काठमाडौं, ७ माघ । आगामी चैतको अन्तिम साता हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा पदाधिकारीहरु सर्वसहमत गर्ने प्रयास भएको छ । गत मंसिरमा विधान संशोधन गरि वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बनाउने व्यवस्था गरेको महासंघले बाँकी पदाधिकारीहरुमा पनि सर्बसहमति जुटाउने प्रयास थालेको छ ।
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष, जिल्ला तथा नगर उपाध्यक्ष, बस्तुगत उपाध्यक्ष, एसोसिएट उपाध्यक्ष, कोषाध्यक्ष लगायत पदाधिकारीको चयन सर्बसहमतिमा गर्ने प्रयास भईरहेको उपाध्यक्ष दिनेश क्षेष्ठ बताउँछन् । उनी भन्छन्–‘अध्यक्षको चयन सर्वसहमत हुने विधान बनाई सक्यौं, यसअघि अध्यक्ष र वरिष्ठ उपाध्यक्ष सर्वसहमतिमा चयन गरिसकेका छौं । यसपटक कार्यकारी समितिको सदस्यहरुमा निर्वाचत गरौं, पदाधिकारीहरुमा सर्बसहमति जुटाउनुपर्छ भनेर प्रयास भईराखेको छ ।’
यसअघि महासंघको नेतृत्व चयन मतदानबाट नै हुँदै आएको बताउँदै श्रेष्ठ भन्छन्– ‘महासंघ लोकतन्त्रप्रति विश्वास गर्ने संस्था हो र निर्वाचनबाट नेतृत्व चयन गर्ने अभ्यास गर्दै आएको हो । तर निर्वाचनको परिणाम सँगै विजयको उन्माद र पराजयको पीडाले महासंघलाई क्षति पुगेको तितो अनुभव हामीसँग छ । त्यसैले कम्तिमा पदाधिकारीहरु सर्बसहमतिमा चयन गरौं भन्ने प्रयास थालेका हौं ।’
महासंघका पूर्व अध्यक्षहरु र पूर्व पदाधिकारीहरु सर्वसहमति नेतृत्व चयनको वातावरण बनाउन क्रियाशिल भएको उनले बताए ।
सजिलो छैन सर्वसहमतिमा नेतृत्व
महासंघमा केही अध्यक्षको चयन सर्वसहमतिमा भएपनि पदाधिकारी पुरै सर्बसहमतिमा चयन भएको इतिहास छैन । र, अब पनि सबै पदाधिकारी सर्बसहमतिमा हुने सम्भावना नरहेको अनुभवीहरु बताउँछन् ।

वर्तमान उपाध्यक्षहरु किशोर प्रधान, दिनेश श्रेष्ठ र शेखर गाल्छामध्ये कसलाई बरिष्ठ उपाध्यक्ष बनाउने भन्ने विषयमा सहमति जुट्ने सम्भावना ज्यादै न्यून देखिन्छ ।
तीन उपाध्यक्ष मध्ये वरिष्ठताको आधारमा आफू वरिष्ठ उपाध्यक्ष बन्न पाउनु पर्ने उपाध्यक्ष प्रधानको दाबी छ । आफ्नो नाममा सहमति नजुटे आफू चुनावमा जानुको विकल्प नभएको प्रधानले बताए । निर्वाचनको तयारीको क्रममा आफूले ६४ जिल्ला भ्रमण गरिसकेको र बलियो समर्थनको प्रतिवद्धता पाएको उनले दावी गरे । महासंघको वरिष्ठ उपाध्यक्ष चयनमा जिल्ला, नगर र प्रदेशको मतभार ५० प्रतिशत रहेको छ ।
को भन्दा को कम ? किशोर भन्दा शेखर के कम ? महासंघको वरिष्ठ उपाध्यक्षमा सर्वसहमति जुटाउन प्रसासमा गरिएका बैठकहरुमा शेखर गोल्छा सहभागि नभएको विषयले महासंघको चुनावी सर्कलमा नयाँ तरङ्ग ल्याएको छ । वर्तमान अध्यक्ष पशुपति मुरारका र भावी अध्यक्ष सुनिश्चित भईसकेकी वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणाले सकेसम्म गोल्छालाई अबको वरिष्ठ उपाध्यक्षमा सर्वसहमति जुटाउने, चुनाव हुने अवस्था आएमा गोल्छालाई समर्थन गर्ने बचन दिएको बताईएको छ ।
बरिष्ठ उपाध्यक्षमा नै सहमति जुट्न नसके अरु पदमा सहमति जुट्न असम्भव निश्चित छ । नेपालमा कोर पोलिटिक्स मात्र होइन, विजनेश पोलिटिक्स पनि जब्बर बन्दै गएको छ । महासंघले ११ महिनासम्म पनि महानिर्देशक पदपूर्ति गर्न नसक्नु महासंघभित्रको जब्बर पोलिटिक्सको एउटा ज्वलन्त उदाहरण हो । महासंघका तत्कालिन महानिर्देशक धरणिधर खतिवडाले गत फागुनमा राजीनामा दिएका थिए । त्यसपछि उक्त पद अहिलेसम्म खाली छ ।