काठमाडौं । सरकारले बजेटमार्फत् विद्युतीय गाडी (ईभी)मा कर बढाउँछ भन्ने सूचना अटो व्यवसायीले अगाडि नै पाएको पुष्टि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठमा सबैभन्दा बढी ईभी भित्रिएका छन् । अटो व्यवसायीहरूले ईभीमा कर बढ्छ भन्ने सूचना पाएर नै धमाधम ईभी आयात गरेको तथ्यांकबाट देखिन्छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठसम्म कुल २९ अर्ब ८८ करोड रुपैयाँ बराबरका १९ हजार ९८९ विद्युतीय सवारी साधन (तीन पाँग्रे र चार पाँग्रे) भित्रिएका छन् । जेठ महिनामा मात्रै ३ हजार पाँच सय २२ विद्युतीय गाडी आयात भएको तथ्यांकले देखाउँछ ।
सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको थियो । तर, अहिलेसम्म सो बजेट पारित हुन सकेको छैन । यसअघि मासिक ६/७ गाडी भित्रिने भएपनि जेठको तथ्यांकले व्यवसायीहरूले कर बढ्छ भन्ने सूचना पहिल्यै नै पाइसकेको पुष्टि हुन्छ ।
उसो त राजस्व अनुसन्धान विभागले केही कम्पनीले बजेटअघि अस्वाभाविक रुपमा गाडी भित्र्याएको अनुमान गरेर कम्पनीमाथि पनि अनुसन्धान थालेको छ । यसले पनि व्यवसायीले पहिल्यै नै सुचना पाएको हुन सक्ने अनुमान गर्न सकिन्छ । सरकारले बजेटमार्फत् ईभी गाडीमा अन्त:शुल्क बढाएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार ११ महिनाको अवधिमा कुल १९ हजार ९८९ विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् । १ महिनाको अवधिमा तीन पाँग्रे ८ हजार ५२३ गाडी, ५० किलोवाटभन्द्या माथिका ४ हजार ३४४, ५१ देखि १०० किलोवाटका ६ हजार ८८५, १०१ देखि २२ किलोवाटसम्मका २०९ वटा सवारी, २०१ देखि ३०० सम्मका २७ र ३०० माथिका एक वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।
जेठ महिनामा मात्रै ३ हजार ५ सय २२ वटा विद्युतीय गाडी भित्रिदा सबैभन्द्या बढी ५१ देखि १०० किलोवाटका सवारी साधन भित्रिएका छन् । जेठमा यस्त गाडी कुल १ हजार ९८९ वटा भित्रिएका छन् ।
यस्तै, जेठमा तीन पाँग्रे विद्युतीय सवारी ५५३, ५० किलोवाटसम्मका ८७२, १०१ देखि २०० सम्मका १०४ र २०१ देखि ३०० किलोवाटसम्मका तीन वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।