काठमाडौं, २५ पुस । ‘जैविक विविधता जलवायु परिवर्तन पहिचान र जीविकोपार्जनमा यसको असर’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ ।
विज्ञान तथा प्रविधि मन्त्रालय, जनसङ्ख्या तथा वातावरण मन्त्रालय, कृषि विकास मन्त्रालय, वन तथा भू–संरक्षण मन्त्रालय तथा त्रिवि वनस्पति शास्त्र केन्द्रीय विभाग, कृषि तथा वन विश्वविद्यालयलगायतको आयोजनामा यही पुस २६ गतेदेखि २८ गतेसम्म हुन लागेको उक्त सम्मेलनमा नेपाल, भारत, चीन, पाकिस्तानलगायत २० देशको सहभागिता हुनेछ ।
यहाँ आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम आयोजक समितिद्वारा जैविक विविधता जलवायु परिवर्तनको असर, मिचाह प्रजातिअन्तर्गतका विभिन्न वनमारा तथा वातावरणीय र पर्वतीय समस्याका बारेमा छलफल गरिने जानकारी दिइएको छ ।
समितिका सचिव प्रा डा मोहन सिवाकोटीले सम्मेलनमा अन्तर्राष्ट्रिय तहमा खोज अनुसन्धान गरिएका करिब ३०० कार्यपत्र प्रस्तुत गरिने जानकारी दिएका छन् । कार्यक्रममा करिब २०० नेपाली वैज्ञानिक तथा अनुसन्धानकर्ताले कार्यपत्र प्रस्तुत गर्नेछन् । रासस