काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कम्तिमा १० प्रतिशत बजेटको व्यवस्था हुनुपर्नेमा ४.६४ प्रतिशत अत्यन्त न्युन भएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले सो कुरा बताएका हुन् । उनले २०५५ सालदेखि २०८० सालसम्म २५ वर्षमा सरकारी स्वास्थ्य संस्थाहरु करिव ८ हजार रहेको बताए । नेपालमा जनसंख्या वृद्धि, स्वास्थ्य संस्थाहरुको वृद्धि भयो तर स्वास्थ्य क्षेत्रका जनशक्तिको दरबन्दी अहिलेसम्म वृद्धि नभएको जानकारी दिए ।
उनले विभिन्न समयमा सरकारहरुले एकै दिन ७५३ स्थानमा १५ शैय्याका अस्पताल उद्घाटन भएपनि जनशक्ति परिचालनको अवस्था चिन्ताजनक रहेको बताए । भौतिक संरचना र उपकरणको बारेमा पनि सरकारले सोच्न आवश्यक रहेको बताए । ३ करोड जनसंख्या भएको देशमा २ हजार भन्दा बढी डाक्टर नभएको भन्दै सरकारले स्वास्थ्य जनशक्तिको न्युनता र अभावलाई तत्काल पूर्ति गर्न आवश्यक रहेको बताए । हरेक गाउँ–गाउँमा स्वास्थ्यकर्मी पुर्याउन आवश्यक रहेको भन्दै दूरदराजमा स्वास्थ्य संस्था भएपनि जनशक्ति र सिटामोल नभएको जानकारी दिए ।
‘स्वास्थ्य मन्त्रालयमा कम्तिमा पनि १० प्रतिशत बजेट हुनुपर्छ भन्ने हो । तर ४.६४ प्रतिशत जुन बजेट राखिएको छ । अत्यन्त न्युन हो । ३ करोड जनसख्या भएको देशमा २ हजार भन्दा बढी डाक्टर छैनन् । स्वास्थ्य जनशक्तिको न्युनता र अभावलाई तत्काल पूर्ति गर्न आवश्यक छ । स्वास्थ्य मन्त्री युवा आउनुभएको छ तर अहिलेको स्रोत साधन र जनशक्तिले जति गर्न खाजे पनि गर्न सक्दैनौं’, उनले भने ।
उनले मुलुकको स्वास्थ्य अवस्थाको परिवेशबाट देशलाई उन्मुति दिनेगरी स्वास्थ्य क्षेत्रलाई प्रभावकारी परिचालन आवश्यक रहेको बताए । काम गर्ने जोसका साथ स्वास्थ्य मन्त्री युवा आएपनि अहिलेको स्रोत साधन र जनशक्तिले काम गर्न खाजे पनि सम्भव नभएको जानकारी दिए ।