काठमाडौं, २० पुस । नेपाल आयल निगमले तीन वर्षभित्रै उपभोक्तासँग ५९ अर्ब १८ करोड अतिरिक्त शुल्क असुलेको छ । निगमले आर्थिक बर्ष २०७०/७१ देखि हालसम्ममा बिभिन्न पाँच वटा शिर्षकमा उपभोक्तासँग आधा खर्ब भन्दा बढि रकम असुलि गरेको हो ।
निगमले अर्थिक बर्ष २०७०/७१ देखि सडक मर्मत सम्भार शुल्क, प्रदुषण शुल्क असुलिरहेको छ । त्यस्तै, आर्थिक बर्ष २०७१/७२ देखि मुल्यस्थिरिकरण कोष र निगम पुर्वाधार विकास कोषका लागि रकम असुलिरहेको छ । निगमले आर्थिक बर्ष २०७२/७२ देखि भने बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्दै पुर्वाधार कर संकलन गरिरहेको छ ।
यी सबै शुल्क उपभोक्तामाथी थपिएको अतिरिक्त भार हो । निगमले यसरी तीन बर्षमा ५९ अर्ब १८ करोड रुपैंयाँ संकलन गरेको छ । तर त्यसरी संकलित रकम उचित ठाउँमा प्रयोग गरिरहेको छैन् । ‘उपभोक्तासँग जुन प्रयोजनका लागि रकम उठाइएको हो सोही प्रयोजनका लागि खर्च गर्नु पर्छ तर निगमले त्यस्तो गरेको देखिएन’, व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति अन्तर्गतको उप समितिका संयोजक सुभाषचन्द्र ठकुरीले भने ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले कुनै पनि प्रडक्टमा राजश्व बाहेक अन्य शुल्क असुल्न नपाउने बताउँछन् । आयल निगमले परल मुल्यमा जथाभावी शुःल्क लिने कुरा वित्तिय अपराध भएको आरोप समेत लगाए ।
आयल निगमले उपभोक्तासँग असुलेको अतिरिक्त शुल्क
१) सडक मर्मत सम्भार शुल्क
आर्थिक बर्ष २०७०/७१ मा २ अर्ब ६२ करोड
आर्थिक बर्ष २०७१/७२ मा २ अर्ब ९३ करोड
आर्थिक बर्ष २०७२/७३ मा २ अर्ब ५३ करोड
आर्थिक बर्ष २०७३/७४(मंसिर १५सम्म) १ अर्ब ३५ करोड
जम्मा ९ अर्ब ४३ करोड
२) बुढिगण्डकी जलविद्युत आयोजनाको लागि पुर्वाधार कर
आर्थिक बर्ष २०७२/७३(जेठ र असार) मा १ अर्ब १६ करोड
आर्थिक बर्ष २०७३/७४ मा २ अर्ब ९२ करोड
जम्मा ४ अर्ब ८ करोड
३) प्रदुषण शुल्क
आर्थिक बर्ष २०७०/७१ मा ५३ करोड १० लाख
आर्थिक बर्ष २०७१/७२ मा ५९ करोड १४ लाख
आर्थिक बर्ष २०७२/७३ मा ५१ करोड ६६ लाख
आर्थिक बर्ष २०७३/७४( मंसिर १५ सम्म) २६ करोड ४१ लाख
जम्मा १ अर्ब ९० करोड ३१ लाख
४) मूल्य स्थिरिकरण कोष
आर्थिक बर्ष २०७१/७२ मा २ अर्ब ६१ करोड
आर्थिक बर्ष २०७२/७३ मा ६९ करोड ८१ लाख
आर्थिक बर्ष २०७३/७४(मंसिर १५ सम्म) २० करोड ४९ लाख
जम्मा ३ अर्ब ५१ करोड ३० लाख
५) निगम पुर्वाधार विकास कोष
आर्थिक बर्ष २०७१/७२ मा १४ अर्ब ७९ करोड
आर्थिक बर्ष २०७२/७३ मा २१ अर्ब ८८ करोड
आर्थिक बर्ष २०७३/७४ (मंसिर १५ सम्म)मा ३ अर्ब ५९ करोड
जम्मा ४० अर्ब २४ करोड