तपाईं महिला हुनुहुन्छ, अनि तपाईंलाई कुनै पनि जटिल खालको रोग लागेको छैन र तपाईंसँग पाठेघर छ भने अब सन्तान हुँदैन भन्ने पीर लिनुपर्दैन । स्वास्थ्य क्षेत्रमा प्रविधिले निकै फड्को मारिसकेको छ । अब भाग्यलाई सराप्दै रोएर बस्ने दिन गए ।
बरु तपाईं दम्पतीसँगै हुनुहुन्छ, कुनै पनि परिवार नियोजनका साधान प्रयोग नगरी सम्पर्क राखिराख्नुभएको छ, तर गर्भ रहेन भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ । उमेर पुगेका मात्र हैन बिहे गरिसकेका दम्पतीले एकपटक चिकित्सकको सल्लाह लिन उपयुक्त हुन्छ । अहिले हरेक अस्पतालमा स्त्री रोग विशेषज्ञहरू उपलब्ध छन् ।
कहिलेकाहीँ सामान्य समस्याले पनि गर्भ नरहने समस्या हुन्छ भने कुनै समस्या जटिल पनि हुन सक्छ । यस्तो अवस्थामा जाँच गरेर उपचार गराउनुपर्छ । धेरैजसो समस्या सामान्य उपचारमा निको हुन्छ । बाँकी दुई/तीन प्रतिशत दम्पतीको हकमा भने फर्टिलिटी अथवा प्रविधिको प्रयोग गरी बच्चा जन्माउनुपर्ने अवस्था हुन्छ । आजभोलि नेपाली महिला र पुरुषमा बाँझोपनको समस्या बढ्न थालेको छ ।
मैले बााझोपन क्षेत्रमा काम सुरु गरेको १५ वर्ष बढी भयो । आजभन्दा १५ वर्ष पहिले र अहिलेको अवस्थालाई मात्र हेर्ने हो भने पनि बाँझोपनको समस्या बढ्दै गएको पाइन्छ । यस्तै संक्रमण दर पनि बढेको छ । अहिले ओपीडिमा आउने बिरामीहरू संक्रमण र बाँझोपनको समस्या लिएर आउँछन् ।
यसमा दुइटा कारण हुन सक्छ । पहिलो कुरा हामी पहिले डाइनोज धेरै गर्दैनौँ , अर्काे धेरै बिरामीहरूमा जनचेतना छैन । जीवनशैली (लायफस्टायल) परिवर्तनले पनि समस्या आउँछ, अर्को वातावरण, खानपानको कारण पनि बाँझोपन बढेको छ । महिलामा मात्र हैन पछिल्लो १० वर्षमा बाझोपन हुने पुरुषको संख्यामा पनि बढेको छ । महिलामा बाँझोपन हुनुको कारण सबभन्दा बढ्दो उमेरले भइरहेको मैले पाएको छु।
पहिले पहिले केटी मान्छेले कम उमेरमै बिहे गर्थे । मान्छेको जीवनशैली फरक थियो , अभिमुखिकरण पनि कम थियो । अहिले समय परिवर्तन भएकाे छ । मैले उमेर नपुग्दै बिहे गर्नुपर्छ भनेको होइन । तर, धेरै उमेरपछि बिहे गर्नु पनि राम्रो मानिँदैन । अहिले मान्छेलाई पहिले पढाइ त्यसपछि जागिर र पछिमात्र विवाह अर्थात विवाहलाई तेस्रो प्राथमिकतामा राखेका छन् । विवाह गरिहाले पनि बच्चा ढिला जन्माउने निर्णयले महिलाको हकमा अण्डा घटाउँदै जान्छ ।
महिलाको उमेर ३० भन्दा उकालो लागेपछि अण्डाको मात्रा तीव्र रूपमा घट्दै जान्छ र जसका कारण बाँझोपन हुन्छ । त्यसैगरी संक्रमणका कारण पनि यो समस्या आउँछ । समयमै अथवा ३० वर्षभन्दा कम उमेरमा विवाह भयो र बच्चा जन्मियो भने संक्रमण हुन पाउँदैन । अहिले ढिलो विवाह गरे पनि कतिपय सेक्सुअल्लीरूपमा एक्टिभ भइरहेका हुन्छन् र संक्रमण भएको हुन्छ ।
सम्पर्क गरिरहने तर धेरै लामो समयसम्म बच्चा नपाउने हँदा संक्रमण पाठेघरमा गएर ट्युब्सलाई ब्लक गर्छ र इन्फर्टलिटी हुन्छ । त्यस्तै आजभोलि जाँड, रक्सी, चुरोट सेवनले गर्दा पनि यो समस्या भएको हुन्छ भने अर्का कारण तनाव पनि हाे । त्यस्तै मान्छेको खानपान जीवनशैलीले पनि यसमा धेरै भूमिका खेल्छ ।
५८ वर्षको महिला पनि आमा बन्छन्
अहिले मसँग उपचारका लागि आउने महिलाहरू बढ्दो उमेरले बच्चा जन्माउन नसकेकाहरू बढी छन् । ४० देखि ४५ वर्ष उमेरका बढी महिलाहरू आउँछन् । तर, उमेर बढ्दैमा बच्चा जन्माउन मिल्दैन भन्ने होइन । म ४० पुगिसके अब मेरो बच्चा हुँदैन, बच्चा भए पनि त्यति स्वस्थ हुँदैन भन्ने गुनासो धेरैको सुनिन्छ ।
तर, त्यस्तो हुँदैन । हामीले कुनै पनि प्रेगनेन्सी प्लान गर्दा स्किृनिङ गर्छौँ त्यसपछि बच्चा पेटमा आइसकेपछि पनि केही जाँच गर्छौँ । यसो गर्दा बच्चा स्वस्थ भएको थाहा हुन्छ । ४० वर्ष पुगे पनि बच्चा जन्माउन सकिन्छ । मैले आफै ५७–५८ वर्ष पुगेका महिलाहरूको पनि बच्चा जन्माइदिन गरेको प्रयास सफल भएको छ । जसको महिनावारी सुकिसकेको थियो । यस्तो अवस्थामा जवान महिलाको अण्डा लिएर उनको श्रीमानको स्पोम लिएर गर्भवती बनाइदिन्छौँ ।
तर, उमेर बढी हुनेबित्तिकै डाउनसिन्ड्राेम हुने जोखिम बढी हुन्छ । यस्तोमा पनि हामीले पटक पटक जाँच गरेर जोखिम कम गर्न सक्छौँ । ३०– ३५ वर्षको हुने बित्तिकै डाउनसिन्ड्रोमका लागि स्किृनिङ गर्छाैं यसको मतलब जुनसुकै उमेरको महिलाले बच्चा जन्माउँदा ठिक हुन्छ तर सबैकुरा ट्याकलक गर्न सकिन्छ । कुनै पनि महिला अथवा दम्पती अब बच्चा जन्माउन सकिदैन भनेर त्यत्तिकै बस्नुपर्ने अवस्था छैन । तर, यसका लागि स्वस्थ हुुनुपर्यो ।
महिनावारी रोकिएका पनि आमा बन्न सक्छन्
महिनावारी रोकिएका महिलाहरूलाई पनि प्रविधिको सहयोगले आमा बनाउन सकिन्छ । यसका लागि सबैभन्दा पहिले महिलालाई हर्मोन थेरापी दिएर महिनावारी गराउनुपर्छ । जवान केटीको अण्डा लिएर श्रीमानको स्पोम लिएर बच्चा बनाएर पाठेघरमा हाल्नुपर्छ । पुरुषको हकमा महिलाको जस्तै अण्डा घट्ने समस्या ३०–३५ वर्षको उमेरमै हुँदैन । महिलाको ३० वर्षपछि अण्डाको मात्रा सवाट्ट घट्छ भने पुरुषको ४०–४५ पछि कम हुँदै जान्छ । यसमा पनि कुनै समस्या देखियो भने डोनरको स्पोम प्रयोग गर्न पनि सकिन्छ ।
१५ वर्षमा यस्ता धेरै दम्पतीहरूलाई सेवा दिएर हजारौं बच्चा जन्माउन सफल पनि भएको छु । यस्ता धेरै दम्पती बच्चा लिएर फ्लोअपमा आउँछन् । १५–२० वर्ष हुँदा पनि बच्चा नबसेकाहरू लामो समयपछि हामी कहाँ आएर बच्चा जन्माउँछन्, उनीहरूमा खुसी कति हुन्छ हामीले भन्न सकिँदैन । उनीहरू खुसी भएको देख्दा खुसी लाग्छ । पहिलेभन्दा अहिले धेरै कुरामा परिवर्तन हुँदै आएको छ ।
१५ वर्षअघि आइभिएफ सुरु गर्दा धेरै फरक थियो । अहिले मेसिनरी राम्रो भइसक्यो । सक्सेस रेट पनि राम्रो भइरहेको छ । प्रोटोकल पनि राम्रो छ । याे वर्षैपिच्छे राम्रो हुँदै जान्छ । आजभोलि मान्छे खुल्न थालेका छन् । सबैजना सुरक्षित छन् । अण्डा निकालेर फ्रिज गर्नेहरू पनि आउँछन् । प्रविधिले सबैकुरा सम्भव बनाएको छ । तर, म उमेर ढल्कन नदिनुहोस् भन्छु । समयमै बच्चाको योजना बनाउनुहोस र बच्चा जन्माउने योजना बनाउनुअघि चेकजाँच अनिवार्य गराउनुहोस् । यति गर्नुभयो भने तपाईंको खुसी दुःखमा परिणत हुन सक्दैन ।
(स्त्री रोग एवं टेस्ट्युब बेबी विशेषज्ञ डा.नुतन शर्मासँग गरिएकाे कुराकानीका आधारमा)