काठमाडौं, ६ माघ । भारतले नेपाल आउने जहाजमा हतियारधारी सेना राख्ने प्रस्ताव अघि सारेको छ । भारतले नेपाल आउने आफ्ना जहाजमा इन फ्लाइट सेक्युरीटी अफिसरका नाममा हतियारधारी सेना राख्ने योजना अघि सारेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्यका अनुसार नेपालले दुई तर्फी हवाई रुट माग्ने नेपालको प्रस्तावलाई काउन्टर दिँदै भारतले इन फ्लाइट सेक्युरीटी अफिसरको प्रस्ताव अघि सारेको हो ।
‘हामीले धनगढीबाट नेपाल प्रवेश गर्ने र बाहिरीने रुट मागेका थियौं तर उसले काउन्टर प्रस्तावका रुपमा इन फ्लाइट सेक्युरीटी अफिसर राख्न पाउनुपर्ने अडान लियो’, केहि दिन अघि भारतमा भएको वार्ताको प्रशंग सुनाउँदै निमित्त सचिव आचार्यले विकास समिति बैठकमा भने ।
हाल नेपाल भित्रिने जहाज सिमरा रुट भएर र बाहिरीने जहाज धनगढी रुट भएर उडिरहेका छन् । नेपालले धनगढी रुटबाट नेपाल भित्रिने र बाहिरीने दुबै उडान अनुमति मागिरहेको छ । नेपालले इन फ्लाइट सेक्युरीटी अफिसर राख्ने अनुमति दिएमा भारतले आफ्ना जहाजमा सादा पोशाकका हतियारधारी सेना राख्नेछ । उसको कमाण्ड जहाजको पाइटले गर्नेछ । त्यस्ता सेक्युरीटी अफिसर नेपाली भूमिमा प्रवेश गर्न भने पाउने छैनन् ।
उनीहरु भारतीय जहाजमा आउनेछन र जहाजमै बसेर फेरी अर्काे उडानमा जानेछ । भारतले अघि सारेको प्रस्ताव माथि छलफल भैरहेको तर कुनै निर्णय भने नभएको निमित्त सचिव आचार्यले व्यवस्थापिका संसदको विकास समितिमा बताएका हुन् ।