काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्ताैला प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन दबाब दिएका छन् ।
संसदमा बहुमत गुमाएकाले पदमा बसिरहन अनुचित हुने भन्दै उनले नयाँ सरकार गठनका लागि तत्काल पदबाट राजीनामा दिन प्रधानमन्त्री दाहाललाई पुनः आग्रह गरेका हुन् । कांग्रेस र एमालेबीच नयाँ सत्ता समिकरणका लागि सहमती भईसकेको छ । आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले दुई दलबीचको राष्ट्रिय सहमतीको सरकार बनाउने काममा सहयोग गर्न पनि प्रधानमन्त्री दाहालले अहिलेनै राजीनामा दिनुपर्ने बताए । यता प्रधानमन्त्री दाहालले भने आगामी असार २८ गते संसदमा विश्वासको मत लिने तयारी गरेका छन् ।
एमाले प्रमुख सचेतक बर्तौलाले भने, ‘वर्तमान सरकारले सामान्य होइन बहुमत गुमाएको छ । त्यसकारण नेपाली काँग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतीको सरकार बनाउने निर्णय भएको छ । राष्ट्रिय सरकार निर्माणको यो अभियानलाई सहयोग गर्न मार्ग प्रशस्तका लागि म सम्माननीय प्रधानमन्त्रीज्युलाई हार्दिक आग्रह गर्न चाहन्छु ।’
एमाले र कांग्रेस दुवै दलले संस्थागत रुपमा नै तत्काल राजीनामा दिएर नयाँ सरकार गठन प्रक्रियाका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई सचेत गराउँदै आएका छन् ।