काठमाडौं, २१ पुस। नेपाल टेलिकमले प्रिपेड ग्राहकलाई विभेद गरेको छ। कम्पनीले गत हप्ता ‘सफ्ट लन्च’ गरेको फोरजी सेवामा प्रिपेड मोवाइल प्रयोगकर्तालाई विभेद गरेको हो। सेवाग्राहिको सुविधाका लागि पर्याप्त तयारी विना लन्च गरिएको फोरजी सेवाका लागि कम्पनीले काठमाण्डौ र पोखराका सिमित स्थानका लागि मात्र सेवा दिएको छ।

कम्पनीका प्रिपेडका ग्राहकले भने फोरजी सेवा सञ्चालन गर्न नदिएको भन्दै टेलिकम समक्ष आक्रोस पोखेका छन्। सेवा सञ्चालन गर्नका लागि कुनैपनि कुराले नछेक्ने र सेवा प्रवाह गर्दा भेदभाव भएको भन्दै सेवाग्राहिले गुनासो गरेका हुन्।
टेलिकम व्यवस्थापनको अकर्मन्यताका कारण प्रिपेड ग्राहकहरुले माघ २२ गतेअगाडि फोरजी सेवा सञ्चालन गर्न नपाउने भएका हुन्। टेलिकमले सवै सेवाका लागि व्यापारिक योजना ल्याउन ढिला गरेका कारण प्रिपेड ग्राहकले सेवा सञ्चालन गर्न नसकेको टेलिकमका एक उच्च अधिकारीले बताए।
तर टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले भने टेलिकमसँग १८ सय मेगाहर्जमा कम फ्रिक्वेन्सी रहेका कारण फोरजी सेवा सवैलाई पुर्याउन गार्हो परेको बताइन। उनले प्रिपेडमा पनि फोरजी सेवा दिन सक्छौ तर फ्रिक्वेन्सी कम रहेका कारण थ्रिजी को स्पिडभन्दा कममा चल्यो भने त्यसले हाम्रो क्रेडिविलिटी घट्ने भएका कारण तत्कालका लागि रोकिएको बताइन्।
उनले चाँडै नै प्राधिकरणले थप फ्रिक्वेन्सी दिने र सोहि थप फ्रिक्वेन्सीवाट देशैभरीका उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा फोरजीको सेवा पुर्याइने बताइन्। तर त्यसका लागि थप फ्रिक्वेन्सी अक्सन गर्नुपर्ने कारणले केहि समय भने अवश्यप लाग्ने उनको भनाई रहेको छ।
‘मूल्य अझै तय भएन’
टेलिकमले हालसम्म फोरजीको मूल्य तय गर्न सकेको छैन्। कम्पनीले थ्रिजीकै मूल्यमा नै फोरजी चलाउन दिने भनेपनि यसाका लागि दूरसञ्चार प्राधिकरणवाट स्विकृति लिनुपर्ने हो तर मूल्य तय नै नगरी टेलिकमले हचुवाका भरमा मूल्य तय गरेको छ।
बिश्वबजारमा फोरजीको मूल्य हाल नेपालमा प्रयोग भएको थ्रीजीको तुलनामा धेरै सस्तो रहेको छ। तर, नेपालमा भने टेलिकमले तीन वटा मोडालिटीमा मूल्य निर्धारण गर्न खोजेको टेलिकमकी प्रवक्ता बैद्यले जानकारी दिइन।
प्रमियम दरमा थ्रीजीभन्दा मंहगो गर्ने र सकेको अवस्थामा छुटसहित थ्रीजीभन्दा कम शुल्कमा सेवा दिने गरी मूल्य निर्धारण गर्ने गरी प्राधिकरणमा मूल्य सुचि पठाउन लागेको उनले बताइन्।