देशका महत्वपूर्ण मुद्दा सम्बोधन गर्न कांग्रेस-एमालेको नयाँ सरकार गठन हुन्छ : प्रकाशशरण महत

<p>काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनसहित देशका महत्वपूर्ण मुद्दाको सम्बोधन गर्नका लागि कांग्रेस र नेकपा एमालेको सहमतिमा राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुने बताएको छ । मंगलबार कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । उनले संविधानसहितका मुद्दाहरुलाई केन्द्रित गरेर [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनसहित देशका महत्वपूर्ण मुद्दाको सम्बोधन गर्नका लागि कांग्रेस र नेकपा एमालेको सहमतिमा राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुने बताएको छ ।

मंगलबार कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । उनले संविधानसहितका मुद्दाहरुलाई केन्द्रित गरेर सरकार निर्माणमा सहभागी भएको बताए । आम नागरिकका समस्यालाई केन्द्रमा राखेर नेकपा एमालेसँग सरकार बनाउने सहमति भएको जानकारी दिए ।

उनले अस्थिरताका कारण आर्थिक स्थिति सुध्रिन अफ्ठ्यारो भएको, सुशासन सुनिश्चित गर्न अफ्ठ्यारो भएकाले पनि दुई ठूला दलहरुको सरकार आवश्यक रहेको बताए । दुई दलको बीचमा सरकार निर्माण गर्न अघि बढ्ने र आवश्यकताअनुसार अरु दललाई पनि समेट्ने गरी राष्ट्रिय सहमतिको सरकारको नाम दिइएको बताए । सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष ओली र कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले आलोपालो निर्वाचनसम्म नेतृत्व गर्ने आधारमा मोटामोटी समझदारी भएको बताए । समझदारीलाई अन्तिम रुप दिन पार्टीको केन्द्रिय कार्यसम्पादन समितिले निर्णय गर्ने जानकारी दिए ।

‘संविधानमा आवश्यक संशोधनका लागि पनि राष्ट्रिय सहमति निर्माण गर्ने र त्यो प्रक्रियालाई अगाडि बढाउने र जुन आर्थिक स्थिति छ, विकास निर्माणमा देखिएको अन्योलको स्थिति छ, त्यसलाई अन्त्य गर्न स्थिर राजनीति, संविधानलाई सामुहिक रुपमा संशोधन गर्ने र सहमति जुटाउने हिसावले अघि बढ्न दुई दलको बीचमा सरकार निर्माण गर्न अघि बढ्ने र आवश्यकताअनुसार अरु दललाई पनि समेट्ने गरी राष्ट्रिय सहमतिको सरकारको नाम दिइएको छ र नेतृत्व ओलीजी र हाम्रो पार्टी सभापति शेरबहादुर देउवाले आलोपालो निर्वाचनसम्म नेतृत्व गर्ने भन्ने आधारमा मोटामोटी समझदारी भएको छ ।’

उनले राष्ट्रपति निवासमा सोमवार राति सभापति देउवा र अध्यक्ष ओली पुगेको भन्नेकुरामा कुनै सत्यता नरहेको र संविधानका सवालमा आयोग बन्ने र ड्राफ्ट नै भइसक्यो भन्नेमा कुनै सत्यता नरहेको जिकिर गरे ।

Share News