
काठमाडौं । वैदेशिक रोजगारीमा टर्की पठाउने भन्दै १२४जनाबाट ४ करोड रुपैयाँभन्दा बढी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी टर्कीको युएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने र त्यहाँ पुगेपछि आकर्षक तलब हुने प्रलोभन देखाइ १२४ जनाबाट ४ करोड ३४ लाख उठाएर फरार रहेका कास्की पोखरा महानगरपालिका-५ का ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईका अनुसार श्रेष्ठलाई काठमाडौं-७ चाबहिलबाट पक्राउ गरिएको हो ।
त्यस्तै, अमेरिका र क्यानडा लैजाने भन्दै मानव तस्करी गरी ठगी गर्ने मुख्य गिरोहका थप तीन जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।
पक्राउ पर्नेमा जिल्ला ओखलढुंगा, खिजिदेम्बा गाउँपालिका-२ का ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ गाउँपालिका-२ का वर्ष ४६ का विष्णुबहादुर बराली र तनहुँ ऋषिङ गाउँपालिका-२ का जंगबहादुर विक (बराल) छन् ।
उनीहरूले अमेरिका लैजाँदा दुबई ट्रान्जिट बनाएर केन्या र युगाण्डा लगेर राहदानी तथा डल खोसी ९ महिनासम्म अलपत्र पारी राखेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार केन्या र युगाण्डामा समेत एजेण्ट राख्ने गरेको, अमेरिका पुर्याउन ब्राजिल, कोलोम्बिया, मेक्सिकोमध्ये कुनै एक रुट प्रयोग गर्ने गरेको, पक्राउ परेका तीन जना भरतको दिल्ली पहाडजंगस्थित होटलमा बसी संगठित रूपमा मानव तस्करीमा संलग्न रहेको थिए ।