
काठमाडौं । गर्मीसमय सुरु भएसँगै देशका विभिन्न जिल्लामा डेंगीको संक्रमण फैलिन थालेको छ ।
अहिले दैनिक ६ देखि ७ जनामा डेंगी संक्रमण फैलिने गरेको एइपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशभरिका स्वास्थ्य संस्थाहरूबाट संकलन गरिएको विवरणअनुसार दैनिक ६ देखि ७ जनामा डेगी संक्रमण देखिएकाे छ । देशभरि संक्रमितको संख्या हेर्दा तराईभन्दा पहाडमा बढी भएकाे महाशाखाले जनाएको छ ।
पछिल्लो समय लामखुट्टे पहाड चढेकाले संक्रमणदर पनि बढ्दै गएको छ । सन २०२४ को जनवरीदेखि मे ५ तारिखसम्मको तथ्यांकअनुसार ८ सय जनामा डेंगी संक्रमण पुष्टी भएको छ ।
झापा, धादिङ,पाल्पा, संखुवासभा लगायतका विभिन्न जिल्लामा संक्रमण देखिएको महाशाखाले जनाएको छ । अहिले डेंगी संक्रमण फैलिरहेकाले सर्तकता अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन् ।
डेंगी लामखुट्टेकाे टाेकाइबाट मानिसमा सर्ने रोग हो । यो सरुवा रोग नभए पनि लामखुट्टेको टोकाइबाट अर्को व्यक्तिमा सर्ने र फैलने गर्छ । एडिज प्रजातिको लामखुट्टेले टोक्दा डेंगी लाग्ने गर्दछ । यो लामखुट्टे पानीमा जन्मने र हुर्केने गर्छ ।
यो रोगबाट बच्नु लामखुट्टेको टोकाइबाट बच्नु हो । डेंगी संक्रमण भएको व्यक्तिमा टाउको दुख्ने, उच्च ज्वरो आउने, मांशेपसी र जोर्नी दुख्ने गर्छ ।
गत वर्ष धरानमा मनसुनअघि नै डेंगी संक्रमण फैलिएको थियो । त्योभन्दा पहिलेका वर्षमा काठमाडौं र चितवनमा डेंगी महामारीका रूपमा फैलिएको थियो । पहिले महामारी फैलिएको ठाउँमा फेरि पनि जोखिम हुन्छ तर, अन्य ठाउँमा पनि यसको जोखिम हुन्छ ।
महाशाखाले महामारी नियन्त्रणका लागि अहिले फाट्टफुट्ट लामखुट्टे देखा परेका स्थानीय तहहरूलाई नियन्त्रणका लागि निर्देशनपत्र पठाइसकेको छ ।
संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन लामखुट्टेको टोकाइबाट बच्न घरवरिपरी सरसफाइ गर्नुपर्ने बताउँछन् । यसका लागि घर आसपास पानी जम्न नदिने, पानी राखिएको भाँडा पनि खुल्ला राख्न नहुने र लामखुट्टेको टाकाइबाट बच्नु नै रोग लाग्न नदिने उत्तम उपाय हो ।
घरको झ्यालमा जाली लगाउने, राति सुत्दा झुलको प्रयोग गर्ने, भान्सा र शौचालय सफा राख्नु पनि यसबाट बच्ने उपाय हो । डेंगी सार्ने लामखुट्टे दिउँसोको समयमात्र सक्रिय हुने भएकाले शारीर छोप्ने लुगा लगाउनुपर्छ।
डेंगीको उपचार के हो भन्ने विषयमा स्वंय चिकित्सक पनि अलमालमा छन् । डा. पुन यसको औषधी अहिलेसम्म नबनेको बताउँछन् । उनी रोगसँग लड्नसक्ने क्षमता अथवा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै यसको उपचार रहेको बताउँछन् ।
डेंगी लागेको शंका लाग्नेबित्तिकै स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ । यो संक्रमणले रगतको प्लेटलेट्सको संख्या घट्छ । यस्तो बेलामा खानपानमा ध्यानदिनुपर्ने उनको भनाइ छ ।