म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ ।
स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो । ४३ लाख ७७ हजार १ सय ५७ रुपैयाँको लगानीमा निर्माण भएको खेलमैदानका लागि ३५ लाख रुपैयाँभन्दा बढी प्रवासी र स्थानीयवासीले चन्दा सहयोग गरेका क्लबका अध्यक्ष केशव पाइजाले बताए।
‘खेलमैदानमा भलिबल, बास्केटबल र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिन्छ,’ उनले भने, ‘खेलाडीहरूलाई अभ्यास गर्न र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ ।’
स्थानीयवासीले उपलब्ध गराएको पाखोबारी सम्याएर ढलानसहितको खेलमैदान निर्माण गरिएको हो । ४० मिटर लम्बाइ र १८ मिटर चौडाइमा ढलान गरी फाइबर बोर्ड राखिएको खेलमैदानको कुनातर्फ दर्शक बसेर खेल अवलोकन गर्न मिल्ने प्यारापिट बनाइएको छ ।
स्थानीय रामकुमारी पाइजा, धनबहादुर रोका, जसे पुन, कुल तुलाचन, हेमलाल शेरपुञ्जा र गोरे पुनले निःशुल्क जग्गा उपलब्ध गराएका थिए ।
हाल हङकङमा कार्यरत पाखापानीका भीम पुनको नेतृत्वमा १८ लाख ६ हजार १ सय ५३, बेलायतमा रहेका क्लबका संस्थापक सचिव असुन पाइजा र कोषाध्यक्ष रमेश पाइजाको पहलमा ६ लाख ९१ हजार, अष्टे«लियामा रहेका पूर्वसहकोषाध्यक्ष डेक पाइजाको अगुवाइमा २ लाख १५ हजार र सिङ्गापुरबाट १ लाख रुपैयाँ सहयोग प्राप्त भएको क्लबले जनाएको छ ।
रघुगंगा गाउँपालिकाले चालु आव २०८०र८१ मा ७ लाख ४७ हजार अनुदान उपलब्ध गराएको योजनाका लागि देशभित्रै र विश्वका अन्य देशमा रहेका पाखापानीवासीहरूले ८ लाख १८ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन् ।
पाखापानीका १ सय ५२ घरधुरीले न्यूनतम दुई दिनका दरले श्रमदान गरेका छन् । थिरवाङ टोलवासीले गिट्टी र रु १२ हजार नगद सहयोग गरेका थिए । कमनाथबाट ११ हजार र पाखापानी गाउँबाट ९ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो ।
स्वर्गीय टेकबहादुर र तीर्थकुमारी पुनको स्मृतिमा उनका छोराहरू खिम पुन र भीम पुनले ३ लाख ६ हजार रुपैयाँ खर्च गरेर पाखापानीको मूल सडकबाट खेलमैदान जोड्ने सडक निर्माण गरेका छन् । खेलमैदानमा घेराबार, नाली र स्टेजसहितको भवन निर्माण गर्ने लक्ष्य राखिएको अध्यक्ष पाइजाले बताए ।