उदासी उपेन्द्र, महत्वाकांक्षी मन्त्री

<p>काठमाडौं । उपप्रधान तथा स्वास्थ्य मन्त्रीबाट हट्ने डिलमा छन् उपेन्द्र यादव । सरकारमा सहभागी भएको दुई महिनामै सरकारबाट बाहिरिनु स्वयम् उपेन्द्र र उनको पार्टीका लागि पनि दुर्भाग्य र दुःखद हो । त्यो भन्दा बढी दुःखद आम जनताको लागि हो । राजनीतिक दल र नेताहरू निहित स्वार्थका लागि काम गर्दा जनताले सास्ती भोग्नु परेको छ । व्यक्तिगत [&hellip;]</p>

काठमाडौं । उपप्रधान तथा स्वास्थ्य मन्त्रीबाट हट्ने डिलमा छन् उपेन्द्र यादव । सरकारमा सहभागी भएको दुई महिनामै सरकारबाट बाहिरिनु स्वयम् उपेन्द्र र उनको पार्टीका लागि पनि दुर्भाग्य र दुःखद हो । त्यो भन्दा बढी दुःखद आम जनताको लागि हो । राजनीतिक दल र नेताहरू निहित स्वार्थका लागि काम गर्दा जनताले सास्ती भोग्नु परेको छ । व्यक्तिगत महत्वाकांक्षाले नै नेताहरू दिनप्रतिदिन कमजोर बन्दै गएका छन् ।

सोही कमजोरीको एउटा नायक हुन् उपेन्द्र यादव । वि.सं २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा ५२ सिट ल्याएर संसद्को चौथौ ठूलो राजनीतिक दलका नेता बनेका उनलाई अहिले कमजोर पात्रका रूपमा चित्रण गरिन थालिएको छ ।

पहिलो संविधान सभाको निर्वाचनमा बलियो बनेका उपेन्द्र दोस्रो संविधानसभाको निर्वाचनमा भने कमजोर देखिए । उनको पार्टीले प्रत्यक्षतर्फ २ सिट र समानुपातिकतर्फ ८ सिट मात्रै जित्यो । त्यसपछि उनको राजनीतिक यात्रा खासै सुखद हुन सकेको छैन । दिनप्रतिदिन उनी कमजोर बन्दै गएका छन् । राजनीतिक वृतमा पनि उनी छायामा पर्न थालेका छन् ।

नेपाली राजनीतिमा सबैभन्दा बढी पार्टी परिर्वन तथा विभाजन गर्ने नेतामध्येमा पनि पर्छन उपेन्द्र । विद्यार्थी जीवनदेखि सुरु गरेको नेपाल कम्युनिस्ट पार्टीको राजनीति, त्यसपछि प्रगतिशील विद्यार्थीमा आवद्ध हुँदै, मधेशी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी फोरम, नयाँ शक्ति हुँदै जसपा नेपालसम्म आइपुग्दा उनले विभिन्न समयमा विभिन्न राजनीतिक दलसँग गठबन्धन गरे, सहकार्यको प्रयास गरे, पटक-पटक मन्त्री तथा उपप्रधानमन्त्री भएर सत्ताको स्वाद पनि चाखे । तर, उनको जीवनमा टुटफुटको कहानी भने चलिरह्यो ।

अघिल्लो साता मात्रै जसपा नेपाल विभाजन भएको छ । अशोक राई पक्ष विभाजन भएर अर्कै पार्टीमा उभिसकेका छन् । त्यसले उनलाई थप कमजोर बनाएको छ । हाल उनीसँग पाँच जना मात्रै सांसद छन् ।

उपप्रधान तथा स्वास्थ्य मन्त्री बनेको दुई महिनामै उनी स्वास्थ्य मन्त्रीबाट बाहिरिनु पर्ने स्थिति सिर्जना भएको छ । स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्ने गरी उपेन्द्र गत फागुन २४ गते सरकारमा सहभागी भएका थिए ।

जसपा नेपालले स्वास्थ्य, वन तथा वातावरण मन्त्रालय र राज्यमन्त्री गरी तीन वटा मन्त्री पाएर सरकारमा सहभागी भएको थियो । तर, अहिले वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडि र राज्यमन्त्री दिपक कार्की नै यादवको विपक्षमा छन् । जसपा नेपालबाट विभाजित अशोक राई नेतृत्वको टीमले वर्तामान सरकारमै रहने धारणा राखिसकेको छ ।

१२ जना सांसद रहेको जसपाको पार्टी फुटले स्वास्थ्यमन्त्रीको पद नै धरापमा छ । यादवले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेर सरकारबाट बाहिरिने जानकारी गरिसकेको बुझिएको छ ।

जनता समाजबादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनले अहिले सरकारमै बस्ने वा बाहिरिने भन्ने विषयमा छलफल भइरहेको बताए । उनले राई नेतृत्वको समूहले पार्टी विभाजन गरेपनि आफूहरूलाई फरक नपर्ने धारणा राखे ।

‘अहिलेसम्म सरकारमै छौं, सरकारमै बस्ने वा बाहिरिने भन्ने विषयमा छलफल हुँदैछ, पद आउँछन्, जान्छन् यसमा केही फरक पर्दैन,’ उनले भने ।

महत्वाकांक्षी मन्त्री

उपेन्द्र यादव महत्वाकांक्षी नेतामध्येमा पर्छन् । उनको महत्वाकांक्षा र निहित स्वार्थका कारण नै उनले पटक-पटक पार्टी विभाजन भोग्नु परेको छ । महत्वाकांक्षाले नै उनी जुनसुकैको नेतृत्वमा सरकार बने पनि सत्तामा सहभागी हुन्छन् । आफ्नै नेतृत्वमा सरकारमा जान्छन् र मन्त्री बन्छन् ।

उनी पदमा मात्रै होइनन्, निर्णयमा पनि महत्वाकांक्षी बन्न पुग्छन् । गत फागुनमा स्वास्थ्य मन्त्रीकोरूपमा पदभार ग्रहण गर्दै सरकारी अस्पतालमा शल्यक्रियामा देखिएको ढिलाइलाई छिटो बनाउने र संघीय निजामती सेवा ऐनमा स्वास्थ्य सेवा ऐन समायोजनका लागि कार्यदल बनाउने, गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै सरकारी स्वास्थ्य संस्थाको क्षमतावृद्धि गर्ने निर्णय गरेका थिए ।

तर, यी दुवै निर्णय अहिलेसम्म कार्यान्वयन हुन सकेनन् । नेपालमा राजनीतिक स्थायित्व छैन । यसैको कारण देशको उधो गति लागेको विज्ञहरू बताउँछन् । स्वयं यादवमा देखिएको अस्थिरता नै उनको उँधोगतिको कारण हो ।

महिना महिनामा हुने सरकार परिवर्तनले शिक्षा र स्वास्थ्य जस्ता संवेदनेशील क्षेत्र बढी अस्तव्यस्त भइरहेका छन् ।

९ वर्षमा १३ स्वास्थ्य मन्त्री

नेपालमा संघीयता आएको एक दशक भयो । नागरिकले संघीयता आएपछि स्थायी सरकार गठन होला र नागरिकका समस्या समाधान होलान् भन्ने अपेक्षा गरेका थिए । तर, संीयतामा आम नागरिकका लागि झन महँगो बनेको छ ।

वर्सेनिको सत्ता परिवर्तनले मन्त्री पनि फेरबदल भइरहन अभ्यासले नागरिक आजित बनेका छन् । आम सर्वसाधारणमा नैराश्यता छाएको छ । एक दशकको अवधिमा स्वास्थ्य मन्त्री मात्रै १३ जना बनेका छन् ।

पटक–पटक हुने मन्त्री फेरबदलले स्वास्थ्य क्षेत्र नै अस्तव्यस्त बनेको छ । हरेक महिना आउने नयाँ मन्त्रीसँग एक किसिमको सम्झौता भएर कार्यान्वयन हुन नपाउँदै फेरि नयाँ मन्त्री आउँदा समस्या हुने गरेको स्वास्थ्य मन्त्रालयका कर्मचारीहरू बताउँछन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकी मन्त्री फेरबदलले स्वास्थ्यक्षेत्रको दरबन्दीदेखि हरेक क्षेत्रमा समस्या भइरहेको बताउँछन् ।

‘अहिले देशभर जनशशक्ति अभाव छ , नागरिकले सेवा नपाएको गुनासो गरिरहेका छन्,’ उनी भन्छन्, ‘हरेक महिना हुने मन्त्री फेरबदलले काम गर्नै समस्या भएको छ, हामी समस्या समाधानका लागि मन्त्रीसँग एक किसिमको छलफल गर्छौ, कार्यान्वन हुने बेला मन्त्री परिवर्तन हुन्छन्, काम नै रोकिन्छ ।’

मन्त्रालयमा काम गर्ने कर्मचारीलाई मात्रै होइन राजनीतिक अस्थिरताले स्वास्थ्यका अन्य क्षेत्रमा पनि उत्तिकै समस्या छ । नयाँ मन्त्री आउँदा नयाँ निर्णय हुन्छ, फेरि अर्को मन्त्री आउँदा निर्णय फरक हुन्छ, त्यसैले पनि सेवा प्रवाहमा समस्या हुने गरेको मन्त्रालयका कर्मचारीहरू बताउँछन् ।

केपीशर्मा ओली प्रधानमन्त्री भएको साढे ३ वर्षको अवधीमा ६ जना स्वास्थ्यमन्त्री र राज्यमन्त्री भएका थिए । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा एक वर्षको अवधिमा पनि चार जना स्वास्थ्यउ मन्त्री बने । पहिलो पाँच वर्षमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापती शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा राज्यमन्त्री सहित १० जना स्वास्थ्यमन्त्री भए । तर, कसैले पनि स्वास्थ्यका विषयमा गम्भीर भएर काम नगरेको मन्त्रालयकै कर्मचारीहरू बताउँछन् । त्यसको ज्वलन्त उदाहरण बनेका छन् उपेन्द्र यादव ।

Share News