काठमाडौं उपत्यकामा हैजाको संक्रम पुष्टि भएको छ । हरेक विपद, पानीजन्य रोग र मौसमअनुसार हैजाको प्रकोप देखा पर्छ । काठमाडौंमा हैजाको संक्रमण पुष्टिसँगै यतिखेर नागरिकमा त्रास छाएको छ । एक जनामा पुष्टि भइसकेको र अन्य व्यक्तिलाई पनि संक्रमण भएको हुन सक्ने आशंकापछि फेरि महामारीको रूप लिने त होइन भन्ने त्रास जनमानसमा छ । वर्षायाममा झाडपखाला, आउँ, हैजा लगायतका पानीजन्य रोगको संक्रमण बढिरहेको बेला विशेषगरी हैजाबाट कसरी बच्ने र यसको जोखिम कम गर्न कस्ता काम गर्नुपर्छ भनेर हामीले संक्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनसँग कुराकानी गरेका छौँ ।
उपत्यकामा हैजाको जोखिम कित्तिको छ ?
काठमाडौं उपत्यकामा हैजा पुष्टि भइसकेको अवस्था छ । हरेक वर्ष हैजा देखिँदै आएको थियो र सम्भावना पनि हामी व्यक्त गर्दे आएका थियौँ । हामी सजग रहनुपर्छ भन्दाभन्दै पनि हैजा पुष्टि नै भइसकेको छ । पानी पर्ने क्रम निरन्तर जारी रहँदा हामीले पिउने पानी प्रदूषित भइरहेको छ । यसले गर्दा हैजाको अझै हैजाकाे जोखिम बिढरहेकाे छ ।
हरेक वर्ष बर्सातकाे समयमा हैजा देखिनुको कारण पानी मात्रै हो कि अरू पनि छन् ?
मूख्यतः पानी नै हो । विशेषगरी गर्मीयाममा बाढीपहिरो लगायतका घटनाहरू भइरहेका छन् । काठमाडौंमा पनि धेरै वर्षा भएको छ । केही समयअघि खोला बढेर बस्तीहरूसम्म पानी पसेको थियो, यो भनेको फोहोरपानी हो । बस्तीसम्म मात्र होइन त्यो हाम्रो खानेपानीसम्म पनि पुगेको हुनुपर्छ भन्ने मेरो अनुमान हो ।
यसैलाई आधार मानेर केही समय अगाडि मैले पानीजन्य रोगको सम्भावना छ पनि भनेको थिएँ । हैजाको जिवाणु यसै पनि लामो समयसम्म रहिरहेको हुन्छ । जब त्यो फोहोर पानी घर, भान्सा र कोठासम्म आइपुग्छ अनि संक्रमण हुन्छ । यसबाट कोही व्यक्ति संक्रमण हुन्छ र त्यो व्यक्तिको दिसा व्यवस्थित शौचालयमा भएन अथवा शौचालय राम्रो भए पनि त्यसको ढल हाम्रो खानेपानीमा मिसिन पुग्यो भने त्यसपछि एक व्यक्तिबाट अर्को, अर्को व्यक्तिबाट अर्को हुँदै जान्छ । अहिले जुन व्यक्ति भर्ना भएका छन् उनमा कडा खालको लक्षण देखा परेको भन्न सकिन्छ । त्योभन्दा बाहेक लक्षण नदेखिएका अरु धेरैलाई पनि हैजा भएको हुन सक्ने र फैलिएको हुन सक्ने अनुमान लगाउन सकिन्छ ।
दिशामा हुने कोलिफर्म बेलाबेला पानीमा देखिएको कुरा आइरहन्छ, वर्षामा अझ बढी पानीमा जिवाणु देखिनुको कारण मुहान स्रोत मात्रै हो ?
पानीको उपभोग अथवा माग यो बेलामा ह्वातै बढेको हुन्छ । जब बढी उपभोग गरिन्छ, त्यसको जोखिम पनि बढ्दै जान्छ । जति जोखिम बढ्दै जान्छ रोगको संक्रमण देखिने सम्भावना पनि बढ्छ । र, अर्को कुरा वातावररण पनि यसका लागि अनुकुल हुनु पनि अर्को पक्ष हो । अर्को भनेकाे जब गर्मी हुन्छ तब जिवाण सक्रिय हुन थाल्छ ।
हैजाले विशेषगरी कस्तो मान्छेलाई बढी असर गर्छ ?
यसको संक्रमण जोसुकै व्यक्तिलाई पनि हुन सक्छ । तर, जोखिमको कुरा गर्दा बालबालिका, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति, जेष्ठ नागरिकलाई बढी हुन्छ । हामीले यसो भन्दै गर्दा युवाहरूलाई नहुने भन्ने होइन । अहिले जसलाई हैजा पुष्टि भएको छ उहाँ १६ वर्षको युवा नै हुनुहुन्छ । अस्पतालमा गएर हेर्दा पनि अरुलाई हुन सक्ने शंका गरिएको छ । उहाँहरू पनि २० देखि ४० वर्षभित्रकै हुनुहुन्छ ।
यसले दूषित पानि पिउने युवा उमेरका बढी रहेछन् भन्ने पनि देखाउँछ । उनीहरू बाहिर साथीभाइसँग जाने खाने, बाटोमा राखिएको खानेकुरा खाने गर्छन् । यसले पनि जोखिम हुन्छ । यदि कसैगरी हाम्रो घरको धारामा यसको संक्रमण आइपुग्यो भने जोकोहीलाई पनि संक्रमण हुन्छ । अझ बालबालिका र जेष्ठ नागरिकलाई बढी जोखिम हुन्छ ।
भनेपछि सरसफाइमा ध्यान नदिने व्यक्तिलाई संक्रमण हुने रहेछ हो ?
खानपान, सरसफाइमा ध्यान दिइएन भने संक्रमण सबैलाई हुन सक्छ । तर, अहिले बाहिर जथाभावी खाने समूह बढी जोखिममा देखिएको छ ।
हरेक वर्ष यही मौसममा हैजाको जिवाणु आयो भन्ने सुनिन्छ, यही समयमा रोकथामको पनि बढी चर्चा हुने गर्छ, के अघिपछि यो देखिँदैन ?
हैजाको संक्रमण जहाँ पानी लामो समयसम्म स्थिर रहन्छ । तर, जब वर्षा लाग्छ तब एक ठाउँबाट अर्को ठाउँ जान सुरु हुन्छ । हामी यसमा काठमाडौंमा हजा पुष्टि भएकै कुरालाई लिन सकिन्छ । ठाउँ-ठाउँमा बाटोभरि पानी थियो, त्यो पानी कतिपय ठाउँमा ढल फुटेको होला, कति ठाउँमा खानेपानीको पाइप फुटेको होला । त्यो पानी कतिपयको घरको धारासम्म पनि आइपुग्यो होला । अर्को यो समयमा पानीको माग पनि बढी हुन्छ । यस्तो बेला कतिपय व्यापारीले प्रशोधित नगरी जारमा पानी बजारमा ल्याइदिन्छन । यस्तो कारणले पनि यो समस्या हुन्छ । विगतमा हामीले यस्तो भेटाएका पनि छौँ । अहिले अनुगमनको पाटो शून्य छ । जसका कारण वर्षामा यो समस्या देखिने गर्छ ।
एउटा व्यक्तिलाई पखाला चल्यो तर त्यो हैजा हो कि होइन भनेर उसले कसरी छुट्याउन सक्छ ? लक्षण के हुन्छन ?
यसको लक्षण धेरै त अरु संक्रमणसँग मिल्दोजुल्दो हुन्छ । तर, १/२ कुरामा ध्यान दिनुपर्छ । पहिलो कुरो हैजा हुँदा कुनै पीडा बिना पातलो दिसा एकदम धेरै जान्छ । अझ सजिलो गरी भन्दा चामलको माड अथवा चौलानीपानी जस्तो दिसा भयो भने यो हैजा हो भनेर बुझन सकिन्छ । कसैले आफूलाई हैजा भयो कि भन्ने शंका गर्छ भने यो कुरामा ध्यान दिनुपर्छ । अर्को सँगै बान्ता पनि हुन सक्छ । अर्को महत्वपूर्ण कुरा भनेको मांशपेशी बाउँडिन्छ । विशेषगरी खुट्टाको पिडौँला फर्किन्छ । दिसाको प्रकृति, छिनछिनमै ट्वाइलेट गइरहनुपर्ने र मांशपेशी बाउँडिने र बान्ता हुने भयो भने यो हैजाको लक्षण हो । यस्तो देखियो भने हामीले घरमा कुरेर बस्न हुँदैन । हामी तुरुन्त अस्पताल पुग्नुपर्छ ।
यस्तो बेला हामीले घरमै गर्न सकिने उपचार के हो ?
४, ५ घण्टाको अन्तरालमा दिसा भइरहेको छ , बान्ता पनि भएको छैन तर पातलो दिसा भइरहेको छ भने जीवनजल खान सकिन्छ । तर, छिनछिनमै पातलो दिसा भइरहेको छ बान्ता पनि भइरहेको छ भने तुरुन्त अस्पताल जानैपर्छ । कडा खालको हैजा १० जनामध्ये १ जनामा हुन्छ । र, यसको समयमै उपचार पाएन भने मृत्युसमेत हुन सक्छ ।
कुनैबेला हैजा विश्वभरि महामारी जस्तो नै थियो, नेपालमा पनि १५ वर्ष अघि जाजरकोटमा धेरैको मृत्यु भएको थियो, नेपालमा अहिलेको अवस्था कस्तो छ ?
विश्वभरिको कुरा गर्दा हैजाबाट झण्डै डेढलाख मानिसको मृत्यु हुने गरेको डब्लुएचओको तथ्यांकले भन्छ । नेपालको हकमा हरेक वर्ष हैजा देखिरहन्छ । केही वर्ष पहिले मात्र नवलपरासीमा आधा दर्जनको हाराहारीमा मानिसको मृत्यु भयो । उनीहरूको मृत्युको कारण भने समयमै अस्पताल पुग्न नसक्नु थियो । नेपालमा अझ गाउँघरभन्दा बढी जोखिम काठमाडौंमा हुन्छ ।
शहरमा संख्याको हिसाबले बढी संक्रमण भए पनि मृत्यु हुने सम्भावना कम हुन्छ । यहाँ नजिकै अस्पताल हुन्छ, बिरामी हुनासाथ अस्पताल जान सजिलो छ । तर, गाउँमा संक्रमण पनि कम र मृत्युको संख्या बढी हुन सक्छ । किनकि त्यहाँ अस्पताल नजिक छैन , अस्पताल पुग्नै समय बढी लाग्दा मृत्यु हुन्छ । फेरि कतिपय ठाउँमा एक परिवार अथवा एक गाउँमा हैजा देखा पर्यो भने सहयोग गर्नुको साटो हच्किने गरेको पाइन्छ । तर, यसो गर्न हुँदैन किनकि यो दिसामार्फत देखापर्ने जिवाणुको संक्रमणबाट सर्ने हो । यसका लागि सबैभन्दा पहिले सरसफाइमा ध्यान दिनुपर्यो । कुनै पनि बिरामीलाई हेरचाह गरिरहेका छौं भने साबुनपानीले हात अनिवार्य धुनैपर्छ ।
हैजा नियन्त्रण गर्न र घटाउन सकिन्छ ?
विकसित देशलाई हेर्ने हो भने झाडापखाला र हैजालाई कतिपय देशले रोक्न सकेका छन् । केही दशक अगाडि आफ्नै देशको तुलना गर्ने हो भने अहिले कम भएको छ । १८/१९ वर्ष अगाडि टेकु अस्पतालकै कुरा गर्ने हो भने पनि घण्टैपिच्चछे दर्जनौं मान्छे भर्ना हुने गर्थे । भर्ना गर्ने र डिस्चार्ज गर्ने दिनमा सयौं हुन्थे । तर, अहिले त्यस्तो अवस्था छैन । यसलाई राम्रो मान्न सकिन्छ तर जोखिम अहिले पनि छ ।
अन्त्यमा, यहाँको विचारमा हैजा मुक्त गाउँठाउँ बनाउन के गर्नुपर्ला ?
यसमा सबैको हातेमालो आवश्यक पर्छ । एक व्यक्ति , संस्थाले मात्र काम गरेर पुग्दैन । यो एकै पटकमा धेरै ठाउँ फैलन सक्ने रोग हो । यसलाई सामुदायिक समस्याका रूपमा लिन सकिन्छ । जनस्वास्थ्यसँग सम्बन्धित समस्या भएकाले यसमा व्यक्ति, समाज, स्थानीय सरकार, प्रदेश लगायत सबैको सहकार्यको आवयश्यक्ता पर्छ ।
यसका लागि व्यक्तिले व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्यो। खानपानमा ध्यान दिनुपर्यो । सम्बन्धित निकायले अनुगमनमा ध्यान दिनुपर्यो । यति गर्दा कसैलाई लक्षण देखा पर्यो भने अस्पताल जान सल्लाह दिनुपर्यो । सँगै यस्ता कुरामा जनचेतना पुर्याउने काम गर्यो भने जोखिम कम गर्न सकिन्छ ।