काठमाडौं, १३ माघ । विश्वमा धेरै देशमा एउटै कम्पनीले जीडीपीमा १० प्रतिशतभन्दा बढी योगदान गरेका पाइन्छ । तर नेपालमा त्यस्तो अवस्था छैन । करिब २२ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको जीडीपी भएको नेपालमा १ अर्ब भन्दा बढी कारोबार गर्ने कम्पनी जम्मा १२३ वटा छन् । सबैभन्दा बढी कारोबार गर्ने कम्पनीको व्यापार ५७ अर्ब रुपैयाँ बराबर छ ।

ठूला करदाता कार्यालयका प्रवक्ता शालिकराम आचार्यका अनुसार वार्षिक १० अर्ब रुपैयाँ भन्दा बढी कारोबार गर्ने कम्पनी जम्मा चार वटा मात्रै छन्, एनसेल, नेपाल टेलिकम, सूर्य नेपाल र सिप्रदी ट्रेडिङ कम्पनी ।
गत आर्थिक वर्ष २०७२/७३ मा एनसेलले ५७ अर्ब रुपैयाँको कारोबार गर्यो । कारोबार, नाफा र सरकारलाई कर तिर्ने हिसावले यो नेपालको सबैभन्दा ठूलो कम्पनी हो । नेपाल टेलिकमले गत वर्ष ४२ अर्ब रुपैंयाँको कारोबार गरेको छ । यी दुबै टेलिकम्यूनिकेशन अर्थात सेवा प्रदाकय कम्पनी हुन् । एनसेल बहुराष्ट्रिय कम्पनी हो, नेपाल टेलिकममा करिव ९६ प्रतिशत सेयर नेपाल सरकारको छ ।
आर्थिक बर्ष २०७२/७३ मा सूर्य नेपालले २२ अर्ब रुपैयाँको कारोबार गरेको छ सूर्य नेपाल बहुराष्ट्रिय कम्पनी हो । उत्पादन मुलक कम्पनी मध्ये यो सबैभन्दा बढी कारोबार गर्ने कम्पनी हो । उद्योगतर्फ यो कम्पनीले सबैभन्दा बढी कर तिरेर राज्यबाट पनि सम्मान पाउँदै आएको छ ।
बढी कारोबार गर्ने चौथो कम्पनी ठूलो कम्पनीमा सिप्रदी ट्रेडिङ कम्पनी हो । यो कम्पनीले गत आर्थिक वर्षमा २१ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ । सिप्रदी टे«डिङ टाटा मोटर्सका उत्पादनहरुको नेपाली बिक्रेता कम्पनी हो । व्यापारतर्फ सबैभन्दा ठूलो कम्पनी पनि यहि हो । सबैभन्दा बढी मूल्य अभिवृृद्धि कर तिरेर यो कम्पनीले सरकारबाट पटक पटक सम्मान पाउँदै आएको छ । यस कम्पनीका मालिक सिद्धार्थ शमशेर जवराले सबैभन्दा बढी आयकर तिरेर तीन पटकसम्म उत्कृष्ट करदाता अवार्ड पाएका छन् ।
बार्षिक २० अर्ब रुपैयाँ भन्दा बढी कारोबार गर्ने कम्पनी चार वटा देखिएका छन् भने १० देखि २० अर्ब रुपैयाँ कारोबार गर्ने कम्पनी शुन्य छ । गत आर्थिक बर्षमा ९ अर्ब ९६ करोडको कारोबार गरेको देखिन्छ । यो पनि बहुराष्ट्रिय उत्पादन मुलक कम्पनी हो ।
प्रवक्ता आचार्यका अनूसार भाटभटेनी सुपर मार्केट र गोर्खा ब्रुअरी अर्का दुई ठुला कारोबार कम्पनी हुन । भाटभटेनीले गत वर्ष ७ अर्ब ५२ करोड तथा गोर्खा ब्रुअरीले ७ अर्बको कारोबार गरेका थिए ।
सवारी साधान बिक्रेता तर्फलक्ष्मी इन्टरकन्टिनेन्टल दोस्रो स्थानमा छ । हुण्डाई मोटर्सको नेपाली बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले गत आर्थिक वर्षमा ६ अर्ब ६२ करोड रुपैयाँको व्यापार गरेको छ ।
लक्ष्मी हुण्डाईपछि ठूलो कारोबार गर्ने कम्पनीमा जगदम्बा स्टिल रहेको छ जसले गत आर्थिक वर्षमा ४ अर्ब २७ करोड सामान बिक्री गरेको छ । टोयोटा मोटर्सका सवारी साधन बेच्ने युनाइटेड ट्रेडर्स सिण्डीकेट प्रालिले गत वर्ष ४ अर्ब रुपैयाँको कारोबार गरेको छ ।
पञ्चकन्या स्टिलले पनि ३ अर्ब २० करोडको बजार ओगट्न सफल भएको छ कर छलिमा विवादास्पद बन्दै आएको कम्पनी एसियन डिस्टीलरीले २ अर्ब ६४ करोड मूल्य बराबरका रक्सी बेचेको छ ।
ठूला करदाता कार्यालयका प्रवक्ता आचार्यका अनुसार एक अर्ब भन्दा बढि कारोबार गर्ने कम्पनीहरुमा कान्तिपुर पब्लिकेशन पनि परेको छ । कान्तिपुर पब्लिकेशनले गत आवमा एक अर्ब २५ करोड रुपैंयाँको कारोबार गरेको छ । एक अर्ब भन्दा बढि कारोबार गर्ने कम्पनीहरु १२३ वटा रहेकाे अाचर्यले बताए ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका कम्पनीको संख्या १ लाख ६० हजार नाघेको छ । ठूलो बारोबार गर्ने कम्पनीहरुको संख्या भने कम निकै कम देखिएको छ । कम्पनी ऐन अनुसार दर्ता नभएका तर व्यवसायिक रुपका कारोबार गर्दै आएको सार्वजनिक संस्थानहरु नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण लगायत केही सरकारी निकायको कारोबार भने १० अर्ब भन्दा बढी छ ।