डिएभी विद्यालयले सम्पन्न गर्यो सांस्कृतिक कार्यक्रम

<p>काठमाडौं । डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । ललितपुरस्थित डिएभी सुशिल केडिया विश्व भारती विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरंग’ बुधबार विद्यालयको सभागृहमा सम्पन्न भएको हो । भारतीय राजदुतावासका डेप्यूटी चिफ अफ मिशन प्रसन्न श्रीवास्तवको मुख्य आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा भारतीय चर्चित कलाकारहरुको एकल प्रस्तुति रहेको थियो [&hellip;]</p>

काठमाडौं । डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । ललितपुरस्थित डिएभी सुशिल केडिया विश्व भारती विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरंग’ बुधबार विद्यालयको सभागृहमा सम्पन्न भएको हो ।

भारतीय राजदुतावासका डेप्यूटी चिफ अफ मिशन प्रसन्न श्रीवास्तवको मुख्य आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा भारतीय चर्चित कलाकारहरुको एकल प्रस्तुति रहेको थियो भने डिएभी विद्यालयको तर्फबाट विभिन्न प्रकारका सामूहिक तथा एकल प्रस्तुति रहेका थिए ।

डिएभी विद्यालय र सुशिला आर्ट एकेडेमीले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा भारतीय चर्चित कलाकार शशी रमेशको भरतनाट्यम नृत्य, बिभाहरी आशिश नेभ्रेकारको कथक नृत्य र शिव प्रसाद एन.एन. को बेजोड गीत र सङ्गीतले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाउन सफल भएका थिए । त्यसैगरी डिएभी विद्यालयका विभिन्न तह र कक्षाका विद्यार्थीहरुले टाट्कर जय पुरी घराना र ठुम्रीमा आधारित कथक नृत्य, काशी विश्वनाथम कथामा आधारित भरतनाट्यम नृत्य र उत्तर–दक्षिण भारतको क्लासिकल जुगलबन्दी नृत्यलाई बेजोड रूपमा प्रस्तुत गरेको विद्यालयले जनाएको छ ।

साथै, केही समसामयिक चर्चित नेपाली र हिन्दी गीत सङ्गीतलाई समेत क्लासिकल विद्याका विभिन्न तालमा प्रस्तुत गरेका थिए । तरङ्गको राग आयामलाई घनिभूत तुल्याउन डिएभी विद्यालयका विद्यार्थीहरुले एकल, युगल र सामूहिक गीत प्रस्तुत गरे । कार्यक्रममा साहित्य, सङ्गीत र कला अनुरागी, अभिभावक, शिक्षक र विद्यार्थीहरुको उपस्थिति थियो ।

कार्यक्रममा सुशिला आर्ट एकेडेमीकी संस्थापक एंव अध्यक्ष युलीया कोइरालाले स्वागत मन्तव्यसहित गीत सङ्गीत र नृत्यले शिक्षा क्षेत्रमा पुर्याइरहेको अतुलनिय योगदानको चर्चा गर्दै डिएभी विद्यालयका अध्यक्ष अनिल केडिया र प्राचार्य डा. भुवनेश्वरी रावको साहित्य र कलाको  प्रशंसा गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय दुतावासका डेप्यूटी चिफ अफ मिशन प्रसन्न श्रीवास्तवले कार्यक्रमका आयोजकले दुई देश बिच साहित्य, कला र संस्कृति आदान–प्रदान र जगेर्ना गर्ने अभियानमा पुर्याइरहेको योगदानको चर्चा गर्दै उपस्थित सम्पूर्ण विद्यार्थी, अविभावक, शिक्षक र साहित्य अनुरागीहरूलाई उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए ।

सोही अवसरमा उनले अनादिकालदेखि नेपाल–भारत बिच रहेको पारस्परिक सम्बन्धमा सांस्कृतिक भूमिकाको विस्तृत रुपमा चर्चा गरेका थिए ।

तरंग कार्यक्रममा प्रस्तुत भएका भारतीय कलाकार लगायत डिएभी विद्यालय र सुशिला आर्ट एकेडेमी सम्बद्ध सङ्गीत र नृत्य विभागका सम्पूर्ण शिक्षकहरूलाई मुख्य अतिथि श्रीवास्तव, उनकी श्रीमती निधी श्रीवास्तव र विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले मायाको चिनोसहित प्रसंशा पत्र प्रदान गरेका थिए ।

उपस्थित पाहुनाको स्वागत र सत्कारको लागि विद्यालयका उप–प्राचार्य रामचन्द्र खनाल, सि.ए.ओ. विजया टाटर, एस.एस.ओ. प्रशान्त सामल र प्लस टु कोर्डिनेटर टेङ्क मेघजी देवजी लगायत विभिन्न तहका कोर्डिनेटरहरुको उपस्थिति रहेको थियो ।

तरंग सांस्कृतिक कार्यक्रमको उद्घोषक शिक्षकद्वय शशिल्ता राई र मोहिनी तामाङ्ग थिए । आस्था ठाकुरको मन्तव्यसहित कार्यक्रम औपचारिक रूपमा समापन भएको विद्यालयले जनाएको छ ।

Share News