काठमाडौं, २० पुस । हेटौँडा–कुलेखानी दोस्रो स्यूचाटार १३२ केभी क्षमताको प्रसारण लाइन चार्ज हुने वित्तिकै आयातित विद्य्त् काठमाडौं ल्याइने भएको छ । उक्त प्रसारण लाइन चार्ज हुने बित्तिकै भारतबाट आयात गरिएको थप ४० मेगावाट विद्युत् काठमाडौँ ल्याउन सहज हुने छ ।
मकवानपुर जिल्लाको चौकीटोलदेखि कुलेखानी दोस्रो जलविद्युत् आयोजना हुँदै काठमाडौँको मातातीर्थसम्मको प्रसारण लाइन मंगलबारदेखि चार्ज गरिएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । उक्त प्रसारण लाइन चार्ज हुन १५ दिन लाग्ने छ । यही पुस १७ गते भारतबाट उक्त विद्युत् आयात गरिएको छ । भारतबाट आयात गरिएको विद्युत् ढल्केबर–हेटौँडा हुँदै काठमाडौँ ल्याउन सो प्रसारण लाइन सहयोगी हुने छ ।
हेटौंडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन पनि सञ्चालनमा आउने भएको छ । भारतबाट आयात गरिएको विद्युत् काठमाडौँ ल्याउन उक्त प्रसारण लाइन सञ्चालनमा ल्याउन लागिएको हो । भारतबाट आयात भएको विद्युत् काठमाडौँ ल्याउन नयाँ सरकार गठन भएलगत्तै उक्त प्रसारण लाइन विस्तार कार्य अघि बढाइएको थियो ।
वि.सं २०६८ मै प्रसारण लाइन विस्तार गर्न लागिए पनि लाइन मुनि पर्नेमा जग्गा धनीले मुआब्जा एवम् क्षतिपूर्तिमा चित्त नबुझाएपछि लामो समयदेखि प्रसारण लाइन विस्तारमा अवरुद्ध गर्दै आएका थिए । यस अघि सरकारले कुलेखानी दोस्रोबाट उत्पादित विद्युत् राजधानी ल्याउन निर्माण प्रसारण लाइनको दायाँ बायाँ नौ–नौ मिटर जग्गाको क्षतिपूर्ति विसं २०४३ सालमा नैे दिइसकेको थियो । अन्य थप जग्गाको मुआब्जा तथा क्षतिपूर्ति नमिल्दा काम अघि बढ्न सकेको थिएन ।
ऊर्जा मन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ र मकवानपुरका प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा क्षतिपूर्ति तथा मुआब्जा वितरण केही समय अघि गरिएको भारतबाट आयातित विद्युत् काठमाडौं भित्र्याउन लागिएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
काठमाडौँको तत्कालीन मातातीर्थ र स्यूचाटार गाविस र मकवानपुरको चौकीटोल प्रसारण लाइन क्षेत्रमा पर्ने घर तथा आवास बनाउन अनुमति दिएका कारण प्रसारण लाइन विस्तारमा समस्या परेको थियो । काठमाडौँ उपत्यकामा विद्युत्को माग बढ्दै गएपछि आयोजनाले एकल फेजका प्रसारण लाइनलाई दोहोरो बनाउने तयारी गर्दा स्थानीयवासीले चर्को विरोध गर्दै निर्माण कार्यमा अवरोध गर्दै आएका थिए । प्रसारण लाइन निर्माणका लागि मात्रै आयोजनाले एक करोड ८४ लाख रुपैयाँ १९ घरपरिवारलाइ क्षतिपूर्ति सहित प्रदान गरेको हो ।
भारतबाट आयात गरिएको विद्युत् काठमाडौँ ल्याउन अर्को महत्वपूर्ण प्रसारण लाइन खिम्ती ढल्केबर प्रसारण लाइन पनि अन्तिम चरणमा पुगेको छ । आयोजना प्रमुख श्याम यादवका अनुसार आगामी एक साताभित्रैमा परीक्षण चार्ज गरिनेछ । ढल्केबर–खिम्ती, लामोसाँघु हुँदै काठमाडौँमा विद्युत् ल्याउने यो अर्को प्रसारण लाइन हो ।
ढल्केबरमा निर्माणको क्रममा रहेको २२० केभी क्षमताको सवस्टेसनको निर्माण कार्यको पनि करिब ८० प्रतिशत काम सम्पन्न भएकोे छ । हिउँदलाई मध्यनजर गरेर काठमाडौँमा सहज रुपमा विद्युत् भित्र्याउने र विद्युत् कटौतीलाई शून्यमा झार्ने लक्ष्य सहित सरकारले सो निर्माण कार्यलाई तिव्रता दिएको हो ।