका थिए । उनले तत्काल महानगरपालिकाका सम्बन्धित अधिकारीलाई कार्वाहिको दायरामा ल्याउनुपर्ने र निर्माण कार्य बन्द गर्नुपर्ने बताए ।
मुख्य सडकबाट ६ मिटर टाढा संरचना बनाउनु पर्ने नियम भए पनि होटलले सडकको किनारा नै छोएको छ । यही कारण विगत १५ दिनभन्दा बढी समयदेखि सार्वजनिक सडक नै अबरुद्ध छ ।
स्थानीयले पैसा र पावरको भरमा आफूहरुको थातथलो जोखिममा पार्नेहरुलाई सरकारले कारबाही नगरेकोमा आश्चर्य व्यक्त गरेका छन् । स्थानीय रमन घिमिरेले वडा कार्यालयदेखि महानगरपालिकाका अधिकारी समेत पैसामा बिकेका आरोप लगाए। स्थानीयहरुले होटल निर्माणको नाममा ९० फिट भन्दा गहिरो खाल्डो खनिएको दाबी गर्दै भवितव्य यस्तो भएको भन्दै होटलका लगानीकर्ता पन्छिएकामा जीवनभरी नै क्षतिपुर्ति पाउनुपर्ने उनीहरुको माग रहेको छ ।