निजी क्षेत्रतर्फ कर्जा लगानी ३०.४ प्रतिशतले वृद्धि, अनुत्पादक क्षेत्रमा कर्जा बढ्दा बैंकिङ क्षेत्र जोखिममा

<p>काठमाडौं, ४ माघ । नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह बढ्दै गएको तथ्याङ्क प्रस्तुत गरको छ । घरजग्गा, ओभरड्राफ्ट, हायर पर्चेज र सेयर धितोमा प्रवाह हुने कर्जा बढ्दै जाँदा खराव कर्जा वृद्धि भई वित्तीय क्षेत्र अप्ठेरोमा पर्न सक्ने संकेत राष्ट्र बैंकले गरेको हो । राष्ट्र बैंकले मंसिरसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन [&hellip;]</p>

काठमाडौं, ४ माघ । नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह बढ्दै गएको तथ्याङ्क प्रस्तुत गरको छ । घरजग्गा, ओभरड्राफ्ट, हायर पर्चेज र सेयर धितोमा प्रवाह हुने कर्जा बढ्दै जाँदा खराव कर्जा वृद्धि भई वित्तीय क्षेत्र अप्ठेरोमा पर्न सक्ने संकेत राष्ट्र बैंकले गरेको हो ।

nrbराष्ट्र बैंकले मंसिरसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै बैंकहरुले अहिलेसम्म खराव कर्जा न्यून देखाए पनि अनुत्पादक क्षेत्रमा कर्जा वढेको संकेत गरेको छ । बैंकहरुले निजी क्षेत्रमा दिने कर्जा ३०.४ प्रतिशतले बढेको र त्यो अनुत्पादक क्षेत्रतर्फ बढी गएको पनि संकेत गरेको छ । हाल बैंकहरुले गरिरहेको कर्जाको वास्तविक स्वरुप आउने वित्तिकै खराव कर्जाको अनुपात बढ्ने र यसले वित्तिीय क्षेत्रमा ठूलो समस्या आउने चेतावनी समेत राष्ट्र बैंकले दिएको छ ।

गएको वर्षको मंसिरसम्म घरजग्गामा ९१ अर्ब ३१ करोड रहेको घरजग्गा कर्जा यो मंसिरमा आईपुग्दा एक खर्ब १९ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ । आवसीय घर कर्जाको पनि एक वर्षको अन्तरालमा बढेर एक खर्ब ५८ अर्ब ३० करोड पुगेको छ । गएको वर्षको सो अवधिसम्म यस्तो कर्जा एक खर्ब २३ अर्ब ६८ करोडमात्र थियो । भूकम्पयता घरजग्गाको कारोबार बढेसँगै उक्त शीर्षको कर्जा बढेको छ ।

वित्तीय संस्थाहरुले उत्पादनका अन्य क्षेत्र लगानीमैत्री नभएपछि घरजग्गा तथा सेयर बजारमा लगानी बढाउँदै लगेको पाइन्छ । तर, पछिल्लो समय सेयर बजार ओरालो लाग्न थालेपछि घरजग्गाप्रति आम लागनीकर्ता आकर्षित भएका छन् । बैंकबाटै ऋण लिएर भएपनि घरजग्गा जोड्ने तथा यसको कारोबारबाट बढी नाफा हुने भएपछि लगानीकर्जाहरु यसप्रति आर्कर्षित भएका हुन् ।

सामाजिक दृष्टिकोणबाट घरजगगाको कारोबार कल्याणकारी मानिए पनि आर्थिक हिसावले यस्तो लगानीलाई अनुत्पादक लगानी मानिन्छ । अनुत्पादक क्षेत्रको लगानीको प्रतिफल चाडै नआउने तथा नहुने हुँदा यसलाई अर्थ परिचालनका हिसावबाट अनुत्पादक मानिदै आएको छ ।

बैंक तथा वित्तीय क्षेत्रले यस वर्षको पहिलो पाँच महिनासम्म घरजग्गा, सेयर, ओरभड्राफ्टजस्तो अनुत्पादक क्षेत्रमा सात खर्ब ८८ अर्ब कर्जा प्रवाह गरेका छन् । गएको वर्षको मंसिरसम्म यस्तो क्षेत्रको कर्जा पाँच खर्ब ७१ अर्ब छ । गतको आवको असार मसान्तसम्म यस्तो कर्जा छ खर्ब ९१ अर्ब थियो ।

चालू आव पाँच महिनाको सो अवधिमा ओभर ड्राफ दूई खर्ब ४८ अर्ब ९७ करोडबाट बढेर तीन खर्ब ३६ अर्ब १० करोड पुगेको छ । सेयर मार्जिनको कर्जा ३६ अर्ब ७५ करोडबाट ३८ अर्ब ३४ करोड र हायर पर्चेज कर्जा ८३ अर्ब ७४ करोडबाट बढेर एक खर्ब ३६ अर्ब ३० करोड पुगेको तथ्याङ्क राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

‘यस्तो अवस्थामा उत्पादनमूलक क्षेत्रमा जानुपर्ने कर्जा जोखिमयुक्त क्षेत्रतर्फ उन्मुख हुन सक्दछ’, प्रतिवेदनमा उल्लेख छ । तसर्थ, आगामी दिनमा बैंक तथा वित्तीय संस्थालाई विवेकशील एवम सावधानीपूर्ण कर्जा प्रवाह गर्न राष्ट्र बैंकले सुझाएको छ । उत्पादनमूलक क्षेत्रमा जाने कर्जा जोखिमयुक्त क्षेत्रमा जानसक्ने भन्दै राष्ट्र बैंकले सचेत पनि गराएको हो ।

बैंकहरुले यस्तो कर्जा प्रवाहमा सुधार नगरे बैंक तथा वित्तीय संस्थामा वित्तीय स्थायीत्व कायम गर्न चुनौती हुने यसको नकारात्मक असर आर्थिक वृद्धिमा पर्ने देखाएको छ । बैंकहरुले २ प्रतिशत मात्र खराव कर्जा देखाएर राष्ट्र बैंकको आँखामा छारो हाल्ने काम गरिरहेको राष्ट्र बैंकले संकेत गरेको छ ।

‘अहिले बैंकले खराब कर्जा न्यून देखाए पनि अनुत्पादक क्षेत्रमा कर्जा बढेको तथ्यांक छ्’, प्रतिवेदनमा भनिएको छ । वित्तीय संस्थाले राष्ट्र बैंकको सीमाभित्रै खराब कर्जा दुई प्रतिशत मात्र रहेको देखाएर ढाटिरहेको अनुमान राष्ट्र बैंकले गरेको छ । वाणिज्य बैंकहरूको खराब कर्जा अनुपात २ प्रतिशतभन्दा कम राख्नुपर्ने अवस्था छ । वास्तविक खराब कर्जा देखिएका दिन वित्तीय क्षेत्रमा ठूलो समस्या आउने चेतावनी राष्ट्र बैंकले दिएको छ ।

यस वर्षको मौद्रिक नीतिमार्फत आन्तरिक कर्जा विस्तार लक्ष्य २५ प्रतिशत र निजि क्षेत्रतर्फ यस्तो विस्तार २० प्रतिशत वृद्धि हुने प्रक्षेपण गरिएकामा पाँच महिनामा नै कर्जा विस्तार उच्च भएको छ ।

Share News