
काठमाडौं । ललितपुरको लेलेस्थित आनन्द हस्पिटल क्षेत्रमा मंगलबार दिउँसो लागेको डढेलो निभाउने क्रममा घाइते भएका दुई जनामध्ये एक जनाको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका-४ तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाउते भएका स्थानीय शंकर पहरीको मृत्यु भएको ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
डढेलो निभाउने क्रममा अर्का स्थानीय रमेश पहरी घाइते भएका थिए । गम्भीर घाइते रमेशको उपचार भइरहेको बताइएको छ।
डढेलो निभाउने क्रममा अरू १५ जना फसेका थिए । उनीहरूको भने सकुशल उद्धार गरिएको जनाइएको छ । डढेलो फैलिएपछि त्यहाँस्थित कुष्ठरोग अस्पतालका ९३ जना बिरामी अन्यत्र सारिएको छ।
हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ । हस्पिटल क्षेत्रको आगो नियन्त्रणमा आए पनि वनमा लागेको आगो भने नियन्त्रणमा आएको छैन ।