काठमाडौं । ह्वावे नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन गरेको ‘सिड्स फर द फ्युचर’ कार्यक्रमका विजेता घोषणा गरेको छ । सूचना प्रविधिका प्रतिभाहरूको विकाससँगै अन्तरसामाजिक सम्बन्धका निम्ति कार्यक्रमको आयोजना गरिएको ह्वावेले जनाएको छ ।
कम्पनीका अनुसार ह्वावेको ‘सिड्स फर द फ्युचर’ कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको प्रतियोगितामा आवेदन दिएका ३०० विद्यार्थीमध्येबाट ३० जनालाई छनोट गरिएको थियो । तीमध्ये निर्णायकमण्डलले गत असार १७ मा गरेको अन्तिम अन्तर्वार्ताको सूचीमा परेका विद्यार्थीबाट विजेता चयन भएका छन् ।
कार्यक्रमको शीर्ष स्थानमा रहन सफल विद्यार्थीमा आशिष कार्की, एनजिलिना घिमिरे, प्रियाँशु शर्मा, साधना पन्थी, समिप अर्याल र समृद्धि कार्की छन् । उनीहरूले अब क्षेत्रीय प्रतियोगितामा भाग लिने ह्वावेले जनाएको छ ।
आईसीटी सोलुसन प्रदायक ह्वावे नेपालले २५ वर्षदेखि नेपालमा कनेक्टिभिटी विस्तार गर्दै आएको छ । डिजिटल प्रविधिमा विश्वव्यापीरूपमा युवा प्रतिभाहरूको प्रवर्धनका लागि समर्पित ‘सिड्स फर द फ्युचर’ हुवावेको प्रमुख कार्यक्रम हो ।
कार्यक्रमको स्वतन्त्र निर्णायक मण्डलमा इन्स्टिच्युट अफ इञ्जिनियरिङका डिन प्रा. डा शशिधर राम जोशी, शिक्षा मन्त्रालयका विज्ञान तथा प्रविधि तर्फका सहसचिव इन्दुविक्रम जोशी, सुचना प्रविधिमा महिलाकी अध्यक्ष गुणकेशरी प्रधान, आइएफएनका सह संस्थापक हेमपाल श्रेष्ठ, युनेस्को नेपालकी डिजिटल मिडिया विज्ञ आकृति खरेल, ह्वावे नेपाल कार्यालयका डेटा सेन्टर विजनेस लिडर रोहित चन्द्र शाह रहेका थिए ।