काठमाडौं । हामी अहिले पोलियो उन्मुलुनको नजिक पुगिसकेका छौं । संसारबाटै पोलियोलाई उन्मुलन गर्न सन् २०२६ सालदेखि विश्व समुदाय नै जुटेको छ । त्यसका लागि हामी पनि निरन्तर लागिरहेका छौं । १० वर्षसम्म कुनै समस्या देखा परेको थिएन । तर, पनि जोखिम हुन सक्ने भन्दै हामीले सञ्चालन गर्ने नियमित कार्यक्रममा पोलियो खोपलाई निरन्तरता दिरहेको थियौं र छौं पनि । तर, अहिले १० वर्षपछि काठमाडौं उपत्यकामा पोलियो भाइरस देखा परेको छ ।
विसं. २०६७ असोज १४ गते नेपालमा अन्तिम केस रौतहटमा देखिएको थियो । त्यसको तीन वर्षपछि यो रोग कतै देखा नपर्दा २०७० सालमा नेपाल पोलियो मुक्त देश घोषणा गरेका थियौं । तर, अहिले काठमाडौं उपत्यकाको टुकुचा र बागमतीको संगममा पोलियोको भाइरस देखापरेको छ । पोलियो उन्मुलन गर्न हामीले निरन्तर यसको अध्ययन गरिरहेका थियौं । पछिल्लाे समय काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका विभिन्न नदीबाट नमुना संकलन गर्ने कार्य जारी थियो ।
उपत्यकाका विभिन्न ५ स्थानबाट लिएको नमुना बैंकक पठाउँदा टुकुचा र बागमतीको संगमबाट लिइएको नमुनामा पोलियोको चेन भएको भाइरस भेटिएको छ । यो मान्छेमा देखिएर कतैबाट नदीमा आएको हुनुपर्छ । पोलियो रोग यसको विषाणुबाट दूषित खाना र पानीबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । यो जिवाणु शरीरमा गइसकेपछि विशेषगरी आन्द्रामा जान्छ त्यहाँबाट विस्तारै हाम्रो शरीरले एडप्ट गर्छ र त्यो नशामा गएर हात र खुट्टा चल्ने नशामा प्यारालाइसिस गर्छ ।
यो रोग लागेका मान्छे पनि समाजमा छन् । पक्षघात भइसकेपछि निको हुँदैन । हामीले गुहेश्वरीबाट मनहरा जोडिने ठाउँ जहाँ भक्तपुरबाट आइरहेको खोला, गुहेश्वर, धोबीखोला, टुकुचा र शाेभाभगवती नजिकको नदीकाे नमुना जाँच गराउँदा टुकुचा र बागमतीको संगमबाट लिइएको नमुनामा भाइरस देखिएको हो । जेठमा संकनल गरेको नमुना पोजेटिभ आयो, त्यसपछि अर्को ठाउँको नमुना पनि पोजेटिभ आयो । त्यसपछि दिएको नमुना नेगेटिभ आयो । अहिले अर्को नमुना पठाइएको छ । तर, रिजल्ट आइसकेको छैन ।
अर्को थप नमुना संकलन गरी भर्खरै पठाइएको छ । हामीले पठाएको नमुना जाँच गर्न लामो समय लाग्छ । नदीहरूबाट ल्याइएको नमुना प्रोसेस गरेर बैंकक पठाउनुपर्छ । त्यहाँ परिक्षण गर्न लामो समय लाग्छ नेपालमा परीक्षण हुन नसक्ने भएर बैंकक पठाउनुपर्ने बाध्यता छ ।
हामीले पोलियो उन्मुलन गर्न रणनीति बनाएर निर्देशिका जारी गरेर काम गरिरहेका छौं । विभिन्न समयमा खोप अभियान सञ्चालन गरिरहेका छौं । यही क्रममा हामीले विभिन्न नमुनाहरू परिक्षण गर्यौं । विशेषगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यसलाई लिड गर्छ । वातावरणीय निगरानी गर्नका ढलको नमुना लिएर परीक्षण गरिने कुरा हो । पोलियोकै लागि भनेर पाँच मात्रा खोप दिन्छौं ।
जम्मा बच्चाहरूले पाउने भनेको १८ मात्रा खोप हो । विभिन्न खोप विभिन्न समयमा दिइन्छ । त्यो १८ मात्रामध्ये ५ पटक पोलियोको लागि दिन्छौं जसमा तीन मात्रामा मुखबाट खुवाइने पोलियो थोपा दिन्छौं । जुन एउटा बच्चालाई दुई थोपा मात्र दिनुपर्छ ६, १० र १४ हप्ता गरी तीन मात्रा मुखबाट दिने पोलियो थोपाका बारेमा धेरैलाई थाहा छ । सुईबाट पनि हामीले खोप दिन सुरु गरेका छौँ । टाइप वान, टाइप टु र टाइप थ्रीविरुद्ध दिने गरेका छौं । पोलियोको लागि पाँच मात्रा सुईबाट र मुखबाट दिने गर्छौँ ।
पोलियो भाइरस तीन प्रकारको हुन्छ । जस्तै कोभिडमा ओमिक्रोन डेल्टा भने जस्तै यसको अहिलेसम्म तीन वटा मात्र भेरियन्ट फेला पारेको छ । जुन टाइप वान, टाइप टु र टाइप थ्री भनेर चिनन्छ । यो रोग नयाँ होइन । हाम्रो समाज धेरै अगाडिदेखि रहदै आएको रोग हो ।
सन २०२६ मा उन्मुलन गर्ने लक्ष्यअनुसार यसलाई फैलन नदिन हामीले दुई वटा काम गरिरहेका छौं ।
एउटा कडा निगरानी गर्ने गरेका छौं । वातारणमा निगरानी गरिरहेका छौं भने घरघरमा कोही यस्त बिरामी छन् कि भनेर खोजी गरिरहेका छौं । अर्को बच्चालाई नियमित रूपमा खोप दिने र बेलाबेला अभियानमार्फत खोप पनि दिने गरिरहेका छौं । हाम्रो निगरानी कत्तिको राम्रो छ भनेर बाहिरबाट अन्तर्राष्ट्रिय समुदायले पनि हेरिरहेको हुन्छ ।
अफगानस्तान र पाकिस्तानमा पनि अहिले पनि पोलियो रोग देखा परिरहेको छ । प्राकृतिक रूपमा देखिनेलाई वाइल पोलियो भाइरस भन्छौं जो अफगानस्तान र पाकिस्तानमा देखिरहेको छ । अफ्रिकी मुलुकमा महामारी भएको स्थिति पनि छ । उन्मुलन उन्मुख भइरहेको बेला विभिन्न देशमा झन जोखिम देखिएको कुराहरू पनि सुनिन्छ ।
नेपालको स्थिति हेर्दा हामीले पोलियो मुक्त गरेको १० वर्ष बढी समयमा देखियो । अन्तिम पटक रौतहटमा देखिएको थियो । त्यसको तीन वर्षपछि हामीले पोलियो मुक्त देश घोषणा गरेका थियौं । त्यसपछि अहिले फेरि ढलमा भाइरस देखिएपछि हामीमा त्रास बढेकाे छ । अझै खोपको कभरेज कम भयो भने झन बढी सचेत हुनुपर्छ । नेपालको खोपको प्रगति सधैं राम्रो भइरहेको हुँदा यहाँ धेरै जोखिम त छैन तर धेरै विचार गरेर खोप लगाउनुपर्ने कतै छ कि भनेर खोज्नुपर्ने भएको छ । यसमा हामी जुटिसकेका पनि छौं । विशेषगरी नियमित खोप सेवाबाट दुइटा तरिकाको खोपहरू दिरहेका छौं । यदि ५ वर्ष मुनिको बालबालिकाले कुनै खोप लगाउन छुट गरेको छ भने खोजेर खोप लगाउने कार्य पनि गरिरहेका छौं ।
१५ वर्ष मुनिका बालबालिकालाई पक्षघात छ कि भनेर अस्पताल अस्पताल पुगरे, घरघर पुगेर खोजी गरिरहेका छौं । यसका लागि विश्व स्वास्थ्य संगठनका साथीहरूले पनि हामीलाई सहयोग गरिरहनुभएको छ । शंकास्पद बिरामी पायो भने पोलियो हो कि भनेर जाँच गर्न दिशाको नमुना संकलन गर्छौं । पहिलो एउटा नमुना र २४ घण्टापछि अर्को नमुना संकलन गरेर अनुसन्धानको लागि पठाउँछौं । नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमुना लिइसकेपछि बैंकक जान्छ र त्यहाँ परीक्षण हुन्छ ।
सन् २०१७ सालबाट सुरु गरेको यो निगरानीले ७ सय ६० वटा नमुना लिँदा अहिले भाइरस देखिएको हो ।
अस्पतालमा गएर निगरानी हाम्रा साथीहरूले निरन्तर गरिरहनुभएको छ । कसैको हातखुट्टा कमजोर भयो , एक्कासि लुलो खालको पक्षघात भयो भने हामीले खोजी गरिरहेका छौं । अहिले काठमाडौं मात्र सिमित हुनुहुँदैन । अन्य प्रदेशमा पनि निगरानी गर्नुपर्छ भनेर कोशी प्रदेशको मोरङ, धनुषा, गण्डकी प्रदेशको कासकीबाट सुरु गरिसकेका छौं । र, विस्तारै अन्य ठाउँबाट पनि हामीले विस्तारै सुरु गर्ने तयारी गरेका छौं । कम्तीमा ९५ प्रतिशत खोप लगाइसकेका छौं ।
अहिले हामी उपत्यकामा केन्द्रित भएर काम गरिरहेका छौं । यहाँ भाइरस देखिएका कारण यही केन्द्रित छौं । यही साउन ९ देखि १२ गते काठमाडौं, भक्तपुर ललितपुरमा पोलियोविरुद्धको खोप अभियान सञ्चालन गर्दैछौं । जहाँ जन्मेदेखि ५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइने छ ।
(डा. गौतम बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख हुन् । )