नाम वालेट/रेमिट्यान्स, काम तस्करी : सवा १ खर्ब कारोबारमा यी ६ बैंक प्रयोग

<p>काठमाडौं । रेमिट्यान्सको कारोबार गर्ने भनेर स्थापना भएका डिजिटल वालेट कम्पनी पेवेल नेपाल र सजिलो पे पेमेन्ट सर्भिसले सुन तस्करीको काम गरेको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानको क्रममा पेवेल र सजिलो पेले ठूलो मात्रामा अवैध सुन तस्करी गरेको देखाएको हो । स्थापनादेखि हालसम्म यी दुई कम्पनीले १ खर्ब २३ [&hellip;]</p>

काठमाडौं । रेमिट्यान्सको कारोबार गर्ने भनेर स्थापना भएका डिजिटल वालेट कम्पनी पेवेल नेपाल र सजिलो पे पेमेन्ट सर्भिसले सुन तस्करीको काम गरेको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानको क्रममा पेवेल र सजिलो पेले ठूलो मात्रामा अवैध सुन तस्करी गरेको देखाएको हो ।

स्थापनादेखि हालसम्म यी दुई कम्पनीले १ खर्ब २३ अर्ब बढीको यस्तो कारोबार गरेको सीआईबीको अनुसन्धानबाट खुलेको हो । सीआईबीका अनुसार वि.सं. २०८० वैशाख १२ गते देखि २०८१ जेठ २१ गतेसम्म पेवेलका वालेटमा ८६ अर्ब १७ करोड ११ लाख ५३ हजार २५३ रुपैयाँ बराबरको इ-मनी क्रेडिट भएको देखिएको छ । जसमध्ये सबैभन्दा बढी ६१ अर्ब ५० करोड रुपैयाँको भौचर डिपोजिटबाट भएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकबाट वालेट तथा रेमिट्यान्सको काम गर्ने भनेर लाइसेन्स लिएको भएपनि काम भने सुन तस्करीमा देखिएको हो । सीआईबीको अनुसन्धानले ९० प्रतिशतभन्दा बढी काम सुन तस्करीमा गरेर रेमिट्यान्स तथा वालेट काराेबारको काम १० प्रतिशत पनि नगरेको देखाएकाे हाे ।

वि.सं. २०७८ ज्येष्ठ २ गते देखि २०८१ जेष्ठ २१ गतेसम्म सजिलोपेको वालेटमा कुल ३६ अर्ब ९४ करोड ३५ लाख ७५ हजार २४७ रुपैयाँ बराबरको इ-मनी लोड भएकोमा सबैभन्दा बढी १९ अर्ब ४६ करोड २५ लाख ७३ हजार ७८५ रुपैयाँ बराबरको भौचर अपलोड गरी क्यास इन गरेको देखिएको अनुसन्धानबाट खुलेको छ ।

अवैध सुन कारोबारबाट प्राप्त तथा स्रोत नखुलेको रकम पेवेल नेपाल प्रा.लि. र सजिलोपे पेमेन्ट सर्भिसेजको खातामा निक्षेप, रकमान्तर, स्थानान्तरण, भुक्तानी र फस्वीट भएको (१ अर्ब भन्दा बढीको भौचर र विवरण प्राप्त) भएको सीआईबीका अनुसन्धान अधिकृत सुन्दर तिवारीले बताए ।

उनका अनुसार यी दुई वालेट कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृति बिना एजेन्ट मार्फत नगद कारोबार गरेको देखिएको, पेवेल नेपाल प्रा.लि.मा डिपोजिट गरेको बैंक भौचर नै भुक्तानीको उपकरणको रूपमा प्रयोग गरेको पाइएको र सेटलमेन्ट खातामा रहेको भन्दा अधिक इ–मनी जारी गरेको पाइएको छ ।

यी दुई कम्पनीले बिना रकम मौज्दात इ-मनी जारी गरेको, नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागमा दैनिक र मासिक रूपमा पेस गर्नुपर्ने विवरणमा गलत या पेस तथा विवरण लुकाएको पाइएको पनि उनले जानकारी दिए ।

अनुसन्धानमा सेटलमेन्ट एकाउन्ट बाहेक अन्य खाताबाट इ-मनी जारी गरी कारोबार गरेको पाइएको, यूएसडीटी तथा क्रिप्टो मार्फत अवैध सुनको भुक्तानी गरेको खुलेको उनको भनाइ छ ।

कुंगा टासी शेर्पा भन्ने चिनिया नागरिक जेन्गा जाहीले यूएसडीटीको कारोबार गरी अवैध सुनको १ अर्ब १५ करोड ९६ लाख ५६ हजार ४८८ रूपैयाँ भुक्तानी गरेको पनि अनुसन्धानबाट खुलेको छ ।

सोनाम गुरूङ भन्ने सेराब ग्याल्मो लगायतले यूएसडीटी तथा क्रिप्टो बनाई भुक्तानी गर्ने गरेको, सो मार्फत् भुक्तानी दिने अन्य व्यक्तिहरू उपर थप अनुसन्धान जारी नै रहेको पनि सीआईबीले जानकारी दिएको छ ।

सीआईबीका अनुसार स्थापनाकालदेखि हालसम्म यी दुई वालेक कम्पनीमार्फत् १ खर्ब २३ अर्ब रुपैयाँ कारोबार रहेकोमा भौचर डिपोजिट गरी ९६ अर्ब बराबरको कारोबार भएको देखिएको छ । सो कार्यमा संलग्न सञ्चालक समिति, कर्मचारी र एजेण्ट गरी ८ जना पक्राउ भएका छन् ।

सीआईबीले पेवेल नेपालका सञ्चालक समिति अध्यक्ष भिम प्रसाद तिमिल्सिना, पेवेलकै सहायक प्रमुख कार्यकारी अधिकृत प्रज्वयल आचार्य, पेवेलका लेखा प्रमुख सुरज शम्शेर जब राणा, सजिलो पेका सञ्चालक फुनसुक डाग्पा अथुपछाङ खम्पा, सजिलो पेमेन्टका सञ्चालक शुशील जाकिबंजा, सजिलो पेका प्रमुख कार्यकारी अधिकृत काश्यप मानन्धर र जेक मनि ट्रान्सर्फरका सञ्चालक लाल बहादुर कुवँर र पशुपति ट्रेड कन्सर्नका सञ्चालक अरुण कुमार यादवलाई पक्राउ गरेको छ ।

सीआईबीले पेवेल नेपाललाई ६१ अर्ब ५० करोड २७ लाख ९ हजार २३३ रुपैयाँ मागदाबी गरेको छ भने सजिलो पे पेमेन्टमालाई १९ अर्ब ४६ करोड २५ लाख ७३ हजार ७८५ रुपैयाँ गरेर कुल ८० अर्ब ९६ करोड ५२ करोड ८३ लाख रुपैयाँको माग दाबी गरेको छ । मुद्दा दर्ताका लागि सरकारी वकिल कार्यालयमा फाइल पठाइसकेको सीआईबीले जानकारी दिएको छ ।

यस कार्यमा संलग्नले विभिन्न बैंकको खाता प्रयोग गरेको देखिन्छ । उनीहरूले हिमालयन, कुमारी, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, कामना सेवा, प्रभु र मुक्तिनाथ विकास बैंकको खाता प्रयोग गरेर भुक्तानी गरेको अनुसन्धानबाट देखिएको छ । यी ६ बैंकबाट ठूलो कारोबार भएको भएपनि यसअघि अन्य एक दर्जन बैंकबाट पनि कारोबार भएको देखिएको सीआईबीले बताएको छ ।

पेवेल नेपाल प्राईभेट लिमिटेडको विभिन्न बैंक खाताहरूमा डिपोजिट गरेको ६ वटा भौचरहरू बरामद भएको पनि सीआईबीले जानकारी दिएको छ । सीआईबीले मुक्तिनाथ विकास बैंकको खातामा दुई पटक गरी ३० लाख, नेपाल बैंक लिमिटेडको खातामा दुई पटक गरी ३० लाख, हिमालयन बैंक लिमिटेडको खातामा एक पटक १५ लाख, कामना विकास बैंक लिमिटेडको खातामा एक पटक १८ लाख रुपैयाँका भौचरहरु डिपोजिट भएको बताएको छ ।

नेपाल राष्ट्र बैंकले यी दुई वालेट कम्पनीको लाइसेन्स पनि खारेज गरिसकेको छ ।

३२५४ केजी सुन तस्करी, साढे २ खर्ब मागदाबी

सीआईबीले ब्रेक सुसहित विभिन्न उपकरणमा लुकाएर ३ हजार २ सय ५४ केजी सुन तस्करी गरेको बताएको छ । ६० किलो सुन तस्करी प्रकरणबाट सुरु भएको सीआईबी अनुसन्धानले सो परिमाणको सुन तस्करी भएको अनुसन्धानबाट खुलेको हो । सीआईबीले काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन समेत बुझाइसकेको छ ।

सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले ६० किलो सुन तस्करीमा संलग्न गिरोहले विभिन्न समयमा सो परिमाणको सुत तस्करी देखिएको बताए । त्यसरी विभिन्न उपकरणमा राखेर ल्याइएको सुनको अहिलेको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रूपैयाँ रहेको उनले बताए ।

ब्रेक सुमा लुकाई छिपाई ल्याएको अवैध सुनको परिमाण ३६२ किलो ७७८ ग्राम रहेको देखिएकोले सोही अनुसार ३ अर्ब ५० करोड ०२ लाख १६ हजार ५५२ रुपैयाँ माग दावी गरी सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा २२ एवम् मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम थप अनुसन्धान गर्ने गरी मिति २०८० भदौ ३१ गते २९ जना उपर अभियोग पत्र दायर भएकोमा तत्काल पक्राउ परेका २५ जनामध्ये २४ जना अभियुक्तहरू पुर्पक्षको लागि थुनामा गएको प्रहरीको भनाइ छ ।

नेपाल विद्युतीय प्राविधिक समाज र त्रिभुवन विश्वविद्यालय, भौतिकशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौं समेतका विज्ञ टोलीको प्रतिवेदन अनुसार अवैध सुन चोरी पैठारीमा संलग्न व्यक्तिहरूले स्थापना गरेका ७ वटा विभिन्न डमी कम्पनीहरू मध्ये ५ वटा डमी कम्पनीबाट विभिन्न इलेक्ट्रोनिक मालवस्तु (पानी तान्ने पम्प, स्मार्ट वाच, सेभिङ मेसिन) तथा ब्रेक सुमा गरी कुल ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रूपैयाँ बराबर) अवैध सुन चोरी पैठारी गरेको देखिएको सीआईबीको अनुसन्धानबाट खुलेको हो ।

यी हुन् प्रयोग भएका कम्पनी

टोखामा एलेक्स भन्ने याओ प्युचेङ लगायतका समूह यसअघि नै पक्राउ परिसकेका थिए । दोस्रो चरणको अनुसन्धानबाट लाजिम्पाटमा साम भन्ने झोङ जिङचुआन लगायतको समूह पक्राउ परेका हुन् । सीआइबीले दोस्रो चरणको अनुसन्धानबाट तस्करीमा संलग्न ८ जना पेवेल र सजिलो पेमेन्टसकितका २० जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाड, धिरज दिनेश भोईटे, प्रशान्त गणेश बजबलकर, चिनियाँ नागरिक गेन्जा झाछी, नेपाली नागरिकतामा सोनाम गुरूङ भएको चिनियाँ नागरिक शेराप, राजु पलासे भन्ने राजु खत्री, सुरेन्द्रमान श्रेष्ठ, राजु खत्री भन्ने प्रेमनाथ सेढाई, कान्छा लामा, मनोजराज श्रेष्ठ, रूपक भण्डारी र बैजनाथ ब्रह्मादत्त गोयल रहेका छन् ।

सिआइबीले पक्राउ परेका २० जना र फरार रहेका २६ जना गरी ४६ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाएको हो । उनीहरूविरूद्ध २ खर्ब ६६ अर्को ६७ करोड ९ लाख ९ हजार ३०८ रूपैयाँको बिगो दाबी गरिएको छ । भन्सार ऐन २०६४, संगठित अपराध निवारण ऐन–२०७०, मुलुकी अपराध संहिता २०७, नागरिकता ऐन २०२०, राहदानी ऐन २०२४, नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम कारबाही सिफारिस गरिएको छ ।

Share News