काठमाडौं, १४ माघ । शिखर इन्स्योरेन्स कम्पनीले १३ लाख ६२ हजार ७८१ कित्ता थप साधारण सेयर (एफपीओ) निष्काशन गर्ने निर्णय गरेको छ । विहीबार बसेको बैंक सञ्चालक समितिले प्रतिकित्ता १०० रुपैयाँ अंकित सेयरमा १५२० रुपैयाँ प्रिमियम थप गरि प्रतिकित्ता १६२० रुपैयाँमा निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीको १२ औं साधारणसभाले गरेको निर्णय अनुसार कम्पनीमा सर्बसाधारणको सेयर हिस्सा ४० प्रतिशत बनाउनको लागि सर्वसाधारणको लागि थप सेयर निष्काशन गर्न लागिएको जनाएको छ ।
कम्पनीको प्रस्ताव धितोपत्र बोर्डले स्वीकृत गरेपछि मात्र नयाँ सेयर निष्काशन हुन्छ । धितोपत्र बोर्डबाट निष्काशनको स्वीकृति प्रदान गर्ने क्रममा निष्काशन मूल्य फरक पर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले प्रस्ताव गरेअनुसार धितोपत्र बोर्डले स्वीकृत गरेमा यो अहिलेसम्मको सबैभन्दा बढी प्रिमियम मूल्यको सेयर हुनेछ । पछिल्लो समय यस कम्पनीको सेयर प्रतिकित्ता १९५० रुपैयाँमा कारोबार भईरहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ८१ करोड ५८ लाख रुपैयाँ छ । एफपीओ जारीपछि कम्पनीको चुक्ता पुँजी ९५ करोड २१ लाख रुपैयाँ हुनेछ । एफपीओबाट कम्पनीले २ अर्ब ७ करोड १४ लाख रुपैयाँ प्रिमियम संकलन गर्छ । शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन तर्फको लिडर कम्पनी हो ।
