काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा बाढीपहिरोले ठूलो जनधनको क्षति भएकाे छ । भाग्यले बाँचेकाहरू कोही स्कुलमा र कोही आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् ।
केही दिन अगाडि परेको अविरल वर्षाले कञ्चानपुरको दोधारा चाँदनी, बाँकेको राप्ती सोनारी र डुडुवा लगायत अन्य थुप्रै ठाउँका बस्ती डुबानमा परे । स्थानीयकाे भएको अन्नपात, लुगाकपडा सबै बाढीमा बगे ।
उनीहरू अहिले एकसरो लुगामा अरुको घरमा आश्रय लिरहेका छन् । यस्तो अवस्थामा शारीरिक मात्र हैन नागरिक मानिसिक रूपमा विक्षिप्त बनेका छन् । नागरिक बाढीबाट विक्षिप्त बनिरहेको अवस्थामा चिकित्सिकहरू भने स्वास्थ्यको ख्याल गर्न आग्रह गर्छन । यस्तो बेलामा पानीजन्य संक्रमणको उच्च जोखिम हुने उनीहरूको भनाइ छ ।
मनसुनजन्य विपतको बेला पानी प्रदुषित हुने भएकाले विभिन्न किसमका रोगहरू लाग्न सक्छन् । चिकित्सकका अनुसार यस्तो बेला झाडापखाला, हैजा जस्ता स्वास्थ्य समस्या देखिन सक्छन् ।
यस्तो बेलामा सर्पदंशको समस्या,डेंगी मलेरियाको समस्या पनि देखिने सम्भावना हुन्छ । यस्तै प्रदुषण पानीका कारण देखिने कमलपित्त अर्थात भाइरल हेपटाइटिस ए र ईको समस्या पनि देखिन्छ ।
बाढीपहिरो आएको बेला बाढीले खानेपानीको मुहान बगाइदिने र त्यही पानीमा खोलाको दुषित पानी मिसिने गर्छ । यस्तो हुँदा हैजा, झाडाबान्ता, टाइफाइड जण्डिस, हेपटाइटिस जस्ता रोगहरू फैलने संक्रामक रोग विशेषज्ञहरू बताउँछन् । पानी जम्दा लामखुट्टेको सख्या पनि बढ्छ यस्तो हुँदा मलेरिया, जापनिजइन्सेफलाइटिस, डेंगीको संक्रमण पनि बढ्छ ।
झाडापखाला
झाडापखाला खानपान र फोहोरबाट लाग्ने रोग हो । मान्छेले आँखाले देख्न नसक्ने सुक्ष्म जीवाणुबाट यो रोग लाग्ने गर्छ । बासी, सडेगलेको, झिागाँ भन्केको खानेकुरा खाँदा, हरियो सागपात, फलुफल नधोएर खायो अथवा दिसामा हुने रोगको जीवाणु मान्छेको मुखबाट पसेमा यो रोग लाग्छ ।
यो सबै उमेरका मानिसलाई लाग्ने गर्छ । कुनै पनि व्यक्तिलाई तीन वा त्यो भन्दा बढी पातालो दिसा हुन थाल्यो भने झाडपखाला लागेको हुनसक्ने अनुमान गर्न सकिन्छ । यो रोग धेरैजसो वर्षायाममा देखिने गर्छ ।
यो रोग लाग्दा पाताले दिसा बग्ने, बान्ता हुने, धेरै तिर्खा लाग्ने, जिब्रो सुक्ने, आँखा गड्ने, लगायतका समस्याहरू देखापर्छ यस्तो अवस्थामा ध्यान दिइएन भने मृत्युसमेत हुन सक्छ । वर्षामा प्रदुषित पानीबाट लाग्ने यो एक रोग हो ।
हैजा
हैजा भन्नाले भिब्रियो कलेरा नामक ब्याक्टोरियाको कारण लाग्ने एक संक्रामक रोग हो । केही दिनदेखि निरन्तर पातलो दिसा लाग्नु यसको प्रमुख कारण हो ।
यो सबैभन्दा चाँडो सर्ने सरुवा रोग पनि हो । यसको मुख्य स्रोत भनेको दूषित पानी हो । हैजा र झाडापखालाको लक्षण पनि एकनाश हुन्छ । यो समयमा हैजाको जोखिम उच्च रहने भएकाले यस्तो बेलामा पानी पिउँदा होसियार हुनुपर्छ भने व्यक्तिगत र घरवरिपरिको सरसफाइमा पनि ध्यान दिनुपर्छ ।
आउँ
दूषित पानीका कारण लाग्ने अर्को रोग आउँ पनि हो । यसलाई रगतमासी पनि भन्ने गरिन्छ । वर्षाको समयमा यो रोग लाग्न सक्ने जोखिम धेरै हुन्छ । आउँ शिगेला, साल्मोनेला, कम्पाइलोब्याक्टर, ई–कोली जस्ता ब्याक्टोरियाका कारण लाग्ने गर्छ ।
सरसफाइको कमी, राम्रोसँग नपाइएका प्रदूषित खानेकुरा, दूषित पानी, स्विमिङ गर्दा पानी पिएमा, बासी, सडेगलेका तथा झिंगा भन्किएका खाना सेवन गर्दा संक्रमण हुन्छ ।
कमलपित्त
कमलपित्तलाई बोलीचालीको भाषमा जन्डिस पनि भन्ने गरिन्छ । यो सिजनमा कमलपित्त पनि हुने गर्छ । जन्डिस आफैमा रोग हैन । अरु कुनै रोगका कारण यो हुन्छ ।
रगतमा बिलिरुविनको मात्रा बढी भएर आँखा, छाला र मुखभित्र पहिलो देखिन्छ । प्रायः व्यक्तिमा हेपटाइटिसका कारण जन्डिस भएको हुन्छ । हेपाटाइटिस ए, बी, सी, डी र ईमध्ये हेपाटाइटिस ए र ई प्रदूषित खाना र दूषित पानीले सर्छ भने बी, सी र डी रगतको संक्रमणबाट सर्छ । हामीले खानपान र सरसफाइमा ध्यान दिएन भने यस्तो रोगको जोखिम बढी हुन्छ ।
झाडापखाला, आउँ, हैजा लगायतका रोग लाग्ने सबैभन्दा खतरनाक समय वर्षालाई मानिन्छ । यी सबै रोग दूषित पानीकै कारण लाग्ने गर्छन् । देशभरि वर्षा भइरहँदा खानेपानीको मुहानमा ढल, बाढी पसेर फोहोर पानीको मिसावट हुन्छ ।
त्यो पानी हामीले नउमालिकन त्यत्तिकै पिउन थाल्याैं भने यस्ता रोगको जोखिम हुन्छ । यस्तो बेला मेलेरिया डेंगी जस्ता लामखुट्टेको टाेकाइबाट हुने रोगहरूको पनि जोखिम हुन्छ । लामखुट्टे पानी जम्ने ठाउँमा धेरै हुन्छ ।
वर्षाको बेला जाताततै पानी जमेको हुँदा लामखुट्टेको सख्या पनि बढ्ने र यसले मानिसलाई टोक्दा संक्रमण बढ्ने चिकित्सकहरू बताउँछन् । अहिले देशका ७३ जिल्लामा डेंगी फैलिसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जिल्लामा जुम्ला, हुम्ला, मुस्ताङ र डोल्पा बाहेक अन्य ७३ जिल्लामा १ हजार ४ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.यदुचन्द्र घिमिरे यो दर अबका केही दिनमा अझै बढ्ने बताउँछन् । उनले कतिपय व्यक्तिमा लक्षण देखा नपर्दा अस्पतालमा नआएको हुने भन्दै संख्या अझै बढी हुने सक्ने बताए ।
‘यो संख्या अब फेरि बढ्छ,’ उनी भन्छन्, ‘अहिले ठाउँठाउँमा बाढी पहिरो आएको छ । जताततै लेदो भएको ठाउँमा लामखुट्टे बढी हुन्छ यस्तो बेलामा मान्छ घर छोडेर खुल्ला चोरमा बस्दा लामखुट्टेको टोकाइ पनि बढ्छ र संक्रमण दर बढ्छ ।’
के मा ध्यान दिने ?
वर्षामा लाग्ने पानीजन्य संक्रमणबाट बच्न सबैभन्दा पहिले खानपान र सरसफाइमा ध्यान दिनुपर्छ । अझ बाढीबाट पीडित बनेकाहरूले बढी ध्यान दिनुपर्छ । यस्तो बेला सबैजना एकै ठाउँमा बस्दा शौचसमेत खुल्ला रूपमा गर्नुपर्दा त्यसले पनि झन जोखिम निम्त्याउँछन् ।
संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन यस्तो बेला अरुको घर अथवा सस्थाको आश्रयमा बसेकाहरूलाई झन गाह्रो हुने बताउँछन् । उनी अरु केही गर्न नसकेपनि पानी उमालेर र सरसफाइमा मात्र भए पनि ध्यान दिनुपर्ने बताउँछन् ।
यस्तो बेला ध्यान दिन सकिएन भने महामारीको यसले महामारीको रूप लिन सक्ने अवस्था आउने उनको भनाइ छ । यस्तो बेला एकै ठाउँमा धेरै मान्छे बस्ने र दूषित खानेकुरा , पानी सबैले खाने भएकाले महामारी नै फैलन सक्ने हुन्छ डा. पुन यस्तो बेला कुनै व्यक्तिलाई ज्वरो आयो वा पखाला लाग्यो भने तुरुन्त स्वास्थ्य संस्थामा लिनुपर्ने सल्लाह दिन्छन् ।
स्थानीय सरकारले भूमिका खेल्नुपर्छ
नागरिक विपत्ति परेको बेला उनीहरूको ज्यान जोगाउने मूख्य जिम्मा स्थानीय सरकारको हो । अहिले बाढी पहिरोले घरवार गुमाएकाहरू पनि स्थानीय सरकारको शरणमा छन् ।
यस्तो बेला आफना नागरिकको जीउधनको सुरक्षा स्थानीय सरकार र जनप्रतिनिधिले गर्नुपर्ने सरोकारवालाहरू बताउँछन् । संक्रामक रोग विशेषज्ञ डा. विकास गौचन यसका लागि स्थानीय सरकारले आफ्नो मातहतमा रहेका स्वास्थ्यकर्मीलाई पनि परिचालन गर्नुपर्ने बताउँछन् ।
हरेक स्थानीय तहमा स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मी भएकाले यस्ता कुनैपनि लक्षण देखिनेबित्तिकै तुरुन्त स्वास्थ्य संस्था जान पनि गौचनले आग्रह गरेका छन् ।
चिकित्सक संघको आग्रह
विपदको बेला नागरिकको स्वास्थ्य सबैभन्दा जोखिममा रहने भन्दै नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
विपदका घटना बढ्दै गएकाले बन्दोबस्तीका सामग्रीसहित तयार रहन आग्रह गरेको हो । संघले एक विज्ञप्ति जारी गर्दै बाढीपहिरोका क्रममा सङ्क्रामक रोग फैलनसक्ने जोखिमलाई लिएर यस्तो आग्रह गरेको हो ।
संघले आफ्नो मातहतका शाखाहरूलाई समेत आवश्यक समन्वय र सहयोगका निम्ति तयार रहन आह्वान गरेको छ । ‘पूर्वतयारीका लागि आवश्यक औषधी, जनशक्ति, उपचार सामग्रीलगायत बन्दोबस्तीका सामग्रीसहित तयार रहन मन्त्रालय र सम्पूर्ण निकायलाई संघ आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।