काठमाडौं, १२ माघ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले एक करोड नेटवर्थ भएका ब्रोकर कम्पनीलाई शाखा विस्तार गर्न दिन सकिने निष्कर्ष निकालेको छ ।
नेप्सेले गठन गरेको अध्ययन समितिले २०७४ साल असार मसान्तसम्ममा २ करोड चुक्ता पुँजी पुर्याउनै पर्ने व्यवस्थासहित एक करोड नेटवर्थ भएका ब्रोकरलाई शाखा खोल्ने अनुमति दिन सकिने निष्कर्ष पेश गरेको हो ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार शेयर बजारलाई उपत्यका बाहिर विस्तार गर्ने उदेश्यसहित ब्रोकर कम्पनीको शाखा विस्तारको अभियान अघि बढेको हो ।
नेप्सेले पुँजी, प्रबिधी, पुर्वाधार, जोखिम व्यवस्थापन, जनशक्ति व्यवस्थापन लगायतका सर्तहरु पुरा गर्ने ब्रोकरहलाई शाखा विस्तार गर्ने अनुमति दिन सकिने प्रस्ताव अघि सारेको हो ।
नेप्सेले आफ्नो कारोबार प्रणाली तथा सिडिएस एन्ड क्लियरिङको राफसाफ तथा फछ्र्र्यौैट कार्य व्यवस्थापन तथा सो कार्यसँग अन्तर्निहित जोखिम र सोको न्यूनीकरण लगायतका सम्बन्धमा नेप्सेको राय तथा सिफारिश पेश गरेको पराजुलीले जानकारी दिए ।
नेप्से सञ्चालक समितिको माघ ७ गतेको बैठकले ब्रोकर शाखा विस्तार गर्न सकिने प्रस्ताव पारित गर्दै व्यवस्थापनलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो ।
यस्तो छ नेप्सेले प्रस्ताव गरेको मापदण्ड
१. पुँजी:
तत्कालका लागि एक करोड नेटवर्थ भएको धितोपत्र दलाल व्यवसायीलाई मात्र Remote Work Station खोल्न दिने । त्यस्ता कम्पनीहरुले २०७४ असार मसान्तसम्ममा चुक्ता पुँजी २ करोड पु¥याउनु पर्ने ।
२. पूर्वाधार व्यवस्थाः
क) कम्तीमा तीन थान कम्प्युटर र त्यसका लागि Power Backup भएको हुनुपर्ने ।
ख) कार्यालयका लागि कम्तीमा ४०० वर्ग फिटको स्थान हुनुपर्ने ।
ग)कारोबार कक्ष तथा डिस्प्ले कक्ष छुट्टा छुट्टै हुनुपर्ने ।
घ) इमेल, इन्टरनेट, इन्ट्रानेट तथा सिसीटिभी जस्ता पूर्वाधारहरुको व्यवस्था हुनुपर्ने ।
ङ )कार्यालयका लागि आवश्यक पर्ने फर्निचर, फिक्सचर्स तथा कार्यालय सामग्रीहरुको यथोचित व्यवस्था भएको हुनुपर्ने ।
च) कारोबार गर्ने कम्प्यूटरमा कम्तिमा १०० Megabits(Fast Ethernet) Network को प्रयोग तथा OperatingSystemWindows7 वा त्यस भन्दा आधुनिक हुनुपर्ने । Network का लागि Manageable Network Switch प्रयोग गर्नुपर्ने र HUB प्रयोग गर्न नपाउने ।
छ ) Backup Network Link हुनुपर्ने ।
३. जनशक्ति व्यवस्था:
क) वाणिज्य शास्त्र वा अर्थशास्त्रमा कम्तिमा स्नातक वा चाटर्ड एकाउन्टेन्सी उतीर्ण गरेको व्यक्ति Remote Work Station प्रमुख हुनुपर्ने र तीन जना अन्य सहयोगी कर्मचारीको व्यवस्था हुनुपर्ने ।
ख) मुख्य कार्यालयमा शाखाको कार्य हेर्नको लागि कम्पनी सचिव/ब्रान्च कोअर्डिनेटर/कम्पलायन्स अफिसरको व्यवस्थाहुनु पर्ने ।
ग) मुख्य कार्यालयमा सूचना प्रविधि हेर्ने कर्मचारीको व्यवस्था हुनु पर्ने ।
४. जोखिम व्यवस्थापन सम्बन्धी व्यवस्थाः
क) प्रत्येक शाखा कार्यालय वा RWSले काठमाडौंमा उपलब्ध मुख्य कार्यालयले व्यवस्था गरेको Deposit का आधारमा कारोबारको Limit प्राप्त गर्नु पर्ने छ ।
ख) धितोपत्र दलाल व्यवसायीको कारोबारका लागि व्यवस्था भएका सबै नीति नियम शाखा कार्यालय वा RWS लाई समेत लागू हुने छ ।
ग) मुख्य कार्यालयले शाखा कार्यालय वा RWS संचालन र व्यवस्थापन सम्बन्धमा एक कार्यविधि बनाई लागू गर्नुपर्ने र सो कार्यविधि अनिवार्य रुपमा नेप्सेमा उपलब्ध गराउनुपर्ने छ ।