किशोरीका लागि मन्त्री श्रेष्ठको बोल्ड निर्णय

<p>काठमाडाैं । हरेक महिलालाई महिनावारीको समयमा पीर पर्छ, कतै घुम्न वा कुनै कार्यक्रममा जाँदा महिनावारी पो भइहाल्छ कि ! यही पीरबाट बच्न प्राय: महिलाहरू महिनावारीको समयमा प्याड बोकेर हिँड्छन् । अहिले जाताततै प्याड सहजै पाइन्छ । त्यसमा धेरै समस्या त हुँदैन । तर, कहिले भने निकै अफ्ठायारो भइदिन्छ । अझ विद्यालय जाने किशोरीलाई त झन [&hellip;]</p>

काठमाडाैं । हरेक महिलालाई महिनावारीको समयमा पीर पर्छ, कतै घुम्न वा कुनै कार्यक्रममा जाँदा महिनावारी पो भइहाल्छ कि ! यही पीरबाट बच्न प्राय: महिलाहरू महिनावारीको समयमा प्याड बोकेर हिँड्छन् । अहिले जाताततै प्याड सहजै पाइन्छ । त्यसमा धेरै समस्या त हुँदैन । तर, कहिले भने निकै अफ्ठायारो भइदिन्छ । अझ विद्यालय जाने किशोरीलाई त झन यो पीडाले सताउने गर्छ । तर, आजभोलि सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई भने सहज भएको छ ।

अछामकी सलिना साउँद जनता मावि मेल्लेखमा कक्षा ९ मा अध्ययनरत छिन् । उनलाई विगतकाे स्कुल जाँदा कुनै चिन्ता लिएर जानु पर्देन । किन कि महिनावारी भइहाल्यो भनेपनि स्कुलमै सेनिटरी प्याड पाइन्छ । यतिले मात्र पनि उनलाई ठूलो राहत भएको महसुस हुन्छ ।

जनता माविले प्याड वितरणमा सहज होस् भन्ने उद्देश्यले स्कुलमै स्वास्थ्य शाखा सञ्चालनमा ल्याएको छ । जहाँ एक जना नर्स पनि कार्यरत छिन् । स्कुलका छात्रा महिनावारी हुने बित्तिकै स्वास्थ्य शाखामा गएर प्याड लिएर प्रयोग गर्छन् । विद्यालयका प्रधानाध्यापक नृप बिकका अनुसार महिनामा चार सयका दरले पालिकाबाट प्याड ल्याएर राखिन्छ ।

विद्यालयमा महिनावारी उमेर समूहका छात्रा चार सय भएकाले उनीहरूलाई पुग्ने गरी एक-एक महिनामा प्याड ल्याएर स्कुलमा राख्ने गरेको प्रधानाध्यापक बिकले बताए । ‘स्कुलमा भण्डारणको लागि ठाउँ पनि छैन,’ उनी भन्छन्, ‘नजिकै पालिकाको कार्यालय छ, प्रत्येक महिनामा आवश्यक प्याड ल्याएर छात्रालाइ दिन्छौं, आवश्यक पर्दा पालिकाले दिन्छ सहज नै भएको छ ।’

तर, सलिनालाई त्यो प्याड निरन्तर प्रयोग गर्न भने पीर पर्छ । कारण प्याड लगाउने बित्तिकै चिलाउने समस्या हुन्छ । ‘एउटा त आकार पनि सानो, रगत पनि राम्रोसँग सोस्दैन,’सलिनाले विकासन्युजसँग कुरा गर्दै भनिन्, ‘बाहिर रगत देखिनुभन्दा यति पनि ठूलो राहात हो । तर, यो प्रयोग गर्दा चिलाउने पोल्ने समस्या हुन्छ ।’

सलिनाजस्तै प्रायः धेरै छात्राहरूको गुनासो अहिले यही छ । सामुदायिक विद्यालयमा वितरण गरिएका प्याडको प्रयोगले छात्राहरूलाई स्वास्थ्यमा समेत समस्या परिरहेको छ । विद्यालयमा अर्को समस्या भनेको प्रयोग गरिसकेको प्याड व्यवस्थापनको पनि ठूलो समस्या छ । प्रधानाध्यापक बिक आफ्नो स्कुलले प्याड व्यवस्थापनको लागि ठूलो टिनको डिब्बा डस्टविन बनाएको र त्यो पत्येक हप्ता वा महिनामा जलाउने व्यवस्था गरेको बताउँछन् ।

विज्ञहरू प्रयाेग गरिएका प्याड खाल्डो खनेर पुर्दा र जलाउँदा उत्तिकै वातावरणको लागि हानिकारक हुने बताउँछन् । जलाउँदा वातावरणमा प्रभाव पर्ने र पुर्दा माटोलाई प्रभाव पर्ने भएकाले प्रयोग गरिएका प्याड नष्ट गर्ने कुरा सबैभन्दा ठूलो बहसको विषय बनेको छ । यसको प्रयोगले स्वास्थ्यमा असर गर्ने सरोकारवालाहरू बताउँछन् ।

जनता माविका प्रधानाध्यापक र छात्राले भनेको जस्तो समस्या गाउँदेखि सहरका विद्यालयमा छ । धेरैजसो विद्यालयले प्रयोग गरेका प्याडको डिस्पोज जलाएरै गर्ने गरेको पाइन्छ ।

सरकारले आर्थिक वर्ष २०७६/७७ देखि देशभरका सामुदायिक विद्यालयका छात्राहरूलाई नि:शुल्क स्यानिटरी प्याड वितरण गर्ने घोषणा गरेको थियो । युवराज खतिवडा अर्थमन्त्री भएको बेला सार्वजनिक गरिएको यो कार्यक्रम सोही आर्थिक वर्षको भदौदेखि कक्षा ६ देखि १० कक्षासम्मका १६ लाख छात्रालाई सेनिटरी प्याड वितरण गरेको थियो । तर, यतिका वर्षसम्म पनि छात्राले प्रयोग गर्ने प्याडको गुणस्तरको बारेमा ध्यान दिएको पाइएकाे छ ।

बेला बखत विज्ञ र स्वंम प्रयोगकर्ता छात्राले समेत प्याड प्रयोग गर्दा परेको असरका विषयमा आवाज उठाउँदा पनि सरकारले सुनेको नसुन्यै गरिरहेकाे छ । स्वंयम यसको जिम्मेवारीको जिम्मा लिएको स्वास्थ्य मन्त्रालयले पनि यतिका वर्षसम्म प्याडको गुणस्तरको बारेमा बेखवर रहेर बसिरह्यो । अहिले सर्वत्र आवाज उठिरहँदा शिक्षामन्त्री समना श्रेष्ठले चासो राखेकी छिन् ।

शिक्षा मन्त्रीले बिहीबार विज्ञहरू बोलाएर कार्यविधि नै संसोधन गरेर काम गर्ने निर्णय गरेकी छिन् । अब छात्राहरूका लागि वितरण गरिँदै आएको स्यानटरी प्याडको गुणस्तरमा हेरफेर गरिने भएको छ । छात्राहरूले पटक-पटक प्रयोगमा समस्या भएको भन्दै प्रयोग नै गर्न छोडेको लामो समयपछि शिक्षामन्त्री श्रेष्ठले गुणस्तर हेर्ने बताएकी हुन् ।

सरकारले २०७६ सालमा सेनटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि समेत लागु गरेको थियो । कार्यविधिले प्याड वितरणको जिम्मा स्थानीय पालिकालाई दिएको छ । प्याडको न्युनतम लम्बाइ २४० मिलिमिटर, चौडाइ ६० देखि ७५ मिलिमिटर, मोटाई १५ मिलिमिटर हुनुपर्ने मापदण्ड छ । बिहीबार मन्त्री श्रेष्ठ सहित बसेको बैठकले सेनिटरी प्याडको गुणस्तर किटान गरी कार्यविधि बनाउने गरी मस्यौदा तयार गरेको छ । यही मस्यौदामाथि मन्त्रीले विज्ञहरुसाग छलफल गरेकी छिन् ।

ललितपुरको भैंसेपाटीकी दिलिशा श्रेष्ठ कम्पनी खोलेर महिनावारी पेन्टी उत्पादन गर्छिन् । ‘फ्लोई भेन्चर प्राइभेट लिमिटेड’ कम्पनी नै दर्ता गरी यो व्यवसायमा लागेकी उनी राम्रो बजारको खोजीमा छिन् । विद्यालयमा छात्राले प्रयोग गरिरहेका स्यानेटरी प्याडको गुणस्तरको विषय चलिरहँदा उनी आफुजस्तो नेपालमा केही गर्छौं भनेर लागिरहेकाहरू सरकारको प्राथमिकता नदिएको बताउँछिन् ।

उनी विदेशबाट खरिद गरि गुणस्तरहिन सेनिटरी प्याड छात्रालाई वितरण गरिरहेको बताउँदै प्याड्भन्दा सस्तो र वर्षौंसम्म टिक्ने महिनावारी पेन्टी विद्यालयस्तरमा वितरण गर्ने हो भने स्वास्थ्य र वातावरणको दृष्टिले राम्रो हुने बताउँछिन् । दिलिशा जस्तै विभिन्न महिला समूह वा संस्थाले पुनः प्रयोग गर्न पनि मिल्ने प्रयोग गरिसकेपछि नष्ट पनि गर्न सकिने स्यानेटरी प्याडहरू बनाइरहेका छन् ।

उनीहरूले बजारमा प्लाष्टिक प्रयोग भएको स्वास्थ्य र समाजलाई पनि असर गर्ने प्याड भन्दा आफुले उत्पादन गरेका प्याड प्रयोग गर्न स्वास्थ्य मन्त्रयलाई आग्रह गरेका छन् ।

राष्ट्रिय महिनावारी अभियान सञ्जालका संयोजक गुणराज श्रेष्ठ नेपालका स-सान उत्पादककर्ताहरूले उत्पादन गरेको प्याडको गुणस्तर चेक गराई प्राथमिकता दिनुपर्ने बताउँछन् । महिला समूह, सहकारी, विभिन्न संघसथले राम्रा प्याडहरू उत्पादन गरिरहेकाले शिक्षामन्त्रालय उहाँहरुसँग समन्य गर्नुपर्ने उनको भनाइ छ ।

‘यसो हुँदा उत्पादन गरिरहेका महिलाहरूलाई पनि हौसाला हुन्छ, अर्को सस्तो र नष्ट गर्न पनि सजिलो हुन्छ,’ श्रेष्ठ भन्छन्, ‘नेपालमै बनाइएका प्याडको गुणस्तर जाँच गरी त्यही अनुसार समन्यव गर्दा सबैको भलो हुन्छ ।’ शिक्षामन्त्री श्रेष्ठले विज्ञहरूसँग गरेको छलफलमा आफुले यही प्रस्ताव राखेको श्रेष्ठले बताए ।

मर्यादित महिनावारी अभियान सञ्जालकी अभियान्ता डा.राधा पौडेल यसमा सरकारले मुख्य तीन कुरामा ध्यान दिनुपर्ने बताउँछिन् ।

पहिलो, छात्रा आफैले महिनावारी हुँदा रोजेर सामाग्री प्रयोग गर्न दिने वातावरण सरकारले बनाइदिनुपर्छ । यसका लागि सबै विकल्प राखिदिनुपर्छ । अर्को, कुनैपनि महिनावारी सामाग्रीले माटो पानी हावालाई दुःख दिनु हुँदैन र अर्को स्थानीयस्तरमा गुणस्तर चिन्ह प्राप्त भएको सामाग्रीहरू उत्पादनको लागि त्यसको समाग्री दिने अनुगमन गर्ने काम सरकारले गर्नुपर्छ ।

Share News